समाज, सजगता र सस्तो मृत्यु

सम्पादकीय
मानवीय जीवन अमुल्य छ । यद्यपी जिन्दगी कस्तो बनाउने भन्ने सम्बन्धित मानिसहरुमा निहित हुन्छ । मुल्यवान जिन्दगीको महत्वबोध गरेर बाँच्ने कमी हुन सक्छन् । यद्यपी बाँच्ने प्रयासमा भने सबैजसो हुन्छन् । तर, समाजमा यस्ता पात्रहरु पनि छन् । जो अमुल्य अर्थात मुल्यवान जिन्दगीबारे बेखवर बनेर जीवन मुल्यहिन आफै बनाइरहेका छन् । यसमा लागुपदार्थ, मादक पदार्थ सेवन लगायतका दुव्र्यसनहरुमा फसेर पाउने सकस, त्यसले निम्त्याउने व्यक्ति र परिवारको पीडा, अप्रिय मृत्यु सम्मको लामो दुःखको कथा हुन सक्छ । तर, पछिल्लो समय अप्रिय अकाल र असामयिक मृत्यको श्रृंखला बढ्दो छ । सामान्य सजगता अपनाउदा जोगिन सक्ने बिषयमा हामीले गर्ने साना साना लापरवाहीले हामीले हाम्रा साथीसंगी, आफन्त, अग्रज र शुभेच्छुकहरु गुमाइरहेका छौ । अब यस्तो सामान्य तर गम्भिर दुर्घटना निम्त्याउने बिषयमा चिन्तन किन नगर्ने ?

पछिल्लो दुई दिनमा मात्रै छुट्टाछुट्टै घटना, दुर्घटनामा बागलुङमा चार जनाको मृत्यु भयो । बागलुङ नगरपालिका–१ रामरेखामा घरको छतबाट खसेर १५ महिनाको बालिकाको मृत्यु भएको दुखद खबर सार्वजनिक भयो । छतमा खेलिरहेका नानीको हेरचाह ख्याल आमा र अरु आफन्तले किन गर्न सकेनन् ? उनीहरु आपसी कुराकानीमा व्यस्त थिए ? या टेलिभिजन, मोवाइलमा फेसबुक हेर्न र चलाउनमा ? निश्चय पनि यो हरेक अभिभावकहरुका लागि सोचनीय बनाउने दुर्घटना हो । यति मात्रै होइन, बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–९ बलघाँसमा ट्याक्टर दुर्घटना हुँदा सहचलाकको ज्यान गयो । मृत्युको कारणमा उकालो सडकमा ट्याक्टर रोकेर वट राख्ने क्रममा अचानक गुडेर दुर्घटना भएको प्रहरी भनाई छ । हुन त दुर्घटना भवितव्य हो । पूर्ववत जानकारी नहुन सक्छ । यद्यपी यसमा पनि पछाडी आउन सक्ने जोखिमलाई ध्यानमा राखेर वट राख्ने काम गरेको या गर्न खोजेको भए ज्यान नजान पनि सक्थ्यो । अर्का घटना बागलुङ बजारकै एक होटलको शौचालयमा एक जनाको मृत्यु भयो । होटल गएर शौचालय गएका उनी ननिस्के पछि सोधखोज गर्दा मृत भेटिए । बागलुङ जिल्लाकै जैमिनी नगरपालिका–८ भडकुवामा एक शिक्षक हराएको तीन दिन पछी मृत अवस्थामा भेटिए । यी घटनाका कारणबारे अनुसन्धानले बताउला । तर मृत्यु यति सजिलै र असामयिक किन बन्दैछ ? यो पाटो पनि गम्भिर छ ।

मानिसको जन्मसँगै मृत्यु स्वभाविक छ । यो धुव्रसत्य कुरा हो । मृत्यु अकात्य छ । यो पनि सत्य छ की मृत्यु कतिबेला कसको हुन्छ ? या को कुन घडी, कुन पलमा यमराज कहाँ पुग्छ ? भर्खरै सँगै हासखेल कुराकानी गरेको मानिस पनि एकैछिनमा मृत्युको सामिप्यतामा पुगेको सयौ उदाहरण र दृश्य हर मानिसका अगाडी होलान् । तर, अहिले जे जस्ता घटना दुर्घटना भइरहेका छन् । त्यसको प्रकृति हेर्दा मानिसले सामान्य सजगता नअपाउदा यस्ता अप्रिय मृत्युका खबरहरु सार्वजनिक भइरहेको भन्नुपर्ने र सुन्नुपर्ने अवस्था आइरहेको छ । अब सबैले साना साना बिषयमा पनि ख्याल गरौं । जीवनका जोखिमसँग खेलवाड कदापी नगरौं ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *