सम्पादकीय
भ्रष्टाचार जो कुनै पनि समाज र राष्ट्रको विकासको प्रमुख बाधक तत्व हो । भ्रष्टाचारको अन्त्य र न्युनिकरणका लागि फरक फरक देशमा निकै कडा कानुनहरु पनि छन् । तर, भ्रष्ट आचरण सर्वत्र जारी छ । यो बिश्वव्यापी चिन्ताको बिषय हो । यो नेपाली समाजमा पनि तल्लो तहदेखि माथिल्लो निकाय सम्म टाउको दुखाईको बिषय बनिरहेको छ । कथामा जस्तो रामराज्यको परिकल्पना के अहिलेको आधुनिक समाजमा सम्भव छैन ? निश्चय पनि यो कठिन बिषय र प्रश्न हो । जनतालाई अधिकार सम्पन्न बनाउन अहिले गरिरहेको तीन तहको संघीय अभ्यासमा गाउँ गाउँमा सिंहदरबार होइन, गाउँ गाउँमा भ्रष्टाचार पुगेको गुनासो व्याप्त बन्दै गएको छ ।
भ्रष्टाचार मुलुकमा संख्यात्मक र प्रवृत्तिगत रुपमै बढेको हो की पत्ता लाग्ने क्रम बढेको भन्ने बारेमा अहिले ठुलो बहस छ । सरकार पक्ष भ्रष्टाचारमा शुन्य सहनशिलताको नीतिले भ्रष्टाचारका घटना बाहिर आउने, पत्ता लाग्ने क्रम बढेको दलिल पेश गर्छ भने सत्ता इतरका पक्षले भ्रष्टाचार पछिल्लो समय अझ डरलाग्दो रुपमा बढेको दावी गर्छन् । यही बीचमा नेपाल भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकांकमा ११ स्थान माथि उक्लिएको नयाँ खबर सार्वजनिक भएको छ । यद्यपि, भ्रष्टाचार व्याप्त मुलुकको श्रेणीमा अझै कायमै छ । भ्रष्टाचार नियन्त्रणका लागि क्रियाशिल ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको सीपीआईमा नेपाल ११३ औं स्थानमा छ । विश्व बैङ्कसहित वटा संस्थाका सर्वेक्षणका आधारमा सीपीआई २०१९ मा नेपालले १०० मा ३४ अङ्क पाएको छ । अघिल्लो वर्ष २०१८ मा नेपाल ३१ अंकसहित १२४ औं स्थानमा थियो । सार्वजनिक पदको दुरुपयोगमा भ्रष्टाचार विरोधी निकायहरुको कारबाही, न्यायपालिकाका काम–कारबाही, कर असुली सम्बन्धित निर्णयहरू, सुरक्षा निकायहरु खासगरी नेपाली सेनामा सदाचारको पहल लगायत सार्वजनिक सरोकारका विषयमा नागरिक संस्थाको भूमिकाजस्ता कारणले नेपालको स्कोरमा केही सुधार आएको सर्वेक्षणले ईंकित गरेको देखिन्छ । तर सरकारको भ्रष्टाचार विरोधी प्रतिवद्धता अनुरुप कार्यान्वयन नहुनु, सार्वजनिक क्षेत्र र व्यापार व्यवसायमा भ्रष्टाचार र अधिकारको दुरुपयोग यथावत रहनु, सूचनामा नागरिकको पहुँचमा कमी हुनु, राज्य सञ्चालनमा सीमित समुहको पकड रहनु, राजनीतिक क्षेत्र भ्रष्टाचार नियन्त्रणमा गम्भीर नहुनुजस्ता दीर्घकालीन समस्याहरुमा सुधार नभएका कारण नेपाल भ्रष्टाचार व्याप्त रहेका मुलुकहरूको श्रेणीमै रहेको उसले बताएको छ ।
भ्रष्टाचार बढेको हो या खुलासा हुने र कानुनी कठघरामा पुग्ने क्रम बढेको भन्ने बारे अझै लामो बहस हुन सक्छ । यो समयक्रमले पुष्टि गर्दै जाला । भ्रष्टाचारका घटना बाहिर आउनु र नियन्त्रणमा उल्लेख्य उभार आउनुमा नागरिक सचेतना र जागरण उल्लेख्य देखिन्छ । अब पहिले जस्तो काम भएन, हुँदैन भन्यो भने हस्, हजुर तपाई भनेर नागरिक हिड्दैनन् । सिधा या घुमाउरो भाषामा घुस मागेको प्रष्ट बुझ्न सक्ने ठुलो जमात तयार भइसकेको छ । अर्को तर्फ यस क्षेत्रमा काम गर्ने निकाय पनि विगतको तुलनामा क्रमशः नागरिक प्रति जवाफदेहि र उत्तरदायी बन्न थालेका छन् । जुन सकरात्मक बिषय हो । अहिले नीतिगत र राजनीतिक भ्रष्टाचार ठुलो चुनौतिको रुपमा देखिएका छ । अब यसका बिरुद्ध बोलौ । कदापी मौनता नसाँधौ । हर नागरिक सचेत रुपमा लाग्ने हो भने मात्र भ्रष्टाचार नियन्त्रण सम्भव छ । भ्रष्टाचार नियन्त्रण भयो भने मात्रै हामीले सोचको विकास र समृद्धिले स्वभाविक रुपमा गति लिने बातावरण बन्नेछ ।