हराउँदै दशैंको मौलिकता

सम्पादकीय
नेपालीको महान् चाड दसैंको रौनकता बढ्दो छ । घरहरु रंगिएका छन् । देश बिदेशमा खुशी खोज्न गएकाहरु घर फर्किन थालेका छन् । अधिक समय आमा, बुवा, हजुर बा, हजुर आमा बिर्सेकाहरु पनि आर्शिवाद लिन गन्तव्य तर्फ लाग्ने क्रम जारी छ । शहर बजारमा किनमेलको चहल पहल बढेको छ । गाउँघरमा दशैं मेला, उत्सव, महोत्सव आयोजनाको लहर छ । दशैंका लागि मुस्ताङबाट हजारौ खसी गाउँ शहरमा भित्रिसकेका छन् । उसो त बागलुङमा यस बर्ष फापरखेत, दमेक लगायतका स्थानमा स्थानीय वासिन्दाले व्यवसायिक रुपमा गरेको बाख्रापालनबाट सयौं खसी तयार छन् । घरमा छाना र छतहरुमा झिनिया सुकाइएको छ । दशैंमा टिका लगाएपछि दिनका लागि नयाँ नोटको जोहो गरिदैछ । नोट मात्र होइन, नयाँ नयाँ कपडाहरु किन्ने, किनिदिने गरि अलि पहिलेदेखि रकम जोहो गरेकाहरु अहिले किनमेलमा व्यस्त छन् । जसले दशैंको उत्साह बढेको आभास भएको छ ।

पहिलेको दशैं र अहिलेको दशैंमा ठुला बदलाव आइसकेको छ । पहिले दशैंको बिदा पनि लामो हुन्थ्यो । अहिले छोटिएको छ । चाडवाडमा खानपान, लत्ताकपडासँगै मनोरञ्जन पनि उत्तिकै महत्वपूर्ण हुन्छ । दसैंमा मनोरञ्जन भनेकै पिङ, चमच्चा हुन्थ्यो । तर, पछिल्ला वर्षमा पिङ, चमच्चा खेल्न बिरलै पाइन्छ । काठका लठ्ठे पिङ, चर्खे पीङ, चमच्चा बनाउने क्रम विस्तारै हट्दै गएको छ । पहाडी जिल्लामा चर्खे पिङ बनाउने खुबै प्रचलन थियो । पहिले गाउँ र त्यसको टोल पिच्छे भेटिने पिङ, चमच्चा आजकाल दुर्लभ छ । अहिले ती भेट्याउनै मुस्किल पर्छ । गाउँ–गाउँमा पनि युवा जनशक्ति पलायन हुँदै गएका कारण दसैंमा पिङको चहल पहल लोपोन्मुख अवस्थामा छ । एकाध ठाउँहरुमा बाँसका पिङ हालिएको छ । विस्तारै पिङ, चमच्चा संस्कृति हराउँदै गएको छ ।

पहिले दशैं भनेको आम नेपालीलाई पुख्यौली गाउँ, घर फर्काउने चाडको रुपमा स्थापित थियो । गाउँ जाँदा दशैंको छुट्टै रौनकता, उमंग, उत्साह थियो । दशैंमा गाउँघरमा बन्ने स्वतस्फुर्त माहोलले जीवनका दुःख, कठिनाईहरु बिर्सादिएको आभाष हुन्थ्यो । अहिले परिवेश र चाड मनाउने शैली, प्रवृत्ति पुरै फेरिएको छ । पर्व मनाउन पहिले जस्तो गाउँ घर फर्किन अनिवार्यता जस्तो मानिने समाजमा अहिले फरक नपर्ने सोच र सँस्कार हावी हुन थालेको छ । गाउँघर फर्किए पनि मानिसहरू घरमै मोबाइल र टीभीमा व्यस्त हुने, साथीभाइ बीच मदिरा, भोजभतेर गरेर बिदा मनाउने क्रम बढेको छ । प्रविधिले यति सम्म मानिसलाई नियन्त्रित गरिरहेको छ की चाडपर्वको रमाइलो, उमंग, मौलिकतामा पनि नजानिदो हिसावले हस्तक्षेप गरिरहेको छ । चाडपर्व, सँस्कार, सँस्कृति समय सापेक्ष हुन जरुर भए पनि खास खास मौलिकताको संरक्षणमा सबै चनाखो र जागरुक हुन आवश्यक छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *