आलम आतंकको पाठ र उप-निर्वाचन

सम्पादकीय
अहिले मुलुकुमा रिक्त पदमा हुन लागेको उपनिर्वाचनको सरगर्मी बढ्दो छ । उपचुनावसँगै निर्वाचनका बेला कस्ता खेल र कति भयानक गतिविधि हुन्छन् भन्ने कहाली लाग्दो परिघटनामा अदालतमा बहस जारी छ । नेपाली काँग्रेसका नेता, पूर्व मन्त्री मोहम्मद आलमले निर्वाचन जित्न गरेका हर हर्कत, त्यससँग अनेक अकल्पनीय घटना अहिले जे जति सार्वजनिक भएका छन् ? नेपाली राजनीतिमा सत्ता र शक्तिका लागि कुन हद सम्मको खेल र षड्यन्त्र हुन्छ भने बुझ्न एउटै घटना काफी देखिएको छ । जसका बारेमा अब न्यायिक निकायदेखि राजनीतिज्ञ र नागरिकका बीचमा केही बहस, चिन्तन जरुर छ ।

सांसद आलमको निर्देशनमा २७ चैत ०६४ मा रौतहट राजपुर फरहदवा–४ सेख इद्रिस खालिहानको गोठमा बम बनाउने क्रममा अचानक विस्फोट भयो । त्यस क्रममा घाइते भएका पिन्टु भनिने त्रिलोकप्रताप सिंह, ओसी अख्तर सहितका युवालाई इँटाभट्टामा हालेर जिउँदै जलाइएको थियो । यति बिभत्स घटनाको रहस्य सार्वजनिक हुन पनि एक दशक लाग्यो । शान्ति सुरक्षाको सुनिश्चितता गर्ने जिम्मा पाएको नेपाल प्रहरी, तत्कालिन प्रहरी उपरिक्षक एसपी लक्ष्मण न्यौपाने (जसलाई पछि थारुहट आन्दोलनमा जिउदै जलाइयो) लगायतको राजनितिज्ञ सँगको अपवित्र, अस्वभाविक सम्बन्ध र संरक्षणले नेता मात्र होइन, देशभक्त प्रहरीको इमानमा पनि गम्भिर प्रश्न उठाएको छ । अहिले प्रहरी महानिरिक्षक सहित तत्कालिन प्रमुख जिल्ला अधिकारी, प्रहरी अधिकारी र जवानहरुको बयानले पनि हाम्रो नेपाली राजनीति, प्रहरी प्रशासन भित्रको दुश्चरित्र उदांगो बनाई दिएको छ । जसले अब राजनीति, प्रहरी र प्रशासनिक संयन्त्र, निश्पक्ष लोकतान्त्रिक अभ्यासका बारेमा गम्भिर समिक्षा बहस गर्नुपर्नेछ ।

निर्वाचनमा या राजनीतिमा हुने अपराधिकरण र अपराधको राजनीतिकरण शुभारम्भदेखि भए पछि अब त्यस्तो चुनावबाट आउने जनप्रतिनिधि, सांसद र मन्त्रीले सुशासन, जवाफदेहिता र पारदर्शिताका लागि कसरी काम गर्ला ? यसरी चुनाव जित्नेसँग कस्तो नैतिक बल रहन्छ ? अहिले फेरी रिक्त स्थानमा आगामी मंसिर १४ गते उपनिर्वाचन हुँदैछ । यो चुनावमा पनि टिकट प्रकरणदेखि पैसा, गुट, शक्तिकै चलखेलको गन्ध र परिदृश्य देखिन थालेको छ । यो नेपाली राजनीतिमा राम्रो संकेत होइन । आलम आतकंले उजागर गरेका अनेक कहाली लाग्दा भयानक परिदृश्य र घटनाबाट अहिलेको उपचुनावमा नागरिक, प्रहरी, प्रशासन सबैले पनि पाठ सिक्न आवश्यक छ । र यस्ता चुनावमा जित्नकै लागि त्यस्ता अनेक हर्कत गर्ने उम्मेदवारलाई आँफ्नो अमुल्य मतबाटै बहिष्कृत गर्न जरुरी छ । क्षणिक रुपमा लाभ भए पनि त्यसको सत्य एक न एक दिन उद्घाटित हुने निश्चित छ भन्ने हेक्का सबैलाई हुनुपर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *