पानी बिनाको माछा कि मान्छे…?

सम्पादकीय
सामान्यतः कसैलाई बढी बिश्वस्त तुल्याउनु प¥यो या कसैको सहारा बिना तड्पिनु पर्ने अवस्था आयो भने पानी बिनाको माछा जस्तो भन्छौ या यस्तै अनेकन उदाहरण दिन्छौ । जुन हामीले धेरै पटक धेरैलाई सुनाएका पनि हौला । कैयन पटक फाइदा पनि पुगे होला । कैयन पटक बेफाइदा पनि । तर, पुरानो त्यो उखान या उद्धरणको ठाउँमा पानी बिनाको माछा होइन, मान्छे भयो भने…? या पानीको हाहाकार भएर पानी बिनाको मान्छे जस्तो उदाहरण दिने अवस्था आयो भने ? कति उदेक लाग्दो अवस्था सिर्जना होला । नदी, ताल तलैया र पोखरीबाट माछा छोपेर किनारमा छोडे पछिको माछाको जुन छटपटाहट हुन्छ, त्यो भन्दा बढी सकस, पीडादायक, कहालीलाग्दो क्षण त पानी बिनाको मान्छेको हुन्छ नि । अहिले बागलुङ बजारको खानेपानीको हाहाकार परिवेशले पानी बिनाको माछा जस्तो होइन, पानी बिनाको मान्छे जस्तो भन्ने उखान चरितार्थ हुने खतरा बढ्दो छ ।

पानी जिन्दगानी हो । पानी आधारभूत आवश्यकता मात्रै होइन । स्वच्छ पानी नागरिकको अधिकार हो । दुनिया आधारभूत आवश्यकता धेरै पहिले पुर्ति गरेर कहाँ कहाँ पुगिसके । हामी भने खानेपानी, शौचालय, खुल्ला दिशा मुक्त, खोप लगायतका कार्यक्रम, अभियान र समस्यामै गुजुल्टिएका छौ । जहाँबाट अझै पनि सहजै निक्लिने सम्भावना कम देखिन्छ । कारण हामीमा हाम्रा आधारभूत आवश्यकता पुरा गर्ने पुर्वाधार, संरचना, यसको संरक्षण, सम्र्वद्धनमा नागरिक अपनत्व र दीर्घकालिन सोचको अभाव छ । बागलुङ बजारमा एक साता यता नियमित पानी आपुर्तिको समस्या चुलिएको छ । आए पनि प्रदुषित पानी छ । उपभोक्ताले गुनासो गर्न सम्म गरेर आजित भए पछि पानीका लागि कहिले तित्याङ, कहिले पाखाथर, कहिले सहस्रधारा, कहिले कुँडुले पुगिरहेका छन् । सरोकारवाला निकाय कहिलेदेखि खानेपानीको समस्या हो ? कहिले सम्म पानीको आपुर्ति सम्भव छ ? यस्तो अपरिहार्य बिषयमा उपभोक्तालाई बेखबर राख्दछ । बर्खायाममा कुनै भवितव्य, बाढी र पहिरोले समस्या सिर्जना हुन सक्छ । यदी यसो हो भने पनि नागरिकलाई सुचित गर्नुपर्छ । र हाहाकार नहोस् भन्नका लागि सम्भावित विकल्पका बारेमा सचेत बनाउनुपर्छ । ठुलो पानी ट्यांकी भएका घरहरु बाहेकमा दुई तीन दिन पानी नआए हाहाकार हुने अवस्था छ । यसले पिउने पानी मात्रै होइन, नुहाउन, कपडा धुन, सरसफाईमा चरम समस्या छ । जसका कारण झाडापखाला लगायतका रोगको संक्रमणको जोखिम पनि बढी छ । अहिले केही दिन यता पानी नआए पछि सिंगो घरनै दुर्गन्धित बन्ने अवस्था बढ्दो छ ।

बागलुङ बजारमा विगतमा जे जस्तो पानीको समस्या थियो । निश्चय पनि तुलनात्मक रुपमा सुधार भएको छ । तर, बेला बेलामा देखिने चरम समस्याले अहिलेको प्रयास प्रयाप्त छैन भन्ने प्रष्ट छ । यसका लागि नगर खानेपानी उपभोक्ता संस्थाले बढी जिम्मेवारी र नेतृत्वदायक भुमिका निर्वाह गरेर नियमित आपुर्ति र प्रदुषित पानीको समस्या दीर्घकालिन हिसावले समाधान गर्न लाग्नुपर्छ । दीर्घकालिन हिसावले नगरपालिकाको समेत बिशेष पहलमा लिफ्ट खानेपानी आयोजना निर्माणाधिन छ । जसले भोलीको समस्या हल गर्न सक्छ । तर, अहिले तात्कालिक बर्खामा प्रदुषित र हिउँदमा अझ बढी पानीको हाहाकार हुने समस्या अन्त्यका लागि योजनावद्ध रुपमा लाग्नुपर्ने देखिन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *