बागलुङको बजार, पधेर्नीलाई दुःख हजार

राजेशचन्द्र राजभण्डारी

धेरै पहिले जनकवि केशरी धर्मराज थापा जिल्ला भ्रमणको शिलशिलामा बागलुङ बजारमा आए । जुन बखत बागलुङ बजारमा खानेपानीको साह्रै समस्या थियोे । जनकविलाई बागलुङका महिला दिदीबहिनीले पानीका लागि खेप्नु परेको सास्ती देखे पछि एउटा गीत फु¥यो र तत्काल बजारको नारायण चोकमा आयोजित कार्यक्रममा गीत सुनाएका थिए–‘बागलुङको बजार, पधेर्नीलाई दुःख हजार’ । यो गीत अहिलेसम्म पनि बागलुङ जिल्लामा चर्चित छ र गीत जस्तै त्यतिबेलाका पधेर्नीको कहर उस्तै छन् । र सम्झन बाध्य छन् ।

बागलुङ नगरपालिका वडा नम्बर–४ तल्लो पाखाथरमा यस्तै पानीको समस्या बर्षाैदेखि झेल्दै आएका नगरवासीलाई भने अहिले बागलुङ नगरपालिकाले पम्पिङ प्रणाली मार्फत घर– घरमा धारा जडान गरि पानी थाप्न पाएपछि खुशी भएका छन् । नगरपालिकाको बासिन्दा भएर पनि बिहान बेलुकी पानीको जोहो गर्दै दिन बिताउन बाध्य भएका तल्लो पाखाथरमा राँइला खानेपानी सरसफाई समिति बनाएपछि बागलुङ नगरपालिकाले सहकार्य गरेर खानेपानी योजना अघि बढायो । समुदायको ५५ घर कुरियालाई पानी पु¥याउने लक्ष्य सहित काम अगाडी बढाएकोमा पम्पिङ प्रणाली मार्फत काम सम्पन्न भयो ।

खानेपानी योजनाको उद्घाटन समारोहमा सबै उपभोक्ताको सहभागिता र अपनत्व रहेको जुन दृश्य पाखाथरमा देखियो । यसबाट के कुरा स्पष्ट भयो भने जुन ठाउँमा जनताको आँफ्नो लगानी छ, त्यो काम र ठामको माया अधिक हुन्छ । अहिले खानेपानी योजना सम्पन्न गर्नमा प्रत्येक घरले नगद लगानी सहित जनश्रमदान गरेर आँफ्नो घर दैलोमा पानी पु¥याउन सफल भए । अहिले हाम्रो गाउँ ठाउँमा बिकास हुन्छन् । योजना पनि आउछन् तर त्यसको स्थानीय जनतालाई माया छैन । किन भने कसैले प्रश्न गरे नगरपालिकाले बनाएको हो । अहिले बिग्रिए अर्को साल बनाउँछ भन्ने हलुका जवाफ दिएको देखिन्छ । अहिले सबैभन्दा ठूला समस्या भनेको जुनसुकै ठाउँमा पनि खानेपानीकै छ । खानेपानी योजना बनाउन पनि गाह्रो भनेको समयमा योजना पूरा गरेर जनताको घर दैलोमा पानी पु¥याउन त्यति सहज नभए पछि यतिबेला बागलुङ नगर क्षेत्र भित्र पम्पिङ प्रणालीको योजना धमाधम बनाउदै खानेपानीको काम अगाडि बढाइएको छ ।

बागलुङ नगरपालिका भित्र अहिले तीन वटा खोलाबाट खानेपानी ल्याइएको छ । नगरपालिका भित्र बस्ने ५० हजार भन्दा बढी जनताले त्यसको उपभोग पनि गरिरहेका छन् । कहिले बर्षाका कारण, कहिले गाउँ गाउँमा सडक खन्ने कारण त कहिले खानेपानीको मुहान र त्यसबाट लिइएको पाइप बगाएर लैजाने समस्या यथावत छ । कहिले बागलुङ बजारमा ३/४ दिनसम्म पानीको हाहाकार हुन्छ । खानेपानी खोज्न फेरि टाढा–टाढा हिड्नु पर्छ । अनि बागलुङे महिला दिदीबहिनीले फेरि धर्मराज थापालाई सम्झन बाध्य हुन्छन् । बागलुङको बजार, पधेर्नीलाइ दुःख हजार । हो, अहिले हामीले जतिसुकै ठूलो कुरा गरे पनि सबै मान्छे आ–आँफ्नो ठाउँमा इमान्दार नभए सम्म सबैले आफ्नो ठाउँबाट नैतिक, भौतिक र आर्थिक सहयोग नगर्दा सम्म हामीले खोजेको लक्ष्य पूरा हुन सक्दैन ।

अहिले स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आए पछि गाउँ गाउँमा ठाउँ ठाउँमा विकासले तिब्र गति लिएको यो कुरालाई नकार्न सकिदैन । बरू कतिपय राम्रो काम गर्दागर्दै पनि त्यसको जस लिन नजान्दा मात्रै समस्या देखिएको हो जस्तो लाग्छ । किनभने अहिले सामाजिक सञ्जालमा सकारात्मक भन्दा पनि नकारात्मक काम कुराले तत्काल प्रभाव पार्ने गरेको छ यसमा हामी जानेर वा नजानेर त्यसको भागिदार बनिरहेका छौ ।

साँच्चै भन्ने हो भने पानी हाम्रो जीवन हो । अरू कुराको बिकल्प खोज्न सकिन्छ तर पानीको बिकल्प अहिले सम्म निस्केको छैन । सायद त्यो कल्पना भन्दा बाहिरको कुरा हो जस्तो लाग्छ । अहिले जताततै जनताको माग खानेपानी र सिञ्चाईकै छ । हुन त सरकारले खानेपानीको क्षेत्रमा लगानी गरेको पनि देखिन्छ । अहिले संघीयताका कारणले पनि पानीको मुहान भएको क्षेत्रबाट पानी ल्याउन निकै कठिनाइ छ । किनभने आवश्यकता भन्दा बढी माग राखेर हैरान बनाउने, अर्को तिर खानेपानी योजना बनाउन अबरोध सृजना गरेर लथालिङ्ग बनाइदिने । यस्तो चुनौतीको बाबजुद बागलुङ नगरपालिकाले कालीगण्डकी नदीको पानी लिफ्टिङ गरेर उपभोक्तालाइ खुवाउने जमर्को गरेको छ । यसलाई सबैले प्रशंसा गरेका छन् । बागलुङ नगरपालिकाले यतिबेला खानेपानीको लागि नगर क्षेत्रमा दुई करोड भन्दा बढी बजेट लगानी गरेको छ । लगानीको प्रतिफल नगरबासीले पाउदै जान थालेको देखिन्छ । आँफ्नो गाउँ–ठाउँमा विकास निर्माण हँुदा तपाई हामी उपभोक्ता समितिमा बस्छौं । काम पनि गरेका हुन्छौं । तर, धेरैजसो कामको जिम्मेवारी कति पूरा गर्न सफल भयौं त ? त्यो कुराको हेक्का राख्न नसक्दा अहिले उजुरी पर्ने, अख्तियारमा मुद्दा झेल्नुपर्ने समस्या पनि आइरहेको कुरा धेरैलाई थाहा भएको बिषय नै हो ।

अहिले भ्रष्टाचार हुनुमा तपाईं हामी पनि त्यत्तिकै जिम्मेवार छौं । सबै आँफ्नो ठाउँमा इमान्दार नभए सम्म यहाँ परिवर्तन सम्भव छैन । आँफ्नो ठाउँमा हुने विकास निर्माण मेरो आँफ्नै हो भन्ने भावना जब सम्म हुँदैन । तब सम्म आँफ्नो ठाउँमा दिगो बिकास पनि हुन सक्दैन भन्ने कुरालाई मनन गर्न जरुरी छ । अहिले सम्म सबै काम ठेकेदारलाई दिने अनि कामको गुणस्तर बेलामा नहेर्ने कारणले पनि काम गुणस्तरिय हुन नसकेको हो भन्ने हेक्का राख्न जरुरी छ ।

अहिले गाउँ–गाउँमा सिंहदरबार पुगेको छ भनेर सरकारले भनिरहेको बेला तपाईं हामीले पनि त्यो सरकार भएको अनुभुति गर्न पाउनुपर्छ । पानी जीवन हो । अझै भन्ने हो भने शुद्ध पिउने पानी पिउन पाउनु जनताको अधिकार हो । अहिले जे जति पनि रोग लाग्ने गर्छ, त्यस मध्येमा बढी पानीका कारणले हुने गर्छ भन्ने कुरा बुझ्न जरुरी छ । अहिले नगरबासीलाई शुद्ध खानेपानी पिलाउने अभियानमा जनप्रतिनिधि सक्रिय छन् । यसलाई ब्यबहारिक रूपमा लागू गर्न जरुरी छ । अहिले जसरी ‘बागलुङको बजार, पधेर्नीलाई दुख हजार’ भन्ने गीत गाउने र बारम्बार यही गीतको कहर बेहोर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *