– राजेशचन्द्र राजभण्डारी
अहिले सरकारले देशमा २० लाख पर्यटक भित्राउने लक्ष्य सहितको महत्वकांक्षी कार्यक्रम घोषणा गरेको छ । साच्चै सरकारले गरेको तामझाम हेर्दा लाग्छ अब देशमा २० लाख हैन ४० लाख पर्यटक भित्रिदैछन् । जब–जब सरकारले नयाँ नयाँ कार्यक्रम घोषणा गर्छ, देशमा एउटा न एउटा बिपत आइ लाग्छ । एकातिर बिदेशी पर्यटक नेपाल ल्याउने योजना बनाइरहेको समयमा मधेशबाट फैलिएको डेंगु आतंक राजधानी लगायत देशभरका शहरमा फैलियो । राजधानी लगायत ठाउँमा लामखुट्टेले लाग्ने डेंगुको उपचारको लागि औषधी नभएको भन्ने हल्ला मच्चाउने काम पनि सामाजिक संजाल र नयाँ नयाँ खुलेका मिडियामा आतंक मच्चाउने शैलीमा आएपछि नेपाल आउने योजना बनाइ रहेका बिदेशी पर्यटकहरू आत्तिदै नेपाल नआउने निधो गरे ।
नेपालमा पर्यटक भित्राउँने हो भने सबैभन्दा पहिले हामीले सडक चुस्त दुरूस्त बनाउनु प¥यो । अहिले हामी कतै जानुपर्ने भयो भने त्यो ठाउँमा कति समयमा पुग्न सकिन्छ भन्ने ठेगान छैन । पर्यटनको केन्द्र भनेर चिनिने काठमाडौं जसलाई देशको राजधानी समेत भनिन्छ, अहिले राजधानीकै सडक अस्तब्यस्त छ । जताततै खाल्डाखुल्डी छ, नत ट्राफिक व्यवस्थापन नै गतिलो छ जताततै व्यथिति छ, अहिलेसम्म सडकको खाल्डाखुल्डी पुर्न समेत नसकेको सरकारले २० लाख पर्यटकलाई के देखाउन बोलाउने हो थाहा छैन । हुन त यहाँ नकारात्मक कुरा उठाउन खोजेको हैन, अहिले हामी कहाँ भइरहेको कमीकमजोरीलाई उठाउन खोजेको मात्रै हो ।
नेपाल साँच्चै बिश्वलाई नै लोभ्याउने पर्यटनको केन्द्र हो भन्दा कसैको पनि दुई मत हँुदैन होला । प्रमुख कुरा पुर्वाधार नै हो, नेपालले यहाँ घुम्न आउने पर्यटकलाई सबै खालको पुर्वाधार हामी कहाँ छ सडक राम्रो छ, व्यवस्थित छ खाना बस्ने होटल तथा लजमा सबै सेवा सुविधा सम्पन्न छ । नेपालको जुनसुकै ठाउँमा जान आउन सकिन्छ, शान्ति सुरक्षाको राम्रो प्रवन्ध छ भन्ने बिश्वास जबसम्म दिलाउन सक्दैनौं तबसम्म हामीले मात्रै नाराको भरमा यो बर्ष यति लाख पर्यटक भित्राउने भनेर पुग्दैन ।
अहिले गण्डकी प्रदेश सरकारले पनि पर्यटक भित्राउन ठूलो तामझाम गरिरहेको छ । अहिले गण्डकी प्रदेशको मुख्य पर्यटनको केन्द्र भनेको पोखरा, मनाङ गोर्खा लमजुङ हो भने धौलागिरिकोे मुस्ताङ, बागलुङ, म्याग्दी र पर्वत जिल्लाका प्रमुख गन्तव्यहरू हुन् । अहिले पोखरा देखि बागलुङ सम्मको राष्ट्रिय गौरवको योजना मध्यपहाडी लोकमार्ग अहिले अस्तव्यस्त अबस्थामा छ । जम्मा ७२ किलोमिटरको सडकमा यात्रा गर्न अहिले कम्तीमा पनि ४÷५ घण्टा लाग्ने गर्छ । अहिले झन् झरि पर्न थालेपछि न त ठेकेदार कम्पनीले राम्रोसँग काम गर्न पाएको छ, न त सडकमा यात्रा गर्न नै सहज अबस्था छ ।
केही दिन अगाडि सडक बनेको निरक्षण गर्दै गरेका एकजना इन्जिनियरको पर्वत खण्डमा पहिरोले पुरिएर मृत्यु भयो । सडक पुरै जोखिम पुर्ण छ, मृत्यु हत्केलामा राखेर यात्रा गर्नुपर्ने अबस्थामा हामीले कसरी बिदेशी पर्यटकलाई नेपाल आउ, मुस्ताङ घुम्न जाउ भनेर भन्न सक्छौ । गण्डकी प्रदेश सरकारले पर्यटन बर्ष २०१९ को लागि तामझाम गरिरहेको बेला धौलागिरी क्षेत्र भने अक्क न बक्क परेर हेरिरहेको छ । हो साँच्चिकै पर्यटन बर्ष सफल बनाउने हो भने हामीले गर्नुपर्ने सबै काम इमान्दार भएर गरेमा अबश्य पनि त्यो पूरा हुनेछ ।
अहिले यहीँ सडक भएर बागलुङ, मुस्ताङ सम्म यात्रा गर्न आउने आन्तरिक तथा बाह्य पर्यटक सडकको अबस्थाको कारणले धेरै सास्ती र दुःख पाएका छन् । कतिबेला गन्तव्यमा पुग्न सकिन्छ भन्ने केही ठेगान नै छैन । न त खाने बस्ने ठेगान छैन । ठाउँ–ठाउँमा सडक हिलाम्मे छ, दर्जनौं सवारीसाधन हिलोमा फसेर कन्त बिजोग छ । यस्तो समयमा सरकारले पर्यटन बर्ष घोषणा गरेर काठमाडौंमा ठूलो भाषण छाँटी रहेको छ ।
काठमाडौंको सडक घाम लाग्यो भने धुलाम्मे हुन्छ, कोठाबाट कामको लागि हिडेको मान्छे धुलोले गर्दा चिन्न मुश्किल पर्छ । माक्स नलगाईकन कतै हिड्न मिल्दैन तर सरकार प्रमुख प्रधानमन्त्री केपी ओलीले माक्र्स लगाउने सरकार बिरोधी हो भनेर भाषण नै गरिसकेको अवस्था छ । अहिले नेपाल भ्रमणमा छिमेकी मुलुक चीनका शक्तिशाली राष्ट्रपति सि जिन पिङ आउने कार्यक्रम लगभग तय भइसकेको छ । हाम्रो नेताहरू दर्जनौं पटक बिदेश सयर गर्छन् त्यहाँ भएको विकास हेरेर के कुरा सिक्छन् त्यो नै अहिलेसम्म थाहा हुन सकेको छैन । अहिले मात्रै भएको सडक खनेर खाल्डाखुल्डी पार्ने अनि फेरि पुर्ने त्योभन्दा अरू केही काम भएको छैन । भएको सडक उधारेर पर्यटन बर्ष मनाउने जुन काम अहिले सरकारले गर्दैछ, त्यो नै सबैभन्दा गलत हो भन्ने लाग्छ ।