ओमदेवी मल्ल अन्तराष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य हुनुहुन्छ । राष्ट्रिय सहकारी महासंघको उपाध्यक्ष रहनुभएकी मल्ल सहकारी क्षेत्रको अभियान र आन्दोलनमा स्थापित नाम हो । गोरखामा जन्मिएर समाजशास्त्रमा त्रिभुवन बिश्व बिद्यालयबाट स्नातकोत्तर गर्नुभएका उहाँको सहकारी क्षेत्र प्रतिको समर्पण, सहकारीको आवश्यकता, वर्तमान अभ्यास, अबका चुनौति र अवसरका बारेमा आदर्श अनलाईनकर्मी सिर्जना पन्तले गर्नुभएको कुराकानीको सम्पादित अंशः
सहकारीमा कसरी आकर्षित हुनुभयो ?
मेरो बाबा २४ वर्ष धुवाकोटको प्रधान पञ्च हुनुभयो । सामाजिक काम गर्न म मेरो बुवाबाट प्रेरित भएको हो । गाउँमा जसलाई समस्या परेपनि हाम्रोमा आउने । बुवाले उहाँहरुलाई सहयोग गर्ने । मैले सानैबाट त्यही देखे र सिके । मैले सेवा गर्नुपर्छ भन्ने भावना मेरो बुवाबाट सिकेको हो । सहकारी भन्दा पहिले म गैरसरकारी संस्थामा थिए । आईए पढ्दा म ओरेक भन्ने संस्थामा पुगेको थिए । त्यहाँ पुग्दा एउटा महिलाले पीडामा परेका कति महिलाहरुको उद्धार गरेको देखे । त्यति ठुलो सामाजिक काम एउटा महिलाले गरेको देखेपछि मलाई लाग्यो, हो हामीले पनि गर्न सकिन्छ । क्रियटिभ ओमन नेपाल भन्ने संस्था खोलेर त्यसको फाउण्डर भएर काम गरे । २०५५ सालमा सहकारी खोल्ने निकै होडबाजी चलेको थियो । त्यो समयमा २५ जना मिलेर हामीहरुले रिलायवल फाइनान्स सहकारी खोल्यौं । त्यसमा पनि मैले सञ्चालकको रुपमा प्रवेश गरे । २०५८ सालसम्म आईपुग्दा त्यो सहकारी बन्द हुने अवस्थामा आएको थियो । माधव अर्याल त्यो सहकारीको अध्यक्ष हुनुहुन्थ्यो, उहाँ अहिले वितेर जानुभयो । उहाँले मलाई मेरै घरमा आएर ओमदेवि बैनी तपाईले यो संस्था बचाई दिनुप¥यो भनेर भन्नुभयो । २०५८ सालमा काठमाण्डौबाट १ सय ५० भन्दा बढी सहकारी बन्द भएका थिए । त्यो समयमा अर्काे बन्द हुन लागेको सहकारीको नेतृत्व सम्हाल्न पुगे । ३५ लाख रुपैया सबैसँग उठाएर त्यो सहकारी चलाउने प्रणका साथ म गए । त्यो समयमा विहान कार्यालय खोलेदेखि बन्द गर्ने समय सम्म पैसा निकाल्नेहरुको लाईन हुन्थ्यो । विहान ८ देखि साँझ ६ बजे सम्म कर्जा उठाउन हिडे । तीन महिना भित्र २९ लाख भन्दा बढी डुबेको कर्जा उठाईसकेको थियो । बास्तवमा भन्ने हो भने त्यो समयमा म रहरमा होइन, बाध्यताले सहकारीको नेतृत्वमा पुगेको थिए । आज मलाई के लाग्छ भने त्यतिबेला म एउटा संस्था बचाउन गएको थिए, पदको लागि गएको थिईन । त्यस कारण पनि म सहकारीमा आज यहाँ सम्म पुगेको छु जस्तो लाग्छ । मैले पितालाई पनि सम्झन्छु ।
यस क्रममा धेरै महिला, धेरै पुरुषसंग काम गर्नुभयो होला । सहयोग÷असहयोग अनुभव कस्तो रह्यो ?
हो, आज सम्म सहकारीको जिल्ला तहदेखि राष्ट्रिय र अन्तराष्ट्रिय स्तर सम्म पुग्दा धेरै मानिसहरुसँग काम गरे । असहयोगको कुरा नगरौं, त्यो सम्झन पनि किन प¥यो र ? सहयोग धेरैले गर्नुभएको छ । त्यो समयमा एक जना ओमदेवि भन्ने महिलाले मरेको सहकारी बिउझायो रे भनेर मेरो नाम धेरै ठाउँमा सुनिएछ । म भर्खर २४ वर्षको थिए । त्यो समयमा राष्ट्रिय सहकारी संघ थियो । दिपक प्रकाश बास्कोटा त्यसको अध्यक्ष हुनुहुन्थ्यो । उहाँले मलाई बोलाएर तपाई अगाडी बढ्नुस भनेर भन्नुभयो । त्यसपछि डिभिजन सहकारीको हाकिम केशवबहादुर थापा, लक्ष्मण थापा, केबी उप्रेती सरले मलाई बोलाएर आमन्त्रित सदस्यमा राखेर सहकारीको बाटो थप सहज बनाई दिनुभयो । राष्ट्रिय सहकारी विकास वोर्डमा मलाई नेपाल सरकारले विषेशज्ञ सञ्चालकको रुपमा नियुक्ति ग¥यो । त्यसमा पनि म पहिलो महिला थिए । २०६१ सालमा भारतमा डिप्लोमा इन को–ओपरेटिभ एजुकेशन म्यानेजमेन्ट कोर्ष गर्न नेपाल सरकारलाई पहिलो पटक भारतले कोटा दिइएको थियो । त्यो समयमा सहकारी पढ्ने भन्ने थिएन, कोही भएन । साढे तीन महिना महिले कहिल्यै घर नछोडेको, मेरो ६ बर्षको बाबु थियो । उसलाई छोडेर त्यहाँ गएर पढेर आए । विभिन्न देशका ३५ जना त्यो कोर्षको लागि भारत पुगेका थियौ । मलाई नेपालबाट आएपछि देशको इज्जत राख्नुपर्छ, बेइज्जत हुन्छ की भन्ने लागेर साथिहरु सुतेपछि पनि रातको १ बजे सम्म पढ्थे । मेरो बिशिष्ट श्रेणी आएको थियो । मैले त्यो दिल्लीमा रहेको भारतको राष्ट्रिय सहकारी महासंघको होस्टेलमा आज पनि माइतीको माया पाउँछु ।
आँफु स्थापित हुनको लागि त्यही किसिमको मेहेनत गर्नुपर्छ भन्छु मैले । म धेरै खट्ने, महिलाहरुलाई कस्तो अवस्थामा हेप्छन् त भनेर हेर्ने र हेप्ने अवसरनै नदिने । जस्तै कुनै कार्यक्रम, तालिम, बैठक प¥यो भने म सबैभन्दा पहिले पुग्थे । कार्यक्रम सकिने समय सम्म बस्ने गर्थे । त्यसैले यो महिला चाहिन्छ है भनेर मलाई सबैले सहयोग गर्नुभयो । तर मैले असहयोग कहाँ निर पाए भने पुरुषहरुले आफु भन्दा एक स्टेप तल हुँदा सम्म सहयोग गर्नुहुँदो रहेछ । मेरो जीन्दगीमा मैले भोगेको कुरा जब म त्यही पुरुष संग एउटै पदमा, एउटै तहमा प्रतिस्पर्धा गर्ने स्थानमा पुग्छु । कहि न कहि असहयोग गर्ने, दबाउन खोज्ने र प्रतिस्प्रर्धीको रुपमा हेर्ने गर्नुहुँदो रहेछ । भलै त्यो पुरुष भन्दा हामी सक्षम किन नहोउ ।
सहकारी क्षेत्रमा लागेर अहिले पछि फर्किएर हेर्दा के पाए जस्तो लाग्छ ?
हजुर, यो क्षेत्रले मलाई धेरै दिएको छ । मेरो बाबा चिना हेर्नु हुन्थ्यो । उहाँले म जन्मने वित्तिकै भन्नुभएको रे, यसले बिश्वमा आफ्नो नाम चिनाउछे । यसको नाम ओमदेवी राख्ने । मेरो बाबा जहिले भन्नुहुन्थ्यो यो विश्वकै देबी हुन्छे । मलाई कतिले भने यस्तो पुरानो नाम ओमी राख, अरु नामहरु पनि रेफर गर्नुहुन्थ्यो । तर मैले मेरो बुवाले राखेको नाम म उहाँलाई श्रद्धा गर्छु यहि नाम ठिक छ भन्थे ।
म सहकारी पढ्ने पहिलो, सहकारी वोर्डमा विषेशज्ञ सदस्य । त्यसमा पनि पहिलो महिला, सहकारी महासंघको पहिलो महिला सञ्चालक, सहकारी महासंघ जन्मेको १७ वर्ष पछि म र प्रभा कोइराला दिदी पहिलो पटक महासंघमा पुगेका हौं । त्सपछि महासंघमा बनेको पाँच जनाको कार्यकारी बोर्डमा पनि पहिलो महिला, त्यसपछि म पहिलो महिला उपाध्यक्ष भए । सहकारीकै नेतृत्व सहकारीको तर्फबाट माननीय बन्ने अवसर प्राप्त गरे । ६०१ जना माननीय मध्ये मैले पनि देशको संविधानमा हस्ताक्षर गरेको छु । सहकारीको सबै भन्दा माथिल्लो निकाय अन्तराष्ट्रिय सहकारी महासंघ जसको ग्लोबल बोर्ड सदस्य भन्छ । त्यो भन्दा माथि सहकारीको कुनै निकाय छैन । त्यसमा आज सदस्य भएर काम गरेको छु । यो भन्दा अरु त के पाउँनु छ र ? गुमाउन भने धेरै कुरा गुमाएको छु । जिन्दगीमा सधै खुसी मात्र आउँदैन, अप्ठ्यारा पनि आउँछन् । अरुले सहकारीमा लागेर करोडौं कमाए भन्छन् तर करोडौ गुमाउने मान्छे मध्येको म हुँ । सहकारीमा आएर मैले आर्थिक कुरा गुमाए हुँला । देशका हरेक कुनामा नाम र माया कमाएको छु ।
सहकारी महासंघमा तपाईको कस्तो भुमिका छ ?
मेरो भुमिका र योगदान मैले भन्दा पनि अरुले मुल्याङ्कन गर्ने हो । पहिलो पटक म सञ्चालक भएर आउदा भाडामा महासंघको भवन थियो । मेरो आदरणीय अध्यक्ष केशवप्रसाद बडालले हाम्रै पालामा भवन बनाउनु पर्छ भन्ने सपना देख्नुभयो । त्यसपछि नेपाल सरकारसंग लविङ गर्नेदेखि जग्गा ल्याउने, बजेट ल्याउने काममा सपोर्ट गर्न कुनै कसर छोडिन । उहाँको सपना मेरै सपना हो जस्तो मानेर काम गरे । सहकारी जन्मेको ५८ वर्ष सम्म देशमा सहकारीको महासम्मेलन गर्न सकेका थिएनौ । तर हामीहरुले पहिलो पटक सहकारी महासम्मेलन ग¥यौं । त्यसमा आर्थिक संकलनदेखि सम्मेलन सफल पार्न ठुलो भुमिका खेले । सहकारी महासंघमा गाडी ल्याउनदेखि अन्र्तरािष्ट्रय सम्बन्ध स्थापना गर्ने, अन्तराष्ट्रिय हरेक मञ्चहरुमा नेपालको दरिलो प्रतिनिधित्व गर्ने काम गरे । राष्ट्रिय सहकारी महासंघको अध्यक्ष त मेरो आदरणिय नेता र सहकारीको पिता हुनुभयो । उहाँपछि राष्ट्रिय सहकारी महासंघलाई यहाँ सम्म ल्याईपु¥याउन दोस्रो योगदान मेरो छ भनेर म दावाका साथ भन्न सक्छु ।
अन्र्तराष्ट्रिय सहकारी महासंघमा पनि हुनुहुन्छ । यसको काम भुमिका के हो ? के गर्छ ?
अन्र्तराष्ट्रिय सहकारी महासंघले बिश्वमा रहेका ११० वटा देशलाई सदस्य बनाएको छ । यि देशहरुका ३ सय १७ वटा संस्था अन्र्तरािष्ट्रय सहकारी महासंघका सदस्य छन् । नेपालको राष्ट्रिय सहकारी महासंघ, कृषि केन्द्रिय सहकारी संघ, बहुउद्देश्यीय केन्द्रिय सहकारी संघ, राष्ट्रिय सहकारी बैंङ्क सदस्य छन् । र राष्ट्रिय सहकारी विकास बोर्ड एशोसिएट छ, यसको भोटिङ राइट हुँदैन । यसको मुख्य काम भनेको बिश्वभरीका सहकारीकर्मीलाई जागरण गर्ने, सहकारीलाई सक्रिय बनाउने, सहकारीका सिद्धान्तहरु, नियम कानुन अनुसार चल्नको लागि प्ररित गर्ने काम गर्छ । त्यसमा १५ जनाको सञ्चालक र एक जना अध्यक्ष हुन्छ । यसको प्रत्यक्ष निर्वाचन हुन्छ । पछिल्लो समय अष्टे«लिया र न्युजिल्याण्डलाई पनि संगै राखेर एसिया प्यासिफिक महादेश, अफ्रिका महादेश, युरोप महादेश र अमेरिका महादेश गरि चार वटा महादेशको अध्यक्ष अन्र्तराष्ट्रिय सहकारी महासंघको पदेन उपाध्यक्ष हुन्छ । अरु विभिन्न फरक फरक क्षेत्रगत संस्थाहरु छन् । उनिहरुको महादेश महादेश विच निर्वाचन हुन्छ ।
तपाई अन्तराष्ट्रिय सहकारी महासंघको ग्लोबल वोर्ड सदस्य हुनुहुन्छ, कसरी पुग्नुभयो ? यहाँको प्रतिनिधित्वले नेपाललाई के फाइदा हुन्छ या यहाँको भुमिका के हुन्छ ?
म माननीय भइसकेको मान्छे । मेरो एउटै मात्र भनाई छ आरक्षण एक पटक मात्र दिनुपर्छ । अर्काे पटक त्यही पदको लागि आफु योग्य बन्नुपर्छ न की फेरी पनि आरक्षण नै दिउँ । म पहिलो पटक आरक्षणबाट माननीय भए, दोस्रो पटक मैले टिकट मागेको थिए तर पाईन । त्यसपछि मलाई लाग्यो अरक्षण चाहिदैन म मेरै क्षेत्रमा काम गर्छु । त्यो समयमा मैले मेरो अध्यक्ष ज्यू, अन्र्तराष्ट्रिय, राष्ट्रिय सहकारी महासंघमा मताधिकार रहेका अन्य चार वटा सदस्य संस्थाहरुसंग म आइसिएमा जान्छु हजुरहरुले सहयोग गर्नुप¥यो भने । नेपालबाट आइसिएमा जम्मा २३ भोट छ । अनि एक जना महिला मान्छे उठ्छु भन्नु अचम्मको कुरा भयो । एसिया प्यासिफिक रिजनको रिजनल डाइरेक्टरलाई म उठ्न चाहन्छु के गरौं भने । उहाँले तिमिले नजिते पनि ओमदेवी मल्ल भनेर चिन्छ, उठ्न भन्नुभयो । मलेसिया, इरानले चार पटक हारी सक्यो, भारतले अहिले सम्म जित्या छैन, यदी यसपटक पराजित भए पनि अर्काे पटकलाई सजिलो हुन्छ भन्नुभयो । मैले उहाँलाई भने म जित्छु भन्नेमा ढुक्क छैन तर मैले मेरो नाम, मेरो देशको नाम चिनाउछु । सबैले मलाई सहयोग गरेर प्रतिनिधी पठाउनु भयो । मेरो लागि त्यो समान्य कुरा थिएन । नेपालमा सहकारी महासम्मेलन गर्दा ड्याम पोलिन ग्रिनलाई प्रमुख अतिथी बनाएका थियौं । उहाँ नेपाल बस्दा म उहाँसंगै बस्ने, उहाँलाई घुमाउने मौका पाएको थिए । उहाँलाई मैले इमेल पठाए । म यसरी उठ्दै छु हजुरको साथ चाहियो भनेर । तत्कालिन आइसिएको अध्यक्ष मोनिक हुनुहुन्थ्यो । उहाँलाई हात जोडेर भने, मलाई यहाँ आएर काम गर्ने ईच्छा छ । हजुरहरु यहाँ सबै युरोपको