मौन अवधि ‘मनी’ अवधि नहोस्

सम्पादकीय
दल र उम्मेदवारहरुको बुधवारको अन्तिम चुनावी सभापछि उपचुनाव हुने ठाउँमा मौन अवधि शुरु भएको छ । मौन अवधि भन्ना साथ यसको आँफ्नै मुल्य, मान्यताहरु निर्वाचन आयोगले स्थापित गरेको छ । मौन अवधि आचार संहिताको पूर्णपालना गरी निर्धक्क रूपमा मतदाताले आफ्नो मताधिकारको प्रयोग गर्ने अवस्था निर्माणका लागि हो । यस अवधिमा चुनावी सभा, कुनै पनि सञ्चार माध्यमबाट निर्वाचन प्रचार–प्रसार कार्य गर्न, गराउन बन्देज छ । मौन अवधिमा आफ्ना वेभसाइड, ट्वीटर, फेसबुक, भाइवर वा एसएमएस जस्ता सामाजिक सञ्जाल वा विद्युतीय माध्यमको प्रयोग गरी मत माग्न र निर्वाचन प्रचार–प्रसार गर्न निषेध गरिएको छ ।

उपनिर्वाचनको उदेक लाग्दो बिषय त निर्वाचन क्षेत्रमा बाहिरियाहरुको बर्चस्व देखियो । यसले उम्मेदवारलाई सद्भाव, शुभेच्छा र केही हद सम्म सहयोग त मिल्ला । तर, त्यो भन्दा बढी चुनावी खर्चको दर बढ्ने निश्चित भएको छ । त्यहाँ पुगेकाहरुले भोट बढाउछन् की बढाउदैनन् ? उम्मेदवारको चुनावी खर्च भने उल्लेख्य रुपमा बढाई दिएका छन् । जे होस् भड्किलो र खर्चिलो निर्वाचन पछि उपनिर्वाचन हुने क्रममा छ । अहिलेको उपनिर्वाचन बढी खर्चिलो र भड्किलो बन्ने नबन्ने संवेदनशिल घडी भने अब शुरु भएको छ । मौन अवधि शुरु भए पछि अझ बढी राजनीतिक रुपमा अश्वस्थ प्रतिस्पर्धा र चलखेल हुने गरेको बिगत हामीसँग छ । आर्थिक चलखेल देखि नागरिकलाई मत र मन फकाउने र अनेक तर्कनाका साथ धम्काउने श्रृखंला पनि यही बेलामा बढी हुने गरेको देखिन्छ । जिल्लाको पश्चिम क्षेत्रको प्रदेश सभा सदस्यको निर्वाचनमा पनि यस्तो बाछिटाहरु देखिने प्रति चासो र चिन्ता पनि व्यक्त भइरहेको छ । निर्वाचनलाई कुनै एक व्यक्तिलाई पदमा पु¥याउनेमा भन्दा सही बिधि, प्रक्रियाबाट सही पात्रलाई छनोट गर्ने स्वश्थ र स्वच्छ बाटो हिँड्नेमै हामी लाग्नुपर्छ । मौन अवधिका बेला जनताको अमुल्य मतलाई पैसाले खरिद गर्ने दरिद्र मानसिकता देखिन सक्छ । जनताको नाममा दोस्रो व्यक्तिले ब्ल्याक मेलिङ पनि गर्न सक्छ । यस्ता पात्र आजको २४ घण्टा भित्र तपार्ईका गाउँ समाजमा पनि आउन सक्छन् । अब जनताले नै यस्ता पात्र र प्रवृत्तिलाई उदांगो बनाउन सक्नुपर्छ । तब मात्र सबल लोकतन्त्र, सुशासनको मार्गमा समाज र देश अघि बढ्न सक्छ ।

मौन अवधिको सबै भन्दा बिचारणीय पक्ष मौन अवधि ‘मनी’ अवधि हुने गरेको गुनासो तिव्र छ । हुन पनि यस अवधिमा पैसा र शक्तिको अधिक चलखेल हुन्छ । यसले बिवेक शुन्यताको अवस्था सिर्जना गर्छ । मानिसहरुको गरिबी, चेतना र जागरणको कमजोरीलाई लिएर जुनसुकै दल र उम्मेदवारले खेल्ने खेल समाज र राजनीतिको उन्नत सँस्कारका लागि दुर्भाग्यपूर्ण हो । यसले राम्रो मान्छे चन्ने चुनिने बातावरणलाई धुमिल बनाउन सक्छ । यो बिगतका निर्वाचनमा जुन रफ्तारमा देखियो । त्यो तुलनात्मक रुपमा केही कम हुँदै जाला भनेर अपेक्षा गरौ । अपेक्षा मात्र होइन, तपाई हामी जो जहाँ छौ, मौन अवधिका बेला हुने पैसाको चलखेलको विकृतिजन्य क्रियाकलापलाई निरुत्साहित गरौं । मौन अवधि भनेको पैसा बाँड्ने समय हो भन्ने जर्बजस्त बिषयलाई गलत सावित गरौं । यो हामी सबैको दायित्व र जिम्मेवारी हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *