सम्पादकीय
अक्सर सरकार शक्तिशाली हुन्छ । त्यसमा पनि अहिलेको सरकार दुई तिहाईको बहुमत प्राप्त सरकार । अल्पमतको क्षणिक सत्ता स्वादको सेरोफेरोमा अल्झिने सरकार र असफलताका बाहना पस्कने भन्दा दुई तिहाइको बहुमत प्राप्त सरकार प्रतिको आशा, अपेक्षा र भरोसा बढी नै देखिन्थ्यो । तर, पाँच बर्षको आयु सहितको शक्तिशाली सरकारको योजना, कार्यशैली र व्यवहार उतिधेरै सन्तोषप्रद छैन । सन्तोषप्रद नभएको मात्रै होइन, कतिपय घटनाक्रमले सरकार, बागडोर सम्हाल्ने नेता र कार्यकर्ताका कारण लज्जाबोधको अवस्थामा पुगेको छ । त्यो लाज छोप्न व्यवस्था माथिको खतरा, बिदेशी षड्यन्त्र यावत बिषय र बाहनाको सहारा लिएर कनिकुथी सरकार गलत नभएको दलिल पेश गर्नु परेको छ । आखिर किन ?
निश्चय पनि वर्तमान सरकारले केही नगरेको, गर्न नखोजेको होइन । करिब दुई दशक जनप्रतिनिधि बिहिन अवस्थामा अस्तव्यस्त जस्तो बनेको विकास संरचना, प्रणालीमा सुधार ल्याउनु, व्यवस्थित गर्नु र छलाङ मार्नु सामान्य बिषय होइन र छैन पनि । नयाँ संघीय संरचना पश्चात बनेका तीन तहको सरकार आएपछि उल्लेख्य भौतिक पुर्वाधार विकास निर्माण लगायतका कार्य भएका छन् । बर्षाैदेखि अलपत्र बनेका योजना, कामले गति लिएको छ । कतिपय प्रणालीगत सुधार भएका छन् । तर, समाजमा विगतको यथास्थितिमा रमाउने पात्र, सोच, प्रवृत्ति र संस्कार बलियो रुपमा स्थापित छ । जुन बदल्न कुनै एक, दुई व्यक्तिका कारण सम्भव छैन भन्ने देखिन्छ । त्यो चाहे गुठी बिधेयक ल्याउदा होस् या स्वास्थ्य । सिण्डिकेट तोड्दा होस् या खरिद बिक्री सम्बन्धि व्यवस्था गर्दा होस् । सरकार थर्कमान हुन्छ । यद्यपी यो कुनै ९÷१० महिने सरकार होइन । दुई तिहाई हुनुको अर्थ, सार्थकता जनताले व्यवस्था बदल्दा खेलेको भुमिकाका कारण अवस्था पनि बदल्न सक्लान् भन्ने अभिमत र बिश्वास हो । तर देश बदल्न गएकाहरु आँफै बदलिएर कुरुप अनुहार देखाइरहेका छन् । दशकौंको राजनीतिक भविष्य क्षणभरमै ध्वस्त बनाएर एक पछि अर्को पतित भइरहेका छन् । पछिल्लो ताजा उदाहरणमा सभामुख कृष्णबहादुर महराको जुन नियती देखियो । यसले महरा मात्र होइन, सरकार र त्यसको नेतृत्वकर्ता दल नेकपा पनि चौतफी बदनामित भयो ।
सरकारका प्रधानमन्त्री शुन्य सहनशिलतामा अडिग देखिन्छन् । इमानको जगमा मुलुकको समृद्धिको खाका कोरिरहे जस्तो लाग्छ । एक व्यक्ति राम्रो हुनुले अर्थ राख्दैन । प्रधानमन्त्रीले खराब प्रबृत्ति रोकेर कस्तो सँस्कार, पद्धति बसाउछन् ? माथिदेखि तल सम्म कति प्रभावशाली कार्यशैली अपनाउन निर्देशित गर्छन् र त्यो कति कार्यन्वयनन हुन्छन् ? परिक्षा यही हो । बिडम्बना, प्रधानमन्त्रीकै निकट घेरा र आसपासको जञ्जालका कारण सरकार विवादमा परिरहन्छ । त्यसको केही बाहिर सरकारका मन्त्रीहरुको परिणाम र उपलब्धि जनताको कसीमा हेर्दा उत्साहजनक नभएको अर्को यथार्थ हो । सरकारको सुखी नेपाली, समृद्ध नेपालको लोकप्रिय नारा र लक्ष्य छ । त्यो गन्तव्यमा पुग्ने बाटो भने अलोकप्रियताको छ । अलोकप्रियता भनेको मन्त्री, सत्ता आसिन व्यक्तिहरु एकपछि अर्को खराब काम, निर्णयबाट पतित हुँदै गएका छन् । जुन पथबाट सरकारले लोकप्रिय लक्ष्य नपुग्ने, नभेटिने निश्चित छ । यसका लागि कम्युनिष्ट पार्टीको नेतृत्वमा सत्ता बागडोर सम्हालेकाहरु सही सोच, सही चरित्र, सही कार्यशैली र सही कार्यदिशा बोकेर इमानको बाटोबाटै अघि बढ्न जरुरी छ । नत्र सत्ताको पासा अबको तीन बर्षपछि उल्टिन सक्ने बिषयमा पनि तीनै तहका सरकारले हेक्का राख्नुपर्छ ।