महिला हुनुहुन्छ मलाई एसियाबाट उठाएर सहयोग गर्नुप¥यो । हामीहरुले हाम्रो देशको संविधानमा सहकारी देशको अर्थतन्त्रको तीन खम्बा मध्ये एक खम्बा भनेर राख्न सफल भएका थियौ । अन्र्तराष्ट्रिय जगतमा नेपालको संविधानमै सहकारी राख्यो रे भन्ने राम्रो सन्देश गएको थियो । १०५ देशका २६ जना उम्मेदवार थियौं । सबैले सबैलाई चिन्ने कुरा भएन । मुख्य कुरा भाषण हुँदोरहेछ । तत्कालिन एसिया प्यासिफिकको अध्यक्ष लि ले एसिया प्यासिफिकको बैठकमा ओमदेवीलाई भोट दे भनेर भनिदिन्छु तर तेरो हार जीत तेरो भाषणमा निर्भर हुन्छ भनेर भन्नुभयो । उहाँले मलाई यस्तो भाषण देउ, जसले गर्दा तिमीलाई सबैले खोजेर भोट दिउन् । मैले मेरो श्रीमानलाई त्यो कुरा भने नेपालको संविधानमा सहकारीलाई राख्न मैले भुमिका खेले, सहकारी ऐन ल्याउन मैले ठुलो भुमिका खेले, महिलाहरुलाई नेतृत्व तहमा ल्याउन भुमिका खेले, क्म्न् को गरिबिको अन्त्य गर्ने कुरा, महिला पुरुष बराबरीको कुरा जस्ता कुराहरु छन् त्यसैले म यो ठाउँमा छु मलाई भोट देउ भनेर दुई मिनेटको भाषण लेखिदिनुभयो । मलाई जित्छु भन्ने थिएन । दुई मिनेटमा त्यो भाषण गरे । पछि भोट राखियो र घोषणा भयो । मैले जिते । अनि त म यस्तो रोए, मलाई सपना जस्तो लाग्यो । इरान, अमेरिका, पोल्याण्ड जस्ता देशहरु हारिरहेका छन् ।
जिल्ला, राष्ट्रिय हुँदै अन्तराष्ट्रिय स्तर सम्म विभिन्न चुनौतीहरु झेल्दै जितेर आउनुभयो । हाम्रै देशको राष्ट्रिय सहकारी महासंघ जसमा तपाई उपाध्यक्ष हुनुहुन्छ, यसको निर्वाचनको समय नजिकिदै छ, तपाईको दावेदारी रहला नि ?
जतिवेला मैले सहकारीमा लागे त्यही बेलादेखि मेरो एउटा सपना थियो, राष्ट्रिय सहकारी महासंघको अध्यक्ष बन्ने । देश विदेशका विभिन्न सहकारीका आन्दोलन, तालिम, शिक्षा लिदैं गर्दा मैले २००८ मा नै म एक दिन राष्ट्रिय सहकारी महासंघको अध्यक्ष बन्छु भनेर प्रतिवद्धता गरेको थियो । प्रतिवद्धता मात्र होइन, अब मैले अध्यक्षको दाबेदारी दिन सक्ने गरि आफुलाई उभ्याउनु पर्छ भनेर त्यही किसिमको काम गर्दै आए । मैले कहिलै कसैलाई महिला हो भन्ने काममा भान हुन दिइन । देशमा मात्र होइन विदेशमा पुग्दा पनि देशको नाम उचो पार्ने गरि काम गरेर सम्बन्ध स्थापित गरेर आए । अहिले हाम्रो अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष भन्ने कोटा छ । यो कोटा पनि हामीहरुले नै ल्याएको हो । अध्यक्षमा मेरो पनि इच्छा नहुने त कुरै छैन । एक पटक नेपालको सहकारीलाई, राष्ट्रिय सहकारीलाई हाक्न पाउँ भन्ने इच्छा र सपना छ । मैले एक पटक मात्र यो अवसर पाए भने नेपालको सहकारीको अभियानलाई फरक स्थानमा पु¥याउने गरि नेतृत्व दिने मेरो सपना छ, मेरो चाहना छ । र म अध्यक्ष पदको लागि योग्य छु भन्ने पनि मलाई लाग्छ । तर समयको माग हुन्छ । समयको मागले कसको लागि कुन पद निर्माण गर्छ त्यो फरक कुरा हो तर इच्छा त अध्यक्ष हुने नै छ ।