लगानी बहस, सिकाई र सन्देश

सम्पादकीय
बागलुङ सदरमुकाममा अहिले महोत्सव तथा कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला जारी छ । यो समयमा देशभरका ७६ स्थानमा महोत्सव आयोजना भइरहेको तथ्य यसबीच सार्वजनिक भएको छ । यो हेर्दा महोत्सव आयोजना एक किसिमको लहड जस्तो पनि देखिन्छ देशव्यापी रुपमा । तर, महोत्सवले मुलुकको अर्थतन्त्रलाई थप चलायमान र गतिशिल बनाउन कुनै न कुनै रुपमा भुमिका खेलेकै छ । यसका साथै आम रुपमा सम्बन्धित जिल्ला स्थानको प्रचार प्रसार, स्थानीय उत्पादनको पहिचान, प्रर्वद्धन, परम्परागत कला सँस्कृतिको संरक्षण, पर्यटन प्रर्वद्धनमा खेल्ने भुमिका पनि उल्लेख्य छ । यति हुँदा–हुँदै पनि महोत्सव जे उद्धेश्य र अभिप्रायले आयोजना गरिन्छ । त्यो नारा, उद्धेश्य भन्दा बढी मनोरञ्जनमा सिमित भयो भन्ने गुनासो छ । त्यसैले महोत्सवमा परम्परागत सोच, अभ्यास र कार्यक्रम मात्र भन्दा केही भिन्न सोच, पृथक प्रयासहरु आवश्यक देखिन्छ । अहिलेको बागलुङ महोत्सवमा त्यसको केही सुखद शुरुवातका प्रयास भएका छन् । जुन अरु महोत्सव आयोजना गर्ने आयोजकहरुका लागि पनि अनुकरणीय हुन सक्छ ।

बागलुङ महोत्सवका सन्दर्भमा जिल्लामा पहिलो पटक ठूला लगानीकर्ता आर्कषित गर्नका लागि लगानी बहस गरियो । जहाँ पदले ठुला मात्र होइन, सोच, दृढ इच्छा शक्ति र कर्मले व्यवसायिक संर्घष र सफलताबाट उठेका नेपालका सफल ठूला उद्योगी व्यवसायीहरुको सहभागिता रह्यो । बागलुङ उद्योग बाणिज्य संघले “उज्यालो बागलुङ, समृद्ध बागलुङ” विषयमा गरेको बहसले निश्चय पनि एउटा सोचनीय र जरुरी बिषयमा आम उद्योगी, व्यवसायी र सरोकारवालाका बीचमा बहस प्रारम्भ भएको छ । बागलुङ जिल्लामा अनेक लगानीको सम्भावना रहेको व्यवसायीले बताए । तर, मुलुकमा राजनीतिक स्थिरता कायम हुँदा पनि लगानीमैत्री बातावरण बन्न नसकेको गुनासो उनीहरुको थियो । यसका बाबजुद पनि संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहको सरकारले लगानीमैत्री बातावरण, ऐन कानुन बनाए लगानी गर्न इच्छुक रहेको बताए । अहिले राजनीतिक स्थिरता भए पनि तीन तहको सरकारको नयाँ नयाँ कानुनका कारण थुप्रै अड्चन र बाधा भइरहेको व्यवसायीको गुनासो थियो ।

यो बहसले लगानीको बातावरण बनाउन तीन तहको सरकारले कानुनी र प्रक्रियागत झञ्झटमा सुधार गर्नै पर्ने जरुर देखियो । यसका साथै जिल्लाका उद्योगी व्यवसायी र सर्वसाधारणले पनि बुझ्नै पनि गरि व्यवसायीले के संकेत र प्रष्ट गरिदिए भने यहाँको सम्भावनालाई पहिले यहीका व्यवसायीले चिन्नुपर्दछ । पहिलो सम्भावना खोज्ने र त्यसको आधार तयार गर्ने काम यहाँका जिल्लाबासीको हो । सम्भावनाको आधार तयार भए पछि लगानीको सुरक्षित र भोलीको प्रतिफल सुनिश्चित हुने अवस्थामा मात्र ठुलो लगानी भित्रिन्छ, भित्राउन सकिन्छ । ठुला व्यवसायी, लगानीकर्तालाई बोलाउदैमा उनीहरुले नेता, मन्त्रीहरुले जस्तो सम्भव असम्भव सबै बिषयमा पुरा गर्ने संकल्प र प्रतिवद्धता जाहेर गर्दैनन् भन्ने देखियो । यो हाम्रा लागि महत्वपूर्ण सिकाई र सन्देश हो । जसबाट हामीले हाम्रो बजार या जिल्लाको भविष्यका लागि एकै पटकमा कोही आएर गरिदिदैनन् । सबै भन्दा पहिले हामी नै मिलेर गर्नुपर्छ भन्ने निष्कर्ष निकाल्ने ठाउँमा पु¥याएको छ । अधिकाशं मेला महोत्सव मनोरञ्जनमा सिमित भएको गुनासो आलोचना भइरहेको बेला बागलुङ महोत्सवमा जे जसरी जस्तो सोचले लगानी बहस गरियो । तत्काल ठोस उद्घोष र परिणाम नआए जस्तो लागे पनि यसले सुखद शुरुवातको आभाष दिलाएको छ । अब सरोकारवाला सम्वद्ध निकायबाट थप नेतृत्वदायक पहल र भुमिका निर्वाह हुन सक्यो भने जिल्लामा राम्रो लगानीको सम्भावना मार्ग प्रशस्त हुने निश्चित छ । जागरण दैनिकबाट

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *