बागलुङ महोत्सव भव्य बनोस्

सम्पादकीय
बागलुङ महोत्सव आजदेखि बागलुङ बजारमा शुरु हँुदैछ । बागलुङ उद्योग बाणिज्य संघले यस महोत्सवलाई गण्डकी प्रदेश स्तरिय औद्योगिक व्यापार मेलाको रुपमा पनि मनाउने उद्धेश्य राखेको छ । यो यस कारण की महोत्सव जिल्ला स्तरिय होइन, यसको अपनत्व सिंगो गण्डकी प्रदेशलाइ गराउने ध्ये निहित हुनुपर्छ । यसको सन्देश गण्डकी प्रदेश सहित राष्ट्रिय अन्र्तराष्ट्रिय रुपमा फैलाउने अभिप्राय आयोजकको हुनुपर्छ । शुक्रबारदेखि शुरु हुने महोत्सव पुस २१ गते सकिनेछ । अवधिका हिसावले यो महोत्सव निकै लामो देखिन्छ । यो अवधि लामो सकसपूर्ण नभई सम्पन्न भयो भने मात्र बागलुङ महोत्सव सफल हुनेछ ।

महोत्सवमा कला, सँस्कृतिको संरक्षण, आन्तरिक तथा बाह्य प्रर्वद्धन मुख्य नारा छ । यस पटकको बागलुङ महोत्सवको बिशेष कार्यक्रम नेपालका प्रतिष्ठित सफल व्यवसायीहरुको आगमनमा लगानी बहस गरिएको छ । जुन पहल र प्रयासले सार्थकता पाउन सके महोत्सवको सबै भन्दा ठुलो उपलब्धि र सन्देश यही हुनेछ । यसका अतिरिक्त धार्मिक पर्यटनलाई समेत जोड्ने गरि गण्डकी सभ्यताका अन्तर संवाद पनि आयोजित छ । बागलुङ महोत्सव यस्तो समय र अवसर पारेर आयोजना गरिएको छ की अंग्रेजी नयाँ वर्ष सन्् २०२० र नेपाल पर्यटन भ्रमण बर्ष शुभारम्भको क्षण समेत यही बीचमा छ । जसले नयाँ बर्ष मनाउन जिल्ला बाहिर जाने ठुलो युवा जमातलाई जिल्लामै रोक्नेछ भने बाहिरी जिल्लाबाट समेत उल्लेख्य संख्यामा आगमन हुनेछ । महोत्सवमा बागलुङका १० वटै स्थानीय तहमा उत्पादन प्रर्दशन, जिल्लाको पहिचानको रुपमा रहेका कृषि उत्पादन, कृषि यन्त्र उपकरण र सामग्री सहितको झाँकी, अरु बिभिन्न जातजाति र समुदायको झाँकी, आकर्षणको रुपमा रहने भनिएको छ । नयाँ सम्भावनाको रुपमा पञ्चकोटबाट प्याराग्लाइडिङ, हेलिकप्टर मार्फत पर्यटकिय क्षेत्रको दृश्यावलोकन लगायतका कार्यक्रम पनि छ । राष्ट्रिय कलाकारको प्रस्तुती, दोहोरी, भलिबल लगायतका नियमित प्रतियोगिता त यसपालि पनि निरन्तरतामा छ । यो महोत्सवमा ७० बर्ष भन्दा माथिका ज्येष्ठ नागरिकलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

महोत्सव आयोजनामा सबै भन्दा बढी गुनासो मनोरञ्जनमा सिमित भयो भन्ने सुनिन्छ । यो तथ्य पनि सर्वविदितै छ की मनोरञ्जन बिनाको महोत्सव शुन्यतामा पुग्छ । तर, मनोरञ्जनका नाममा दैनिक कलाकार बोलाएर पालैपालो नाचगान मात्र गरेर महोत्सव सक्दैमा त्यो सफल हुँदैन । महोत्सवको अन्र्तय जिल्लाको पहिचान, स्थानीय उत्पादनको प्रचार, प्रर्वद्धन, नयाँ सम्भावना र अवसरको खोजी, त्यस प्रतिको लगाव, प्रतिवद्धता र संकल्पहरु पनि कुन हिसावले अभिव्यक्त भएका छन् । त्यसले भोलीका दिनमा कस्तो खालको बातावरण तयार गर्छ ? समग्रतामा महोत्सव कति सार्थक र अर्थपूर्ण रह्यो ? र त्यसले मुख्य सन्देश के दियो ? भन्ने कुराले महत्व राख्छ । अतः यसपटकको बागलुङ महोत्सव जे उद्धेश्य राखेर आयोजित छ । त्यसलाई प्राप्ति गर्ने दिशामा हामी सबैले हातेमालो गरौं । जिल्लाको पहिचान दिने यो महोत्सवसँग धेरथोर हामी सबैको दायित्व र परिचय गाँसिएको छ । महोत्सव भव्य र सभ्य बनाउन भुमिका खेलौ । महोत्सव सफलताको सतत् शुभकामना।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *