प्रहरीको कडाईमा ‘बार्गेनिङ’को दुर्गन्ध !

सम्पादकीय
नेपाली समाजमा बडादशैं र तिहारको जति उल्लास, उत्साह र रौनकता सायदै अर्को पर्वमा हुन्छ । यसका सामाजिक, साँस्कृतिक, धार्मिक, ऐतिहासिक सबै हिसावले यसको महत्व र महिमा फरक छ । तर, एउटा समूह दशैं र तिहार भनेको जुवातास र मदिरा सेवन गरेर मनोरञ्जन मनाउनका लागि भने जस्तो गरि प्रस्तुत हुने गर्दछन् । र त प्रहरीले हरेक बर्षको ठुला चाडपर्वमा जुवातास नियन्त्रणका लागि बिशेष कदममै चाल्नुपर्ने अवस्था आउँछ । कारण ठुला ठुला रकमको जुवातास र कौडा खेल्ने प्रवृत्तिले धनको नाश हुन्छ । धनको नाश भए पछि त्यसले परिवारमा बिग्रह पैदा गर्छ । जसले समाजमा विस्तारै बिचलन उत्पन्न गराउँदछ । तसर्थ जुवातास नियन्त्रणमा प्रहरीले चाल्न कदम सकरात्मक नै मान्नुपर्दछ । तर प्रहरीको कदम सही नियतले सञ्चालित छ ?

यो प्रश्न आजको समाजमा अहम् बनिरहेको छ । जुवा खालमा छापा मार्दा बरामद गरिएको रकम लुकाएको आरोपमा कास्की प्रहरीले शुक्रबार मात्रै तीन जनालाई निलम्बन गरेको छ । पोखरामा जुवातास विरुद्धको अभियान सञ्चालन गरिरहेका बेला जुवा खालमा बरामद गरेको पैसा लुकाएको आरोपमा प्रहरी सहायक निरीक्षक सन्तोष सुवेदी, प्रहरीहरु अनिल ढकाल र जिवनाथ लामिछाने निलम्बनमा परेका हुन् । पोखराको लेकसाइड स्थित एक होटलमा छापा मार्दा प्रहरीले जुवातास खेलिरहेका नौं जना सहित १० लाख रुपैयाँ बरामद गरहेको थियो । छापा मार्न गएका तीन जनाले बरामद गरिएको पैसा मध्ये एक लाख २६ हजार रुपैयाँ लुकाएर आफ्नो स्कुटरको डिकीमा राखेको अवस्थामा प्रहरीले उनीहरुबाटै उक्त रकम बरामद गरेको थियो । जुवा खेलेको आरोपमा पक्राउ परेकाहरुको प्रारम्भिक बयान पछि अनुसन्धानका क्रममा दोषी पाइएकाले उनीहरुलाई निलम्बन गरियो । जो निलम्बनमा परेका छन्, उनीहरु प्रदेशमै अनुसन्धानमा उत्कृष्ट भएर पुरस्कृत समेत भएको समाचार छ । यो पोखराको घटना प्रतिनिधि घटना हो । यस्तो पात्र र प्रवृत्ति प्रहरीमा बागलुङ, म्याग्दी, पर्वत र मुस्ताङ लगायतका स्थानमा पनि नभएका होइनन् । खाँचो प्रयाप्त प्रमाण र बोल्न सक्नेहरुको हो ।

प्रहरीले समाजमा विकृतिजन्य कार्य नियन्त्रण गर्न बेला बेलामा सकरात्मक कदम र अभियानहरु सञ्चालन गर्छ । जसलाई समाजका सबै तह तप्काका व्यक्तिहरुले हार्दिकतापूर्वक स्वागत गर्छन्, साथ दिन्छन् र प्रहरी प्रतिको अभूतपूर्व बिश्वास प्रकट गर्छन् । तर, बिडम्बना प्रहरीले त्यही बिश्वास, भरोसाको आडमा जान अञ्जानमा अबैध, नियम बिपरितका गतिविधिमा सम्लग्न भएकाहरुलाई कानुनी दायरामा ल्याउनु अघि ‘बार्गेनिङ’ गर्न थाल्छ । जसमा कुरा नमिले पछि मात्र फेरी सादगी बनेर कानुनी प्रक्रिया अघि बढाउँदछ भन्ने प्रहरी प्रतिको गुनासो र आरोप सर्वत्र छ । यसबाट सबै प्रहरीलाई लाञ्छित गर्नु पनि अन्याय हुन्छ । तर, यस्ता गुनासो र आरोपबाट प्रहरी मुक्त हुनुपर्छ । सर्वसाधारण या प्रतिष्ठित जो कोही व्यक्ति होस् । गलत गर्दाको बखतमा प्रहरी प्रमुख पहिलो व्यक्ति मात्र होइन, त्यस तलका प्रहरी अधिकारीले पनि ‘बार्गेनिङ’ गर्ने सुविधा नहुने गरि संयन्त्र तयार गर्न सके मात्र समाजबाट खराब पात्र र प्रवृत्ति निरुत्साहित हुँदै जानेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *