-मणि दाहाल
भारतीय झण्डा अंकित ब्लेजर लगाएर मंगलबार लैनचौरको एउटा कफी सपमा उनी बसिरहेका थिए। नजिकै टेबलमा बसेका दुई किशोरीले उनलाई सोधे– साग (दक्षिण एसियाली खेलकुद)मा सहभागी हुन आउनु भएको हो?
क्यानडा जान लागेका छोरालाई विदा गर्न आएका भुवनसिंह विश्वकर्माले जवाफ दिए– होइन।
‘अनि यो झण्डा भएको ब्लेजर नि?’
‘भारतीय मिसनमा अन्टार्टिका पुगेको भनेर त्यहाँको सरकारले दिएको।’
जब भुवनसिंह आफ्नो परिचय दिन्छन्, मानिसहरु उनको वरिपरि झुम्मिन आइपुग्छन्। कोही सेल्फी खिच्नतिर लाग्छन्। अरु अन्टार्कटिकाबारे अनेकथरी प्रश्न गर्न थाल्छन्।
000
अन्टार्कटिका पुग्नुअघिसम्म उनकै मनमा पनि यस्तै प्रश्न आइरहन्थे। ६ महिना दिन र ६ महिना रात हुने हिउँले ढाकिएको त्यो ठाउँ कस्तो होला?
वि.सं. २०४३ सालमा अन्टार्कटिका जाने भारतको छैठौ वैज्ञानिक अनुसन्धान टोलीसँग त्यहाँ पुगेपछि भने उनले सबै प्रश्नको एकमुष्ठ जवाफ पाए।
त्यससँगै नेपालमा उनको कीर्तिमान पनि बन्यो– पृथ्वीको पिँधमा रहेको अन्टार्कटिका महादेश पुग्ने पहिलो नेपाली।
‘साँच्चै स्वर्गजस्तो ठाउँ हो,’ बुधबार बागबजारमा भेटिएका भुवनसिंहले भने, ‘घामको लाली हिउँमा पर्दा देखिने दृश्यको सुन्दरता बयान गर्न सकिन्न।’
२०४३ मा ६ महिना र २०४७ सालमा १४ महिना गरी उनी दुई पटक अन्टार्कटिका पुगे। आतेजाते समय छाड्ने हो भने डेढ वर्ष उनले अन्टार्कटिकामै बिताए।
‘भारतले प्रत्येक वर्ष अन्टार्कटिकामा अनुसन्धानमा टोली पठाउने गर्छ,’ भुवनसिंहले भने, ‘त्यही टोलीमा सहभागी हुन आवसर पाएँ।’ उनी भारतबाट अन्टार्कटिका जाने वैज्ञानिक टोलीमा प्राविधिक सहायकका रुपमा छानिएका थिए।
१ करोड ४२ लाख वर्ग किलोमिटर अर्थात् भारत र चीनभन्दा ठूलो क्षेत्रफल भएको अन्टार्कटिकाको प्रकृति विचित्रको छ। यहाँ सूर्य उदाउन १५ दिन जति समय लाग्छ। त्यसपछिको पाँच महिना पूरै उज्यालो हुन्छ। फेरि १५ दिन लगाएर सूर्य अस्ताउँछ र सुस्तसुस्त अँध्यारो हुँदै जान्छ। त्यसपछि फेरि घनघोर अँध्यारो।
‘त्यो दार्जिलिङमा टाइगर हिलबाट हेर्दा भुइँबाट घाम उदाएजस्तो देखिन्छ नि!’ अन्टार्कटिकामा सूर्योदय कसरी हुन्छ, भुवनसिंहले बुझाउने प्रयास गरे, ‘त्यहाँ पनि त्यस्तै हो।’
ग्यास, कोइला, तेल, युरेनियम, फलाम, तामा, सुन– खनिज पदार्थमा धनी छ अन्टार्कटिका। त्यसको कसरी उपयोग गर्ने भनेर वैज्ञानिकहरु अनुसन्धान गरिरहेका छन्। त्यसलाई हत्याउन शक्तिराष्ट्रबीच होड बढ्दो छ।
भारतीय सेनाबाट भए छनोट
बाग्लुङको बलेवामा ६५ वर्षअघि जन्मिएका थिए भुवनसिंह। उनको परिवार गरिब थियो। खेतीपाती गरेर ५–६ महिना खान पुग्थ्यो। ‘गोरखपुरमा बुबाको व्यवसाय थियो, बाँकी समय त्यसैले धान्थ्यो,’ उनले सुनाए।
सात वर्षको हुँदा उनी बलेवाबाट बुबासँग गोरखपुर गए। ‘त्यसबेला मेरो खुट्टामा चप्पल पनि थिएन। हामी पाँच दिन हिँडेर बुटबल पुगेको थियौं,’ उनले भने। गोरखपुरकै निनाथापा स्कुलमा उनले आठ कक्षासम्म पढे। त्यसपछि भारतीय सेनामा भर्ती भए। सेनामै उनले हाइस्कुल पास गरे।
हाइस्कुल पास गरेपछि इन्जिनियरिङसम्बन्धी तालिम लिए र प्राविधिकका रुपमा काम गर्न थाले। ‘हाम्रो काम भनेको लड्ने होइन, लडाइँभन्दा अघि र पछिको तयारी गर्ने हो। माइन बिछ्याउने, त्यसलाई निष्क्रिय पार्ने, हेलिप्याड बनाउनेजस्ता काम हुन्थ्यो,’ उनले भने, ‘त्यसपछि एक वर्ष सैनिक तालिम गरेर सिपाहीका रुपमा पञ्जाबमा पोस्टिङ भयो।’
सन १९७१ मा भारत–पाकिस्तान युद्ध हुँदा उनी तालिममै थिए। तालिम सकिएपछि पाकिस्तानी सीमा क्षेत्रमा बिछ्याइएका बारुदी सुरुङ हटाउन उनी खटिए।
उनी बढुवा भएर हवल्दार बने। त्यहीबेला अन्टार्कटिका जाने प्राविधिक खोज्दै हेडक्वार्टरबाट पत्र आयो। डिपार्टमेन्ट अफ ओसन डेभेलपमेन्टले सेनालाई पत्र पठाएपछि सेनाको हेडक्वाटरले सबै युनिटमा सर्कुलर गरेको थियो।
उनलाई पनि अन्टार्कटिका जाने हुटहुटी चल्यो। आवेदन दिए।
‘लाखौँ सैनिक भएको भारतीय सेनाबाट ८–१० जना छानिनु चानचुने कुरा थिएन। त्यसमा म पर्नु भनेको पशुपतिनाथकै कृपा थियो,’ भुवनसिंहले भने, ‘अफिसरहरुसँग राम्रो सम्बन्ध भएकाले अवसर पाएको थिएँ।’
छनोट प्रक्रिया भनेको निकै चुनौतीपूर्ण थियो। धेरै चरणको शारीरिक र मानसिक स्वास्थ्य जाँच भयो। ‘त्यसपछि अन्टार्कटिकाको वातावरणमा घुलमिल हुनका लागि उनीहरुलाई हिमनदी भएको ठाउँमा लगेर तालिम दिन थालियो।
भुवनसिंहसहित छानिएको सैनिकहरुले अनुसन्धानरत वैज्ञानिक टोलीको बन्दोबस्तीको काम गर्नुपर्थ्यो।
‘मेरो काम वेल्डिङ र मोटरसम्बन्धी थियो। त्यस सम्बन्धी समस्या आयो भने मैले हेर्नुपर्थ्यो,’ उनले भने, ‘वैज्ञानिकहरुलाई बाहिर जानुपर्यो भने उनीहरुसँग जाने, नमुना संकलन गर्ने काम हुन्थ्यो।’
पहिलो यात्रा
२०४३ मंसिर १२ बाट भुवनसिंहसहितको टोली भारतको गोवाबाट पानीजहाज चढेर अन्टार्कटिकातर्फ लाग्यो। ‘राम्रो मौसम छ भन्ने २४ दिन, नत्र औसतमा २५–२६ दिन लाग्छ,’ यात्राबारे उनले सुनाए, ‘हामी चढेको पानीजहाज निकै ठूलो थियो। त्यसमै चार वटा हेलिकप्टर पनि थियो। हिउँमा चल्ने गाडी, अनुसन्धानमा जानेहरुका लागि आवश्यक सामान, खानेपिने, बन्दोबस्तीका सबै सामान त्यसैमा थियो।’
प्रायः अन्टार्कटिकाको यात्रा नोभेम्बर अन्तिम साताबाट सुरु हुन्छ। डिसेम्बर तेस्रो साता त्यहाँ पुगिन्छ। त्यो बेला त्यहाँ छर्लाङ्ग उज्यालो भइसकेको हुन्छ। हिउँ पग्लिन थालेको हुन्छ। घामपनि माथि आइसकेको हुन्छ। ‘त्यहाँ दुईढाई महिना मात्रै काम गर्ने हो। त्यसपछि फर्किहाल्नु पर्छ नत्र समुद्र जम्न थाल्छ र पानीजहाज हिँड्न सक्दैन,’ उनले भने, ‘टोलीमा ६०–६५ जना थिए। उनीहरु दिन रहुन्जेल अन्टार्कटिकामा बसेर अनुसन्धान गर्ने र रात पर्नुअघि नै फर्किने हुन्थ्यो। तर २५ जना जति चाहिँ अनुसन्धान केन्द्र मर्मतसंभार गर्न त्यहीँ बस्छन्।’
गोवाबाट हिँडेको २६ दिनमा भुनवसिंहको टोली अन्टार्कटिका पुगेको थियो। त्यहाँको दृश्य उनले कल्पना गरेकोभन्दा निकै फरक थियो। ‘हजारौँको संख्यामा पेन्गुइन र सिल हिउँमा पल्टिएका थिए। अर्कै दुनियाँमा पुगेजस्तो भो,’ उनले रोमाञ्चित हुँदै सुनाए।
भुवनसिंहले आफूसँग नेपालको झण्डा र बाग्लुङ बलेवा चौरका माटो लिएर गएका थिए। ‘त्यो मैले त्यहाँ चढाएँ र कामना गरेँ, हे भगवान! नेपालमा सुख र शान्ति होस् अनि हाम्रो अभियान पनि सफल होस्,’ उनले भने, ‘मैले लगेका केही ढाका टोपी साथीहरुलाई उपहार पनि दिएँ।
उनीहरु चढेको पानीजहाज ‘मैत्री’ नामक अनुसन्धान केन्द्रभन्दा २ किमि पर रोकियो र सामान सबै त्यहीँ खसालियो। ‘अनुसन्धान केन्द्रसम्म खानेकुरा, औषधी र मानिसलाई हेलिकप्टरमा हालेर लगियो,’ उनले सुनाए।
उनले सोचेका थिए, अन्टार्कटिका पुगेपछि रमाइलो होला, मोजमस्ती होला। तर, त्यस्तो भएन। ‘पानीजहाजमा हुन्जेल आराम भयो, त्यहाँ पुगेपछि दिनमा १८ घण्टासम्म काम गर्नुपर्यो। दिइएको जिम्मेवारी पूरा गर्नैपर्थ्यो अन्याथा मिसन फेल हुन्थ्यो,’ उनले सुनाए।
घरको यादले सताउँदा
अन्टार्कटिका पुगेपछि भुवनसिंहलाई घरको यादले सताउन थाल्यो। तर, त्यसबेला अहिलेजस्तो सञ्चारको सुविधा थिएन। घरमा फोन गर्न उनले महिनामा ६ मिनेट समय पाउँथे।
‘२०४३ सालमा नेपालमा कस्तो सुविधा थियो बताइरहनु पर्छ र?’ उनले हाँस्दै भने, ‘पहिले आकाशवाणी पठाउँथे, फलानो दिन यति बजे फोन गर्छु भनेर, त्यसपछि फोन गर्थेँ।’
फोनमा कुरा गर्दाको उनको अनौठो अनुभव छ। फोनमा उनी ‘म अन्टार्कटिकाबाट भुवनसिंह विश्वकर्मा बोलेको’ भन्थे तर अपरेटरले नबुझेर ‘ए! अस्ट्रेलियाबाट भुवनसिंह विश्वकर्मा’ भनेर एकडेढ मिनेट खाइदिन्थे।
त्यसपछि उनी दिक्क मान्दै ‘म एकदमै पाताल दक्षिणी ध्रुवबाट बोलेको मेरो परिवारको कोही मानिस आएको छ भने भनिदिनु’ भन्थे।
‘मिसेससँग बात गराइदिन्थे। बात त के हुन्थ्यो र!’ उनी त्यो क्षण सम्झँदै भन्छन्, ‘हेलो भन्नेबित्तिकै रुन थाल्थिन्। आफूलाई पनि भक्कानो छुट्थ्यो। आमा आउँदा सन्चै हुनुहुन्छ भन्ने सोध्यो, बाबु भनेर रुन थाल्नुहुन्थ्यो। नयाँ ठाउँमा पुगेपछि घरको याद बढी आउने रहेछ।’
पातालको बास
अन्टार्कटिकामा भारतको अनुसन्धान केन्द्रमा २५ जना बस्न मिल्नेगरी बनाइएको थियो। ‘५–६ मिटरको वेल्डिङ गरेको पाइपमाथि फायरप्रुफ र वातानुकुलित घर बनाइएको हुन्छ, हावाले घर नभत्काओस् भनेर। तलको हावा तलैबाट र माथिको हावा माथिबाटै जानेगरी मचानजस्तो प्रयोगशाला बनाइएको हुन्छ,’ उनले भने, ‘नत्र हिम आँधीले त्यो भत्काइ हाल्छ नि!’
१२ घण्टाको दिन र १२ घण्टाको रातमा बस्ने बानी भएका मानिसलाई अन्टार्कटिकामा उज्यालैमा सुत्न मुस्किल हुने नै भयो। ‘घाम होइन, घडी हेरेर दैनिकी चलाउनु पर्यो,’ उनले सुनाए, ‘घडीले बिहानको ६ बजे देखायो भने उठ्ने र काममा लाग्ने, रातको ८ बजाएपछि बिस्तरामा जाने।’
घरबाट बाहिर निस्किँदा लगाउने लुगा पनि विशेष हुन्थे। ‘पोलार ड्रेस, फेस मास्क, हुड लगाएर निस्कने हो। अनुसन्धान केन्द्रमा ४, ५, ६ डिग्रीसम्मको तापक्रम बनाएर राख्ने गरिएको थियो,’ उनले भने, ‘सुत्ने कोठामा रेडिएटरको व्यवस्था हुन्थ्यो। तातो पानीले कोठा तताइन्थ्यो।’
भुवनसिंहको मुख्य जिम्मेवारी जेनेरेटर, गाडी चालु अवस्थामा राख्नु थियो। मिसनमा केही वैज्ञानिक र धेरैजसो प्राविधिकहरु थिए। २५ जनाको टोलीमा एक जना भान्से थिए। उनले दुई छाक खाना तयार गर्थे। दुर्ई जना सञ्चार व्यवस्था मिलाउने मानिस थिए। ‘उनीहरुको काम हामीलाई परिवारसँग महिनामहिनामा कुराकानी गराइदिने, दैनिक रुपमा डिपार्टमेन्ट अफ ओसन डेभेलपमेन्टमा प्रतिवेदन बुझाउने गर्थे,’ उनले भने, ‘बाँकी प्राविधिकहरु यो अनुसन्धान केन्द्रलाई चालु राख्नमा खटिन्थे।’
अन्टार्कटिकामा यताबाट लगेका फोहोर फाल्न पाइँदैन। टिनका डब्बा, काँच सबै फिर्ता ल्याउनुपर्छ। त्यहाँ फोहोर डिस्पोज गर्ने जिम्मा पनि भुवनसिंहकै थियो। ‘दिसा बाहिर गयो भने त्यो त वर्षौँसम्म जस्ताको त्यस्तै रहन्छ,’ उनले भने, ‘रातिको दस बजेपछि ट्वाइलेट कसैले प्रयोग नगर्ने भनेर सूचना जारी गरिन्थ्यो। फलामको ट्वाइलेट हुथ्यो, जसमा बर्नर पनि लगाइएको हुन्थ्यो। बर्नर अन गरिदिएपछि आधा घण्टामा जलेर दिसा खरानी हुन्थ्यो।’
त्यो खरानी पोको पारेर पानीजहाजमा राखेर फिर्ता ल्याउने गरिएको उनले बताए।
एक पटक उनी पानी तान्ने पम्प लिन पानीजहाज रोकिएको ठाउँसम्म गएका थिए। अचानक हिमआँधी सुरु भयो। ‘त्यस्तो समयमा दगुर्नु हुँदैन। उभिँदा पनि लडाइहाल्छ। त्यसैले सामान समातेर बसिरहेँ। करिब डेढ घण्टापछि शान्त भयो,’ उनले सुनाए, ‘शरीर जम्ने डरले भित्रभित्रै हातगोडा चलाउने कोसिस गरिरहेँ।’
त्यो दिन उनले भएभरका देवीदेउता र परिवारका सदस्यलाई बारम्बार सम्झिरहे।
अन्टार्कटिकाको बसाइमा सबैभन्दा ठूलो चुनौती नै सुरक्षा थियो। ०४७ सालमा १४ महिना उनी त्यहाँ बस्दा उनले ६ महिनाको रात पनि काटे।
‘अँध्यारो सुरु भएपछि हिमआँधी धेरै आउने। ढाई तीन सय किलोमिटर प्रतिघण्टाको आँधी हुन्थ्यो,’ उनले भने, ‘त्यस्तो बेला अलिकति बाटो यातउता पर्यो भने हराइ हालिन्छ।’
उनका अनुसार अन्टार्कटिकामा नक्सा प्रयोग गरेर हिँडडुल गर्न निकै कठिन छ। ‘त्यहाँ पूरै हिउँ नै हिउँ छ, कुनै ल्यान्डमार्क छैन, नक्सा कसरी ठम्याउने!’ भुवनसिंहले भने।
उसोभए हिँड्ने चाहिँ कसरी त?
‘आफू कतै जाँदा ५–६ फुट अग्लो बाँसमा चम्किलो वस्तु राख्ने। तीन सय मिटरसम्म आँखाले देखिन्छ भने ठ्याक्कै त्यहाँ गाड्ने त्यसैगरी आफ्नो भिजिबिलिटी पुग्ने स्थानमा अर्को गाड्ने र अनुसन्धान केन्द्रसम्म पुग्ने,’ उनले तरिका बताए, ‘यहाँ बाटो बिराउँदाजस्तो ए हजुर सिनामंगल कहाँ हो भन्ने सोध्ने मानिस कोही पाइने भए पो!’
बाटो बिराएर अन्टार्कटिकामा थुप्रै मानिस बेपत्ता भएको र ज्यान गुमाएको उनी बताउँछन्। ‘हामी जानुअघि पाँचौँ अभियान दलका चार जनाको समेत उतै मृत्यु भएको थियो,’ उनले भने।
एक पटक उत्तर तथा दक्षिणी ध्रुवमा फागुमा रङ उठाएको जस्तो देखियो। ‘अरोरा आयो हेर्नु छ भने बाहिर निस्कनु भन्ने घोषणा भयो। म पनि दौडेर बाहिर निस्किएँ। त्यो साँच्चीको गजब्बको दृश्य थियो,’ उनले सुनाए। ‘म्याग्नेटिक इफेक्टले त्यस्तो हुने रहेछ। हिउँदको ६ महिनाको राति यस्तो देखिने रहेछ।’
अन्टार्कटिकामा करिब तीन दर्जन देशले अध्ययन–अनुसन्धान गरिरहेका छन्। अहिले हिउँदमा त्यहाँ एक हजार मानिस बस्छन् भने ग्रिष्ममा त्यो संख्या बढेर पाँच हजार पुग्ने गरेको छ।
यो महादेशका विषयमा बहुपक्षीय सन्धि भएको छ। सन्धिमा हस्ताक्षर गर्ने देशहरुको प्रत्येक पाँच वर्षमा पेरिसमा सम्मेलन हुन्छ। त्यहाँ भएको प्राकृतिक सम्पदाको उपयोग, जलवायु परिवर्तनलगायतका विषयमा सम्मेलनमा छलफल हुन्छ।
‘अन्टार्कटिकामा डेढ किलोमिटरदेखि तीन किलोमिटरसम्म चाक्लो हिउँ थाक छ। त्यो पग्लियो भने समुद्रको सतह ५० देखि ६० मिटर अग्लिन्छ,’ भुवनसिंह भन्छन्, ‘त्यसो भयो भने त समुद्र किनारामा रहेका देश डुबिहाल्छन् नि!’
लोकसेवाका परीक्षार्थीले रट्ने नाम
अन्टार्कटिकामा बसेर उनी गाउँ फर्किए। गाउँघरतिर यो स्थानको बारेमा कुनै जानकारी नभएकाले कसैले उनको खोजीनिति गर्दैनथ्यो। तर, सहरबजारमा भने मानिसहरु उनीसँग कुरा गर्न इच्छुक हुन्थे।
सरकारले अन्टार्कटिका पुग्ने पहिलो नेपाली भनेर सुरुमै घोषणा गरेन। ‘यस विषयमा पूरै छानबिन भयो। बेलायत, भारतीय सेना वा अन्य संस्थाबाट कोही पुगेको थियो कि भनेर अनुसन्धान भयो। कोही पुगेको रेकर्ड नभेटिएपछि बल्ल मेरो नाम घोषणा भयो,’ उनले भने।
त्यसपछि बल्ल मानिसले चाल पाए। गोर्खापत्रले लेख्यो, रेडियो नेपालले भन्यो, बीबीसी, नेपाल टेलिभिजनले उनको अन्तर्वार्ता बजायो। ‘अहिले जस्तो सञ्चार माध्यम थिएनन्। त्यस समयमा कतिले बुझे कतिले बुझेनन् थाहा भएन,’ उनले भने।
त्यसैकारण पञ्चायती व्यवस्थामै उनले राजा वीरेन्द्रसँग दर्शनभेट पाए। अहिले उनको बारेमा डकुमेन्ट्री पनि बनेको छ, ‘नेपालको माटो अन्टार्कटिकामा।’
‘त्यसले गर्दा धेरै मानिसले चिने,’ उनले भने।
उनी अहिले निवृत्त जीवन बताइरहेका छन्। विभिन्न सामाजिक संस्थाहरुमा उनी संलग्न छन्। हिन्दु स्वयंसेवक संघको जिल्ला अध्यक्ष पनि छन्। त्यसैले उनी सरकारी कार्यालय धाइरहन्छन्। सरकारी कार्यालयमा जाँदा उनलाई नचिन्ने मान्छे विरलै भेटिन्छन्।
‘ए तपाईं हो भुवनसिंह विश्वकर्मा, हामीले त लोकसेवामा तपाईंको नाम रटेका थियौँ भन्छन्,’ उनी सुनाउँछन्।
त्यसपछि उनी फेरि अन्टार्कटिकाबारे जिज्ञासाको जवाफ दिन थाल्छन्।
-नेपाल खबरबाट साभार