पारस, राजीनामा र सन्नाटा

सम्पादकीय
नेपालमा पारस नामको दुई किसिमको मानक स्थापित छ । जुन नामका बारेमा सिंगो नेपाल र नेपाली बेखबर सायदै होलान् । एउटै शब्दको नाम उच्चारण गर्दा पनि कसैले गर्व र कसैले घृणा गर्ने परिवेश किन र कसरी बन्छ ? यसमा कुनै बंश, पद, प्रतिष्ठा, जाति, धर्म मात्र कारण छैन । यो कर्ममा निहित छ । एउटा शक्तिको अवसान पछिको गुमनाम पारस । जो बदनामीबाट भने बेला बेला चर्चामा आइरहन अझै छोडको छैनन् । अर्को पारस, जो मुर्खले खेल्ने र महामुर्खले हेर्ने भनेर टिप्पणी गर्ने नेपाली समाजको क्रिकेट मैदानबाट चामत्कारिक नतिजा निकालेर परम्परागत सोच बदल्दिएँ । देशलाई खुशी तुल्याए । मुलुकको शिर उचो बनाए । र आँफ्नो कप्तानी अर्थात नेतृत्व सफल र सार्थक बनाए । त्यसैले नाम मात्रले कुनै नाम या बदनाम बनाउदैन । उसले गर्ने कामले नाम या बदनाम बनाउँदछ भन्ने उदाहरण यिनै दुई नामबाट प्रष्ट हुन्छ ।

यहाँ प्रसंग उल्लेख गर्न खोजिएको राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काको राजीनामाको हो । नेपाल क्रिकेट संघ (क्यान) माथिको निलम्बन अन्र्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले लामो समय पछि फुकुवा गरेको भोलीपल्ट यस्तो अप्रत्यासित र क्रिकेटप्रेमीका लागि अप्रिय निर्णय आयो । जसबाट देश बिदेशमा रहेका नेपाली क्रिकेटप्रेमी सन्तापमा छन् । सन् २००९ देखि नेपाली टोलीको कम्तानी सम्हाल्नुभएका खड्काले यसअघि कप्तानी छाड्ने कुनै संकेत गरेका थिएनन् । पारसको कप्तानीमा नेपालले अन्र्तराष्ट्रिय क्रिकेटमा एकपछि अर्को गर्दै आँफ्नो दरिलो उपस्थिति जनायो । नेपालको क्रिकेटलाई डिभिजन ५ देखि एक दिवसीय स्टाटससम्मको यात्रामा उनकै सबैभन्दा ठूलो भूमिका छ । नेपाली खेल क्षेत्रले पारस खड्का जति लोकप्रिय र सदाबहार खेलाडी यसअघि सायदै अर्को कोही पाएको थियो । नेपाली क्रिकेटका धेरै र अन्र्तराष्ट्रि क्रिकेट प्रतियोगितामा समेत नेपालका तर्फबाट बिभिन्न कीर्तिमान उनको नाममा दर्ज छ । ब्याटिङमा पारसको खेल अभुतपूर्व आयाम दिने गरि प्रर्दशन भइरहेकै थियो । यद्यपी खेलमा हार–जीतका श्रृंखलाहरु चलिरहन्छन् । उतार चढावहरु खेल र खेलाडीमा आइरहन्छन् । तर, पारसको कप्तानीमा तत्काल बिकल्प सायदै सोचिएको हुनुपर्छ । शिघ्र निर्णय क्षमता, संयमित, आँफ्नो खेलबाट अन्य खेलाडीलाई नेतृत्व र प्रेरणा दिन सक्ने, मिडियासँग स्पष्ट र तार्किक कुरा गर्ने लगायतका गुणले नेपाली क्रिकेटले पारसको विकल्पमा अर्को नाम सोच्दै सोचेन । या सोच्न आवश्यक नठानेको अवस्थामा राजीनामा आयो । जसले केही निराशा जन्माएको छ ।

पारसले कप्तानी सम्हालेको एक दशकमा नेतृत्व छोडेका छन् । यो १० बर्ष अवधिका हिसावले लामो हो । यस हिसावले अन्यथा छैन । पारसले जरुर कप्तानी छोड्नुपथ्र्यो, तर अहिले होइन । एउटा उभार आएका बेला त्यो पनि यस्तो समयमा भयो, क्यान माथीको कारवाही फुकुवाको खुशिमा सन्नाटा जस्तो छाउने परिवेश बन्यो । जे होस् यसका पछाडी के कस्ता कारणहरुले पारस यो निर्णयमा पुगेका छन् ? त्यो क्रमशः खुल्दै जाला । यदी राम्रो गर्दा गर्दै पनि कुनै स्वार्थ समूहबाट निरुत्साहित गराउने दुश्प्रयास र नियतका बीच यो परिस्थिति आएको हो भने त्यो गम्भिर बिषय हो । यसमा पारस मात्र होइन, क्यानले पनि प्रष्ट भन्न सक्नुपर्छ । पारसको राजीनामा प्रकरणले अब पनि नेपाली क्रिकेटको उत्साह नघटोस् । खेलाडीहरुको मनोबल कमजोर नबनोस् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *