सम्पादकीय
मुलुकमा कुनै पनि बिशिष्ट व्यक्तिको आगमन हुने निश्चित भयो भने सधै एउटा हतारो हुन्छ । देशको मुख्य राजधानी काठमाण्डौं शहर सडक सुधार । सडक सरसफाई । अनि रंगरोगन र साजसज्जा । यस्तो समय र परिवेशमा गरिएको सडक मर्मत सुधार, कालोपत्रे, रंगरोगन र सरसफाई निकै क्षणिक हुन्छन् । कतिपय त भ्रमण अवधि सम्म पनि थेग्दैनन् र आँफै उक्किन्छन्, ढल्छन् र गन्हाउँछन् । यसले बिदेशी, बिशिष्ट व्यक्तिहरुले कस्तो सन्देश लिएर जालान् ? त्यो बेग्लै छलफल र अन्तरंगको बिषय हुन सक्ला । तर, यसले आम नेपालीका माझ प्रष्ट सिकाई र सन्देश यो दिएको छ कि हाम्रो दीर्घकालिन सोँच, कार्यशैली र अभ्यासको दुर्दशा कुन स्तरको छ । र अल्पकालिन कार्यका लागि हाम्रो लगावको परिपाटीको निरन्तरता कति लज्जाको तहमा छ भन्ने पनि झल्काउने गरेको छ ।
यसै साता चिनियाँ राष्ट्रपति सी जीनपीङको नेपाल भ्रमण भयो । भ्रमणका सहमति, सम्झौता र उपलब्धिका पाटो फरक छ । तर, भ्रमणका क्रममा २० करोड रुपैयाँको साजसज्जा मात्रै । बिशिष्ट व्यक्तित्वको भ्रमणमा नेपाल सरकारको यस्तो एउटै खराब प्रवृत्ति किन दोहोरिरहन्छ ? चाहे चिनियाँ राष्ट्रपति सी जीनपीङ आउँदा होस् या भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी । छोटो तयारीमा धेरै रंगिन देखाउने हुटहुटी सरकार र तिनका मातहतका निकायका पात्रहरुमा देखिन्छ । जसका कारण हरेकजसो बिशिष्ट व्यक्तिको सवारीमा लाखौं करोडौं खर्च गरिन्छ । त्यस्तो खर्च बालुवामा पानी जस्तो भएको राज्य सञ्चालक र तिनका निकाय किन बिर्सिन्छन् ? पटक–पटक लाखौको रकम क्षणिक स्वागतको लहड र हतारोमा खर्च गर्ने प्रवृत्तिले किन पोल्दैन मन्त्री, नेता र हाकिमहरुलाई ? जनताको थोपा–थोपा पसिनाबाट आर्जित करको महत्वलाई किन बर्षौदेखि बोध गर्दैनन् ? यो बिषयमा अब बहस जरुर भएको छ । नागरिक स्तरबाट यस्तो प्रश्न र सवाल हर मन्त्री, नेता र उच्च पदस्थ कर्मचारीहरुलाई गर्नुपर्दछ ।
सामान्य कार्यक्रममा स्वागत गर्न त हामीलाई ठुलै रहर र खर्च गर्ने प्रवृत्ति छ भने बिशिष्ट व्यक्तिहरुको आगमनमा स्वागत गर्ने, साजसज्जा र सरसफाई गर्ने परिपाटी अन्यथा होइन । तर, सवाल र बहस यति मात्रै हो र हुनुपर्छ की बिशिष्ट व्यक्तिहरुको स्वागत सम्मानमा गर्ने पटक पटकको लाखौं खर्च भन्दा दीर्घकालिन सोच र योजना बनाएर हतारोमा स्वागतद्धार, साजसज्जा, सडक मर्मत सम्भार गर्न नपर्ने गरि काम गरे कति अभुतपूर्व कदम र कार्य होला । यता तर्फ अब हामीले सोँच्ने की नसोँच्ने ? की सधैं लाखौं खर्चेर हतारोकै स्वागतको आत्मरतिमा रमाइरहने ? धुलो नउड्ने राजधानी होस्, सुन्दर सफा, रंगीन लाग्ने शहर होस् । जहाँ कुनै हतारोमा क्षणिक स्वागतको जरुरत नहोस् । त्यस्तो दीर्घकाल सोच्ने र चल्ने काम सरकारले गरोस् । यस्तो सौभाग्य अबको हाइ प्रोफाइलको आगमनमा देख्न पाइयोस् ।