बागलुङ, लगानी बहस र अपेक्षा

सम्पादकीय
सम्भवतः नयाँ सोच अनुरुपको लगानी बहस आज पहिलो पटक बागलुङमा हुँदैछ । बागलुङ उद्योग वाणिज्य संघले महोत्सवको पुर्वसन्ध्यामा बिहीबार आयोजना गरेको यो बहस निश्चय पनि सिंगो जिल्लाका लागि अर्थपूर्ण हुन सक्छ । देशभरका उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय टिम, सफल व्यवसायी र बैंर्कस बहसमा सामेल हुँदैछन् । महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष तथा बागलुङमा जन्मिएर सफल व्यवसायीका रुपमा राष्ट्रिय रुपमा उदाएका चन्द्र ढकाल, भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङ मुख्य वत्ताका रुपमा रहनुहुनेछ भने कार्यक्रमको सहजिकरण बागलुङमै जन्मिएर प्रभू बैंकको प्रमुख कार्यकारी अधिकृत रहनुभएका अशोक शेरचनले गर्नुहुने कार्यक्रम छ । यो बहस सर्वाधिक चासो र जिल्लावासीका लागि महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

लगानी जिल्लामा जरुर छ । यसका लागि हाम्रो सोच, वर्तमान अभ्यासहरु कस्ता छन् ? लगानीमैत्री बातावरण हामीकहाँ छ ? यहाँ सफल र स्थापित भएका उद्योगी व्यवसायीहरुले जिल्लामा हाल सम्म कहाँ कहाँ के केमा लगानी गरेका छन् ? कति रोजगार र स्वरोजगार सिर्जना गरेका छन् ? लगानी बहसमा राष्ट्रिय स्तरका व्यक्तिहरु भए पनि जिल्लाको यहाँको बस्तुगत धरातल र यथार्थतामा आधारित भएर भयो भने मात्र त्यो प्रभावकारी हुन सक्छ । हो, अहिले राष्ट्रिय रुपमा सफल भएका उद्योगी व्यवसायीका अनुभव, भोगाई, सिकाई हाम्रा लागि प्रेरणादायी हुन्छन् नै । अहिलेको लगानी बहसमा त्यतिले मात्र पुग्दैन । प्रेरणादायी अनुभवका साथै जिल्लास्तरमा बागलुङमा उर्जामा केही लगानी देखिन्छ । त्यस बाहेकको अरु क्षेत्रमा उल्लेख्य लगानी कतै देखिदैन, भेटिदैन । जिल्लाको पर्यटन प्रर्वद्धन र व्यापारमा ठुलो अर्थ राख्ने गरि निर्माण गरिएका सर्वसिद्धिधाम पञ्चकोट र शालिग्राम संग्राहलय करोडौं लागतमा तयार भए पनि त्यो स्वामीहरुको पहल र भुमिकाबाट दानको जगमा निर्मित गन्तव्यहरु हुन् । यो बाहेक अरु क्षेत्र र बिषय हेर्ने हो भने दृश्य र यथार्थ केही निराशाजनक अवस्था अवश्य देखिन्छ ।

बागलुङ भन्नासाथ सदरमुकामका हिसावले बागलुङ बजार चिनिन्छ या यो स्वभाविक रुपमा आउँछ । तर, सदरमुकामको चहल पहल र व्यापार दैनिक घट्दो क्रममा पुगेको व्यवसायी गुनासो गर्छन् । बिगतको तुलनामा मुलुक संघीयतामा प्रवेश गरे पछि सबै साविकका बजार र सदरमुकामहरुले यस्तो नियति त स्वभाविक भोगिरहेका छन् नै । यसबीच पनि अब लगानीको बहस सही सोच र ढंगले अगाडी नबढाउने हो भने बजारको भविष्य बिस्तारै कमजोर बन्दै जाने निश्चित छ । किनकी जिल्लाको पश्चिम बुर्तिबाङ, खरबाङ, ढोर क्षेत्रका बासिन्दाको जिल्ला मुकामसँग होइन, बुटवलसँग बढ्ता साइनो सम्बन्ध गासिएको छ । त्यस तर्फ बिस्तारै गलकोट क्षेत्र समेत अभ्यास सहित आकर्षित छ । उता, दक्षिण बरेङ पनि गुल्मी हुँदै उतै सहज अनुभव गर्ने अवस्थामा छ । बलेवा भुगोल र दुरीका हिसावले छिमेकी जिल्ला पर्वतसँग निकट र सहजतामा छ ।

अब बाँकी बागलुङ नगरपालिका, काठेखोला र जैमिनीको केही वडाको आगमनमा बजारको भविष्य निर्धारित छ । यो अवस्थामा जिल्ला सदरमुकाममा नयाँ लगानी सम्भावना, अवसर र आकर्षण खोज्नुपर्ने एउटा बाध्यता छदैछ । मुख्यतः अहिलेको बहस समग्र जिल्लाले गर्व र अपनत्व महुशुस गर्ने लगानी क्षेत्रका पहिचान, सम्भावना, त्यसका लागि हाम्रा सोच शैली, सहकार्य र समन्वयको जरुताबारे बोध हुनेछ । यो लगानी बहस औपचारिकतामा मात्र होइन, जिल्लाबासीलाई केही नयाँ उत्साह र लगानीमैत्री बातावरण सिर्जना गर्ने र त्यसको शुरुवात आजकै दिन बन्ने सन्दर्भमा पनि कोशेढुंगा बन्न सकोेस् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *