फोटो : मञ्जुल शाक्य
सम्पादकीय
बागलुङमा आयोजित छैठौ महोत्सव तथा गण्डकी प्रदेश स्तरिय कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला सकिएको छ । महोत्सवका बेला र सम्पन्न भए पश्चात यसका सकरात्मक नकरात्मक बिषयका अनेक पाटामा बजारमा चर्चा परिचर्चा शुरु भएको छ । महोत्सव कुन उद्धेश्य र अभिप्रायले आयोजित थियो र यो कुन हद सम्म सफल रह्यो भन्ने बिषयमा धेरैका आ–आफ्ना मत प्रकट भइरहेका छन् । यो स्वभाविक बिषय हो । जे होस्, बजारको गुल्जार घट्दै गइरहेको तिव्र गुनासोका बीच जिल्ला सदरमुकाममा भएको बागलुङ महोत्सवले केही सुखद शुरुवात गरेको छ । केही पृथक प्रयत्नहरु गरेको छ । केही विगतका कमजोरीहरुलाई सुधार गरेको छ । जुन महोत्सवको सकरात्मक बिषय हो ।
महोत्सव पुस ११ मा शुरु भयो र २१ गते सकियो । यो महोत्सव शुरु हुनु र सकिनुमा मात्र सिमित भएन । यस पटकको महोत्सवमा जिल्लामै लगानीमैत्री सोच र बातावरणको खोजी स्वरुप लगानी बहस सम्भवतः पहिलो पटक आयोजना गरियो । जसले धौलागिरी क्षेत्रमै नयाँ तरंग पैदा गराएको छ । यहाँका स्थानीय उद्योगी व्यवसायीलाई लगानीका लागी प्रोत्साहित र थप जिम्मेवार बनाउन पनि भुमिका खेलेको हुनुपर्छ । हामी सधै माग्ने जस्ता भएर प्रस्तुत हुने होइन, यो ठाउँको समृद्धिका लागि सबै भन्दा पहिले जिल्लावासी नै अघि बढ्नुपर्छ भन्ने निश्कर्ष र सन्देश पनि कार्यक्रमले दिएको छ । महोत्सवको पूर्व सन्ध्यादेखि समापनको चरण सम्म गण्डकी प्रदेशका पर्यटन मन्त्रीकै बिशेष आगमनमा कार्यक्रम गरेर समापन गर्नु सम्मको कार्यक्रम व्यवस्थापन राम्रो देखियो । महोत्सव उद्घाटनको बृहत झाँकी ¥याली, गण्डक सभ्यता बहस, अतिथी कलाकारलाई बैंक र चेकबाटै पारिश्रमिक, दुर्लभ शालिग्राम शिला मायाको चिनो लगायतका काम यसपटक चुस्त र पृथक महुशुस गरिए । यसका बाबजुद मञ्चिय कार्यक्रम, महोत्सवका बिबिध गतिविधिको सूचना प्रणालीको फितलो व्यवस्थापन छरपष्ट देखियो । बिगतमा अधिक आलोचना खेप्नुपर्ने प्रवेश पास यसपाली पनि टाउको दुखाईको बिषय बन्यो । उसो त केही नक्कली पास र टिकटले आयोजकलाई आजित बनायो । चुस्त व्यवस्थापन र तयारीको अभावमा महिला लठो तान्नेको बिवादले प्रतियोगिता गोलाप्रथाबाट गराउने बिडम्बना बन्यो । कृषि प्रर्दशनी दोस्रो, तेस्रो दिन पुग्दा सम्म स्वयम् कृषकहरु र प्रर्दशनीको जिम्मेवारी लिएकाहरु पनि व्यवस्थापन र बजेट अभावले अवाक भएको देखियो । अतिथी कलाकारको प्रस्तुती पूर्वको भाषण यस बर्ष पनि दोहोरिरह्यो ।
यति हुँदा हुँदै पनि केही कमजोरी, गुनासो र आलोचनाका बीच महोत्सव भव्य रुपमै सम्पन्न भएको आयोजकको दावी छ । साँच्चिकै महोत्सव अपेक्षाकृत सफल रह्यो त ? यसलाई व्यवस्थापन, उद्धेश्य र उपलब्धिको कसीमा दाजेर हेर्नुपर्छ । यसमा आयोजक र सरोकारवाला बीच यथेष्ट समिक्षा हुनुपर्छ । पर्यटन प्रर्वद्धन, जिल्लाको प्रचार प्रसार, स्थानीय उत्पादनको आंशिक मात्रामा भए पनि पहिचान र प्रर्वद्धन, परम्परागत कला, सँस्कृतिको जगेर्ना, खेलकुद क्षेत्रमा उत्साह अवश्य थपिएको छ । महोत्सवका नाममा दुई अतिवाद समाजमा हावी छ । एउटा महोत्सवले ठुलै समृद्धि नै ल्याउछ र ल्याउनुपर्छ भन्ने भावको अतिवादी सोच र अर्को महोत्सव फगत रंग रमाइलोका लागि आयोजित थियो र त्यसमै सिमित भयो भन्ने सोच व्याप्त देखिन्छ । हामी यि दुवै अतिवादी सोचबाट मुक्त भएर अहिलेको महोत्सवका सकरात्मक पक्षलाई आत्मसाथ गर्दै सुधारात्मक पक्षलाई भोलीका दिनमा थप व्यवस्थित गरेर जान सक्यौ भने मात्र जिल्लामा यस्ता उत्सव महोत्सव कामयावी बन्नेछन् ।
-आजको जागरण दैनिकबाट