सम्पादकीय
अहिले बागलुङमा उपनिर्वाचनको तरंग छ । चुनाव जित्ने हुटहुटी र दबाबले रानतीतिक दल प्रतिष्ठाको सवाल बनाएर चुनावी मैदानमा छन् । नेकपा र राष्ट्रिय जनमोर्चाले चुनावी एकता गरेर बाम गठबन्धन बनाएका छन् भने नेपाली काँग्रेस एकल रुपमा मैदानमा छ । संघीय समाजवादी, राप्रपा लगायतका दल पनि उम्मेदवारी दिएर प्रचारमा छन् । यद्यपी, बागलुङ क्षेत्र नम्बर २ को प्रदेश ख मा मुख्य रुपमा बामगठबन्धन र कांग्रेसबीच मुख्य प्रतिस्पर्धा हुनेछ । तर, अरु चुनावमा जस्तै यसपटक पनि पश्चिम क्षेत्र दल, उम्मेदवार र नेताहरुको बिद्रोह मात्र होइन, अस्वभाविक कार्य, गतिविधि र अनेक हर्कतले जिल्लामा मात्र होइन, देशभर तरंगित गराइरहेको छ ।
जिल्लाको पश्चिम क्षेत्रको राजनीति अलि भिन्न छ । सानो सानो बिषयमा अतिरञ्जनापूर्ण बनाइन्छ । अर्को लामो समय देखिएको पश्चिमको पीडा पनि के छ भने भौगोलिक रुपले दुर्गम छ । राजनीतिक, सामाजिक लगायतका अनेक अवसरहरुमा उपेक्षित छ । र त बेला–बेलामा उठिरहन्छ फरक जिल्लाको माग । हुन्छ अखण्ड र खण्डको लामो बहस, बिवाद र आन्दोलन । तर, हामी बिर्सिरहेका हुन्छौ दुर्गमका अनेक पीडा, भोगाई र सकस । र पछिल्लो समय बिद्रोही स्वरहरु मुखरित हुन थालेका छन् । बारबारको अनेक गुनासो, आक्रोश र क्रन्दनको बेवास्ताले सिर्जित परिस्थिति, परिवेशमा केही स्वरहरु चर्को हुनु स्वभाविक हो । केही अभिव्यक्तिहरु आक्रोशपूर्ण हुनु अनौठो होइन । तर, यसमा पनि अनुशासनको सीमाहरु निर्धारित छन् । त्यो कुनै बिधान, संविधानमा लेखिएको नहोला । हाम्रा बिवेक, नैतिकताहरुले त्यसलाई बाँध्न सक्नुपर्छ । चुनावी रौनकता प्रारम्भ भएसँगै नेकपाको बागी उम्मेदवारी, उम्मेदवारि फिर्ताका क्रममा भएको ‘अपहरण’, प्रहरी पहल, हेलिकप्टर मार्फत सदरमुकाम आगमन, उम्मेदवारी समय समाप्ती, सार्वजनिक वत्तव्य मार्फत उम्मेदवारी घोषणा र नेकपाद्धारा दुई नेतालाई निलम्बितको निर्णय लगायतका कार्य सम्म आइपुग्दा ती गतिविधि स्वभाविक देखिएन । नेपाली कांग्रेस भित्र पनि पश्चिम क्षेत्रको आवाज फरक जिल्लाको छ । जिल्लाबाट कुनै न कुनै किसिमको उपेक्षामा परेको गुनासो त्यस क्षेत्रका नेता कार्यकर्ताको छ ।
राजनीति, लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ । यो निश्चित र स्वभाविक हो । कुरा यति मात्र हो की राजनीति लगायतका सबै क्षेत्रमा स्वश्थ प्रतिस्पर्धा हुनुपर्छ । राजनीति स्वच्छ नभए सम्म अरु कुनै एक दुई क्षेत्र राम्रो भएर समाज र देश राम्रो बन्दैन र बन्न सम्भव छैन । अतः राजनीति भित्रका व्यथिति, गलत सँस्कार र प्रवृत्ति अन्त्य गर्न लाग्नुपर्छ । अहिलेको पछिल्लो परिघटनामा पनि राजनीति भित्रको अनुशासन अपरिहार्य छ । तर, राजनीतिमा समर्पित भएकाहरुले पनि सबैको आवश्यकता, चाहना र भावना बुझ्नसक्नुपर्छ । पश्चिम क्षेत्रको बर्षौदेखि पछी पारिनुको पीडा अभिव्यक्त गर्नुलाई नै अपराधको रुपमा हेरिनु हुन्न । पश्चिमको अवसर, अधिकारको आवाज उठाउनेहरुले पनि अनुशासन, जिम्मेवारी र मर्यादा भुल्नुहुँदैन । पश्चिम क्षेत्रका नागरिकलाई फरक जिल्लाको नागरिकको व्यवहार र अनुभूति हुन कदापी दिनुहुँदैन ।