मर्यादित व्यक्तिको अमर्यादित बोली !

सम्पादकीय
बोलीका बारेमा नेपाली समाजमा चर्चित कथन छ:- मानिसहरु बोल्न अघि सचेत हुदैनन्, बोलिसके पछि मात्र सचेत हुन्छन् । सामान्य मानिसहरुको दैनिकी र व्यवहारसँग सम्बन्धित जस्तो लाग्ने यो बाणी सर्वसाधारणको प्रस्तुतीसँग मात्र मेल खाँदैन, यो समाजमा कहलिएका, सार्वजनिक पद धारण र सफलता प्राप्त गरेकाहरुको जीवनसँग पनि उत्तिकै मेल खान्छ । पछिल्ला समयमा लोकतन्त्र र स्वतन्त्रताको नाममा बोलीहरु अप्रिय र अमर्यादित हुन थालेका छन् । जसका बारेमा गम्भिर छलफल, बहस र चिन्तन मनन समेत हुन आवश्यक देखिएको छ ।

‘मर्यादित व्यक्तिको अमर्यादित शब्दावली’को श्रृखंला र फेहरिस्त आजको समयमा मात्र होइन, विगत लामो समयदेखिको निरन्तरता छ । तत्कालिन मन्त्री शेरबहादुर तामाङले बिदेश पढ्न जाने युवति लक्षित ‘पढ्न होइन, बेश्यावृत्ति’ गर्न जान्छन् भन्ने अभिव्यक्ति दिए पछि मन्त्री पद गुमाउनु प¥यो । त्यस्ता शब्द बोल्ने र हटाउने अभ्यास नेपालको पहिलो संसद देखिनै पाइन्छ । ०१६ मा बसेको प्रतिनिधिसभा बैठकमा सांसद मृगेन्द्रशमशेरले ‘नालायक’ शब्द प्रयोग गरेपछि सांसदहरूले विरोध गरेका थिए । सांसदहरूको आपत्तिपछि तत्कालीन सभामुख कृष्णप्रसाद भट्टराईले त्यसलाई अभिलेखबाट हटाउन रुलिङ गरेका थिए । ०७३ साउन ८ मा अमरेशकुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानसिक अवस्था ठीक नभएको आक्षेप लगाए । तत्कालीन सभामुख ओनसरी घर्तीले सिंहका शब्द रेकर्डबाट हटाउन निर्देशन दिइन् । ०७३ मंसिर १७ को व्यवस्थापिका बैठकमा प्रधानमन्त्रीलाई इंगित गर्दै सिपी मैनालीले ‘बहुला कुकुरले टोकेको’ भनेपछि रडाको मच्चिएको थियो । संसद्मा अमर्या्दित शब्द बोलेको भन्दै सांसदहरूले नियमापत्ति गरेपछि सभामुख घर्तीले ‘बहुला कुकुर’ शब्द रेकर्डबाट हटाउन निर्देशन दिएकी थिइन् । गत २४ वैशाखमा प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले जिज्ञासा राख्ने र प्रधानमन्त्रीले जवाफ दिने क्रममा ओलीले कटाक्ष गर्दै ‘निम्छरा प्रश्न र जिज्ञासाका लागि धन्यवाद’ भने पछि तिव्र बिवाद भयो । पछि यो शव्द पनि रेकर्डबाट हटाइयो ।

यी त प्रतिनिधि घटना मात्र हुन् । बिभिन्न मर्यादामा रहेकाहरुले बोल्ने अमर्यादित बोलीले समाज र मुलुकमा कुनै न कुनै हिसावले तरंगित गरिरहेको छ । यसले के देखाउँछ भने पदिय मर्यादा, त्यस अनुसारको कार्यशैली सँगै जीवनशैली प्रतिको ध्यान र गाम्भिर्यता कम देखिन्छ । जसका कारण सार्वजनिक पद प्रतिष्ठा हासिल गरेकाहरुले अझ बढी बोलीमा लगाम लगाउन जरुरी हुन्छ । यसको अर्थ बोल्नु पर्ने बिषय पनि नबोल्नु या मौनता साँध्नु भनेको होइन । तर, बोलेको बोलीले अनावश्यक रुपमा लाञ्छित, बिवादित बनाएर पद प्रतिष्ठा समेत गुम्ने खतरा प्रति समयमै सचेतता जरुरी छ । लोकतन्त्रले बोल्ने स्वतन्त्रता निसन्देह दिएको छ । यसको अर्थ जे पनि बोल्ने भन्ने संकिर्ण बुझाइले व्यक्तिलाई मात्र होइन, संस्थालाई पनि क्षति पु¥याउनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *