हल्लनचोक कहिले सम्म बदनाम ?

तस्विरः बल रोका

सम्पादकीय
हल्लनचोक, अक्सर यो नाम आफैमा अलि नकरात्मक जस्तो आभाष हुन्छ । तर, नेपालका अधिक शहर र जिल्लामा हल्लनचोक भन्ने छ । हल्लनचोकको नामाकरण कसरी गरिए होला ? अनि एक ठाउँ, जिल्ला र शहरमा मात्र होइन, धेरै ठाउँमा चोकको नामाकरण गर्दा हल्लनचोक नै भनेर किन र कसरी गरिए होला ? यो कौतुहलता, खोज र रोचक पाटो बन्न सक्छ । बागलुङ बजारको पनि बीच सडकमा एउटा हल्लनचोक छ । यो चोकका बारेमा पुराना मानिसहरु त अवश्य जानकार छन् नै । अहिलेका उदाउदा पुस्ता भने हल्लनचोकको विगतबारे बेखवर हुन सक्छन् । यो चोक एक दशक अघि विकासको आभा नआएको, केही दुर्गन्धित तर यस चोकमा बजारका तन्नेरीहरुको जमघट हुने ठाउँ । जमघट मात्र होइन, यही जम्मा भएर चुरोट, गाँजा खाने र अधिक लडाइ हुने चोक पनि । साँझमा यो चोक भएर हिँड्न पनि त्रासदीपूर्ण हुन्थ्यो ।

विस्तारै समय फेरियो । समय मात्र फेरिएन । व्यवस्था फेरियो । व्यवस्था मात्र फेरिएन, युवाहरुको तत्कालिन सोच, सँस्कार पनि फेरियो । र आज हल्लनचोक केही सफा छ, निसंकोच निर्धक्क आवत जावतको सहजता र सँस्कार छ । यहाँ पहिले जस्तो न खुलम खुल्ला गाँजा,चुरोट र रक्सी खाने भेटिन्छन् ? न क्षण क्षणमा ग्याङ फाइट गर्ने चुल्ठे मुन्द्रे पुरुषहरु । पुरुष मात्र होइन, एक समय चक्कु ग्याङको रुपमा महिलाहरु पनि खुलम खुल्ला उत्रिन्थे । यस हिसावले अहिले हल्लनचोक धेरै सुधारिएको छ । धेरै सफा छ । चोक आसपासमा व्यवसायको उभारले पृथक रुपमा सुसज्जित छ । यद्यपी, हल्लनचोक अझै बदनाम छ । कारण यो चोकमा बर्खामा त ढल भएर होइन, सडक भएर ढल बग्छ । कुनै खहरे खोला आए जस्तो आभाष हुन्छ सडकमा । अहिले हिउँदमा पनि हल्लनचोकले उस्तै सास्ती र सकस बेहोरिरहेछ । पुसमा परेको सामान्य बर्षाको पनि पानी थेग्दैन ढलले । यो समस्या आजको होइन, बर्षौदेखी यही एकैखालको समस्या हुँदा पनि किन समाधानको ठोस र दीर्घकालिन योजनाको आभास बजाराबासी र पैदलयात्रुलाई हुँदैन ? यसमा स्थानीय सरकारलाई मात्र गाली गरेर सरापेर हुँदैन । यो टोलमाा ढल माथि समेत स्थानीयले घर ठड्याएका छन् । जसका कारण ढल रोकिने र सडक हिलाम्य हुने तथ्य पनि बिर्सिन मिल्दैन । नगरवासी पनि सभ्य र कर्तव्यलाई स्वार्थमा मात गर्ने प्रवृत्ति बिद्यमान छ ।

निश्चित यो पनि सत्य हो की पहिले हल्लनचोकमा जुन समस्याहरुले जति सकस र सास्ती बेहोर्नुपथ्र्यो । त्यति अहिले छैन । पहिलेको तुलनामा सडक ढलान भएका छन् । बर्षामा हिलाम्य र हिउँदमा धुलाम्य हुने दुर्दशामा बदलाव आएको छ । पहिले हिँड्न सिकसिक लाग्ने सडकमा अहिले निसंकोच यात्रा गर्न सकिन्छ । दुर्गन्धहरुको उति धेरै आभाष हुँदैन । तर, ढलको समस्या किन यति बिघ्न देखिरहेको छ ? पहिले जनप्रतिनिधि विहिन अवस्था थियोे, विकासहरु अव्यवस्थित थिए । योजनावद्ध सोच र विकासको चरम अभाव खड्किन्थ्यो । अहिले जनप्रतिनिधि आए पछि पनि उही पुरानो समस्याले किन हल्लनचोक बदनाम छ ? हल्लनचोक मात्र बदनाम होइन, बागलुङ नगरपालिका बदनाम छ । नगरपालिका भित्रको बानपा २ को कार्यालय बदनामित छ । अब अति भइसक्यो । ६० को दशकको खराब परिच बोकेर सुधारिएको हल्लनचोकलाई थप बदनाम नगरौ । बजारको मुख्य क्षेत्रको दीर्घकालिन रुपमा ढल व्यवस्थापन गरेर समस्या समाधान गरौ ।
-आजको जागरण दैनिकबाट

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *