‘मरण’ भावीले मात्र लेख्दैन, हामी पनि लेख्छौ

सम्पादकीय
जीवन र मरण स्वभाविक प्रक्रिया हो । मानिस जन्मे पछि मर्छ, तपाई हामी पनि एक न एक दिन मर्नुपर्छ । हामी चाहौ या नचाहौ । हामी स्वीकार गरौं या अस्वीकार । हामी मानौ या नमानौ । यो निश्चित छ की हामी एक दिन मर्नेछौ । त्यसो भए हाम्रो मरण कहाँ, कसरी र कस्तो हुनेछ ? यसको उत्तर त न तपाई दिन सक्नुहुन्छ न म सक्छु । न त तपाई हामीले पुज्ने गरेका कुनै पनि धार्मिक देवी देवता र भगवानहरुले । नाजवाफ बन्नुपर्ने यो उत्तरविहिन प्रश्नको जवाफ एक दिन चाही सबै प्राणी जगतका लागि सत्य भएर आउँछ । नेपाली समाजमा जीवन र मरणबारे एउटा कथन छ की मान्छेको जीवन, मरण, बिवाह भावीले लेखेर आएको हुन्छ । के यस्तै हो त ? भावी अथवा माथीबाट जे जे लेखेर आउँछ, त्यही त्यही चिज हामीले भोगिरहेका छौ, भोग्नुपर्ने हो त ?

निश्चय पनि त्यसो होइन । भावीले लेख्ने जीवन या मरण या बिवाह । त्यो एउटा बिश्वास हो । आस्था हो । अध्यात्म माथिको भरोसा हुन सक्छ । तर, यसमा बुझ्नै पर्ने तथ्य के छ भने मानिसले आफ्नो भाग्य र भविष्य कस्तो बनाउने ? त्यो भावीले जे लेख्यो, त्यही बाँचिरहेका छौ, बाँच्नुपर्छ त ? होइन, हाम्रो भाग्य हामी आँफै लेख्न सक्छौ । हामी आँफ्नो भविष्य आँफै बदल्न सक्छौ । हो, जीवन, मरण रोक्न सक्दैनौ । तर, यसमा सचेतताहरु अबलम्बन गर्न सक्छौ र जीवनका आयुहरु लम्ब्याउन सक्छौ । घटना, दुर्घटना भएर आउने कालहरुका डर लाग्दा धर्साहरु मेट्न सक्छौ र नयाँ नयाँ जीवन र भरोसाहरु भेट्न सक्छौ । भावीले लेख्ने र लेख्यो भनेका मृत्युहरु कति बेप्रवाह, लापरवाही, बेवास्ता, जर्बजस्त यात्राहरुबाट हुने गरेको सर्वविदितै छौ । यसमा हामी सचेतता अपनाउन सक्छौ । मंगलबारको बागलुङ बडिगाडको दुर्घटनालाई मात्र हेर्ने हो भने पनि एउटै दुर्घटनामा १४ जनाले अमुल्य जिन्दगी गुमाएका छन् । एक बेपत्ता छन् । तीन जना गम्भिर घाइते छन् । भयानक दुर्घटना अघि ट्राफिक प्रहरीले ओभरलोड भन्दै ठुलो संख्यामा यात्रु ओरालेका छन् । जसका कारण आठ जनाको ज्यान जोगिएको छ । यदी यो दुर्घटना तिव्र गति या ओभरलोडका कारण दुर्घटना भएको हो भने यो दुर्घटना या मरण भावीले लेखेर होइन, स्वयम् चालक र यात्रुहरुको लापरवाही र जोरजर्बस्तबाट निम्तिएको हुनुुपर्छ ।

मरण अप्रिय त हुन्छ नै । जतिसुकै बर्ष पुगेको होस् । पुरा आयु बाँचेका मान्छे मर्दा पनि अप्रिय त लाग्छ नै । तर, मरण असामयिक हुनुहुँदैन, बनाउनु हुँदैन । कतिपय मृत्युहरु तपाई हाम्रै संवेदनाहिन, सचेतता कमीले हुने गर्छ । कति मृत्युहरु तपाई हामै्र सामान्य लापरवाहीले निम्तिने गर्छ । अझ कति मृत्युहरु त एक जनाको दोष या लापरवाही हुन्छ । निर्दोषहरुले पनि अकालमै ज्यान गुमाउनुपर्छ । त्यसैले मरण भावीले मात्र लेख्दैन, हामीले पनि जान अञ्जानमा लेखिरहेका हुन्छौ । प्रत्येक पल पलमा पाइलामा बिचार गरौं । -आजको जागरण दैनिकको सम्पादकीय बिचार

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *