सांसद मनाङे, मति र मिलन

सम्पादकीय
नाम राजीव गुरुङ उर्फ दिपक मनाङे । यो नाम सुन्न साथ तपाईको दिमागमा कस्तो चित्र आउँछ ? अर्थात कस्तो परिचय र छवि आउँछ ? जवाफ भिन्न भिन्न आउन सक्छ । तर, यो निश्चित छ की अधिकांशको जवाफ नेपालको एउटा डन, गुण्डा नाइकेका रुपमा चित्रित भएर आउँछ । यद्यपी मनाङे गण्डकी प्रदेशका सांसद बनेका छन् । हिमाल पारिको जिल्ला मनाङबाट निर्वाचित भएका मनाङेको आम मानिसको बीचमा बसेको विगतको डरलाग्दो छवि र छाया किन अझै बाँकी छ होला ? सांसद भइसक्दा पनि पुरानै सोच र दृष्टिकोणले हेर्दा के उनी माथि न्यायपूर्ण हुन्छ होला ? यो सोचनीय बिषयका बारेमा तर्क बितर्क भइरहँदा सांसद मनाङे फेरी पुरानै बाटोमा हिड्न थालेका हुन् की भन्ने संशय पैदा भएको छ भने मनाङेसँगै एन्फा कास्की अध्यक्ष मिलन गुरुङ पनि उस्तै स्वभाव र शैलीमा जोडिएको घटनाले गण्डकी प्रदेश तरंगित बनेको छ ।

अहिले पोखरामा गण्डकी प्रदेश मुख्यमन्त्री कप फुटबल प्रतियोगिता चलिरहेको छ । आकर्षक राशी सहितको फुटबलमा प्रदेशका ९ टिम सहभागी छन् । कुन जिल्लाका खेलाडी कस्ता छन् र प्रदेशको टिम छनोटमा समेत महत्वपूर्ण अर्थ राख्ने प्रतियोगिताको स्थानीय, राष्ट्रिय मिडियामा मंगलबार उद्घाटन समारोहदेखि नै उति धेरै चर्चा छैन । तर, चर्चा त्यही फुटबल प्रतियोगितामै सांसद मनाङेले प्रतियोगिता संयोजन गरिरहेको फुटबलको सर्वाेच्च संस्था जिल्ला फुटबल सघं कास्कीका अध्यक्ष मिलन गुरुङ माथि गरेको हातपातकै चर्चा छ । जुन दोस्रो सम्म आउदा पनि सेलाएको छैन । अझ बढी मिडियावाजी र चर्चा भइरहेको छ । सांसद मनाङेले मुख्यमन्त्री कप भएकाले आफ्नो जिल्लाबाट एक हप्ता अघिदेखि आएका खेलाडीलाई खान, बस्न र अभ्यास खेलका लागि मैदानको व्यवस्था नगरेको भन्दै झापड हानेको बताएका छन् । एन्फा कास्कीले भने आयोजक र फुटबलको नियमानुसार नै व्यवस्था भइरहेको जिकिर गरेका छन् । बुधवार एन्फा अध्यक्ष मिलन गुरुङले मुलुकी फौजदारी संहिता २०७४ को दफा ११८ विपरितको कसुर हुँदा निजलाई ठाँडै पक्राउ गरी प्रचलित कानुन अनुसार हदै सम्मको सजाय गरी पाउँ भनी प्रहरी समक्ष निवेदन दिएका छन् । सार्वजनिक स्थलमा हातपात भएको, विभिन्न आरोपहरु लगाएर चरित्र हत्या गर्ने काम गरेकोले सुरक्षाको माग समेत गरिएको छ । अब प्रहरीले यसलाई कुन रुपमा हेर्छ ? त्यो भने प्रतिक्षाको बिषय बनेको छ ।

पोखरामा प्रदेशकै मुख्यमन्त्रीको सम्मानका खातिर प्रतिभाशाली खेलाडीको पहिचान र प्रोत्साहनका लागि एउटा फुटबलको महाकुम्भ चलिरहेको बेला जे घटना र चर्चा भइरहेको छ । त्यो सुखद अवश्य पनि छैन । एन्फा कास्की अध्यक्ष खेल शुभारम्भको अघिल्लो दिननै स्पोर्ट हाउसका सञ्चालक माथि हात उठाएको घटनामा मुछिएका थिए । उक्त घटनासँगै एन्फाको आर्थिक अपरादर्शिताका बारेमा धेरै बिषय र प्रश्न उठिरहेको छ । यो बिषयमा थप खोज र वहस जरुर थियो र छ । प्रतियोगिता आयोजनाका क्रममा कमिकमजोरी थुप्रै हुन सक्छन् । त्यसलाई ध्यानाकर्षण र समाधान गर्ने गराउने बिषय र विकल्प अनेक हुन सक्छन् । तर, एउटा सांसदले सार्वजनिक स्थल र समारोहमा जिम्मेवार आयोजक संस्थाको नेतृत्वकर्ता माथि हात उठाउनु सामान्य बिषय हुनै सक्दैन । अहिले पनि सांसद मनाङे आफ्नो कमजोरी स्वीकार्नुको बदला अझ ठुलो स्वरमा कराइरहेका छन् । पुरानै पात्रमा पुरानै प्रवृत्ति देखेर सामाजिक सञ्जालदेखि मिडियामा मनाङेको मति सांसद हुँदा पनि नफेरिएको भन्दै कडा टिप्पणी, समाचार सार्वजनिक छ । यसमा प्रहरी प्रशासनको एक किमिसको मौनता जारी छ । अब भन्नुपर्ने हुन्छ की गणतन्त्रात्मक देशमा पनि उही पुरानो उखान जस्तै ठुलालाई चैन, सानालाई ऐन बाँकी छ ? सांसद भएकैले खुलमखुल्ला सार्वजनिक स्थलमा हातपात गर्ने छुट कदापी स्वीकार्य हुन सक्दैन । सम्बन्धित निकायले घटनाको तथ्यमा पुगेर अनुसन्धान गरोस् र दोषिलाई नियमानुसार कारवाही गर्ने आँट गरोस् । -जागरण दैनिकको सम्पादकीयबाट

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *