गण्डकी सभ्यता,मानवीय लापरवाही र दायित्व

सम्पादकीय
हुन त सभ्यता, यसको विकासक्रमका बारेमा लामो बहस हुन सक्छन । तर, यो तथ्य हो की गण्डकी सभ्यता कैयन बर्ष पुरानो सभ्यता हो । विश्वमा सभ्यताको विकास नदीहरुबाटै भएको इतिहास छ । चाहे रोमको सभ्यता होस् या यथेन्स पेरिस होस् वा अरु सभ्यताहरु । ती नदी र यस आसपासबाटै विकास र परिस्कृत हुँदै आएको अध्ययनहरुबाट प्रतित हुन्छ । दामोदर कुण्ड उद्गम भएर बगेको कालीगण्डकी होस् या मुक्तिनाथ मन्दिर परिसरबाट बगेको श्रीकृष्ण नदी मिलेर काली बनेको किन नहोस् ? यो मूल नदीमा सहायक नदीहरु रघुगंगा, म्याग्दी, सेती, मादी, आँधीखोला,बडिगाड,दरौदी, चेपे,मस्याङ्दी, बुढी गण्डकी, त्रिशुली जस्ता नदीहरु मिसिएर गण्डकी हुँदै नारायणी बनेको छ । जुन दामोदर कुण्ड, मुक्तिनाथ देवघाट, गजेन्द्र मोक्ष हुँदै त्रिवेणी धामको वाल्मीको आश्रमको तट सम्मै गण्डकी नामले भारतीय उपमहादीप सम्म पनि प्रसिद्ध छ ।

यो गण्डक या गण्डकी सभ्यताका बारेमा बुझाईमा केही समस्या र अन्यौलता पनि देखिन्छ, भेटिन्छ । गण्डकी सभ्यतामा नदी किनारका पर्यटकीय स्थल, आसपासका बस्ती, बजार, घाट, धार्मिक साँस्कृतिक परम्परा, तिर्थस्थल,यहाँको जीवन पद्धति मुल्य मान्यतालाई उल्लेख गरिएको छ । साथै सभ्यता भित्र धार्मिक, साँस्कृतिक, आर्थिक, सामाजिक, राजनैतिक तथा अन्य बिषय पनि समावेश छन् । दामोदरकुण्डबाट शुरु भई बग्ने कालीगण्डकी नदी शालग्रामका लागि प्रसिद्ध छ । यो शालग्राम बिश्वमा अन्त कतै पाइदैन । मुख्य पौराणिक र धार्मिक ग्रन्थमाको अध्ययन गर्दा पनि पद्य पुराणको पाताल खण्डको बिष्णु अध्यायमा गण्डकी शालग्राम महात्म्यको वर्णन छ । स्कन्ध पुराणको वैष्णव खण्डमा जय विजयले गण्डकी नदीमा स्नान गरेर मुक्ति पाएको उल्लेख छ । श्रीमदभागवतमा पनि गण्डकी नदी शालग्राम शिला, पुलश्त्य, पुलाश्रम, रघुगणको संवाद उल्लेख छ । यसले के दर्शाउछ भने मानव सभ्यताको विकासक्रममा गण्डक सभ्यता एउटा अपरिहार्य बिषय बनेर जोडिएको छ । तर, पछिल्लो समय गण्डकी सभ्यता लोप हुने खतरामा छ । मानवीय लापरवाहीका कारण गण्डकी सभ्यता संकटमा छ । कालिगण्डकी नदिको दोहन, भौतिक संरचना, ढल र फोहोर बिसर्जनको विकल्प, शालग्राम शिलाको चोरी निकासी तथा नक्कली शालग्रामको कारोबार अहिले ठुलो समस्याका रुपमा देखिएको छ ।

गण्डकी सभ्यता लोप हुने अवस्था आउनु दुर्भाग्यको बिषय हो । हामी धार्मिक स्थल मठ मन्दिर खोजी खोजी हिड्छौ, दर्शन गर्छौ, ढोग्छौ । तर, त्यही मानिसहरु हो त्यसरी दर्शन पुजा गरेर घर पुगे पछि या यात्राका क्रममा पनि गण्डकी सभ्यतामा चुनौति खडा हुने फोहोरको ढल नदीमा मिसाउछौ । फोहोरको अन्तिम बिसर्जन गर्ने उपर्युक्त विकल्पको रुपमा अपनाउछौ । प्रत्यक्ष परोक्ष नदी दोहन, शालग्राम चोरी निकासी गर्छौ या यसबारे मुुकदर्शक बनेर हेर्छौै । यो गण्डकी सभ्यता हाम्रो जीवन दर्शनसँग जोडिएको बारे हामी बेखवर जस्ता भएका छौ । अहिले ढिलै भए पनि अभियान शुरु भएको छ । गण्डकी सभ्यता जोगाउने बिषय साझा सरोकार बन्नुपर्छ । हामी सबैले यसमा दायित्वबोध गर्न जरुरी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *