खेलसँगै पूर्वाधारमा पनि ध्यान देउ

फाइल तस्बिरः काठेखोला गाउँपालिका-३ धम्जा देउरालीमा आयोजित अध्यक्ष कपको दृश्य ।तस्विरः राम अविरल

सम्पादकीय
बागलुङ सदरमुकाममा मेयर कप राष्ट्रिय फुटबल प्रतियोगिता भव्यताका साथ सकिएको छ । छिमेकी काठेखोला गाउँपालिकामा पनि बिभिन्न बिधाको प्रतिस्पर्धात्मक प्रतियोगिता सहित अध्यक्ष कप भव्य रुपमै सम्पन्न गरिएको छ । गलकोट नगरपालिकाले राष्ट्रिय भलिबल प्रतियोगिता गरेर यसअघि नै पृथक सन्देश प्रवाह गरिसकेको छ । ढोरपाटन नगरपालिकाले मेयर कप भलिबल आयोजना ग¥यो भने बडिगाड गाउँपालिकाले राष्ट्रिय स्तरको आइटिएफ तेक्वान्दो प्रतियोगिता आयोजना ग¥यो । अरु स्थानीय तहले पनि बिभिन्न खेल बिधाका प्रतियोगितालाई प्रोत्साहित गर्ने काम गरेका छन् । राज्य स्तरबाट खेल क्षेत्रको उपेक्षा भएको बर्षौदेखिको गुनासो तीन तहको सरकार (केन्द्र, प्रदेश र स्थानीय) ले केही मात्रामा सम्बोधन गर्न थालेको आभाष र अनुभूति भएको छ । यसलाई सकरात्मक शुरुवात मान्न सकिन्छ ।

राष्ट्रिय स्तरमा आयोजना हुने राष्ट्रपति कप होस् या उपराष्ट्रपति कप होस् । प्रादेशिक स्तरमा मुख्यमन्त्री कप होस् या स्थानीय तहमा मेयर कप होस् या गाउँपालिका स्तरमा अध्यक्ष कप होस् । कपको नामका बिषयमा अनेक कोणबाट बहस गर्न सकिन्छ । तर, अहिले जे जसरी जस्ता नामबाट भए पनि खेल क्षेत्रमा बिभिन्न प्रतियोगिताले जुन उभार आएको छ । यो निश्चय पनि खेल क्षेत्रमा समर्पित खेलाडी, अभियन्ता र शुभेच्छुक सबैका लागि सुखद बिषय हो । अब यसरी खेल प्रतियोगिता आयोजना मात्र होइन । केन्द्र, प्रदेश र स्थानीय सरकारहरुले खेल पूर्वाधारमा पनि योजनावद्ध विकास गर्ने तर्फ ध्यान केन्द्रित गर्नुपर्ने देखिएको छ । मेयर कप या अध्यक्ष कप या अरु कुनै बिधाको प्रतियोगिता । नगरपालिका या गाउँपालिका या प्रदेश सरकार आफैले आयोजना गरेर बस्ने की सम्बन्धित निकाय, संघसंस्थालाई जिम्मा दिने बिषयमा पनि बहस जरुरी भएको आवाज प्रतियोगिता आयोजनासँगै उठ्न थालेको छ । हामीकहाँ क्लब, संघ संस्थाबाट पनि प्रतियोगिताहरु त मेला, पर्व, उत्सव, महोत्सवका अवसरमा आयोजना भइरहेकै छन् । तर, यथेष्ट खेलुकदका पूर्वाधार नहुँदाको सास्ती र सकस भने बढ्दो छ ।

खेल मनोरञ्जनका लागि मात्र हो भन्ने बुझाई अब संकिर्ण भइसक्यो । खेल स्वास्थ्यका लागि, राष्ट्रका लागि अपरिहार्य छ । खेलकुदले समाज र देशको पहिचान दिलाउने मात्र होइन, सिंगो देश र नेपालीलाई एकतावद्ध बनाउने सामथ्र्य राख्छ । न कुनै जात, न कुनै धर्म । न कुनै क्षेत्र, न कुनै दल । हर क्षेत्रका मानिसलाई खेलले जोड्ने ल्याकत राख्दछ । समाजमा खेलको महत्व र आवश्यकता विस्तारै बोध हुँदै गइरहेको छ । स्थानीय सरकारले आयोजना गर्ने या लगानी आकर्षक बजेट सहितको खेल प्रतियोगिता उत्साजनक खेलकुदमैत्री बातावरणका लागि सकरात्मक छ । अब खेलकुद प्रतियोगितामा ठुलो रकम खर्चिन सक्ने या तयार भएका सरकारहरुले खेलकुद पूर्वाधार निर्माणमा पनि ध्यान दिनु आवश्यक छ । खेलकुदका क्षेत्रमा बढी सम्भावना भएका यहाँको आवश्यकता र आकर्षण गर्न सक्ने खेल क्षेत्रको पूर्वाधार निर्माणमा तत्कालिन र दीर्घकालिन योजना जरुरी छ । पूर्वाधार निर्माणसँगै खेलाडीहरुको भविष्य सुनिश्चित हुने खालको बातावरण पनि विस्तारै तयार गर्दै जान सकेमा खेल क्षेत्रको विकास र खेल पर्यटन प्रर्वद्धन गर्न सक्ने समेत प्रशस्त सम्भावना हुनेछ । -जागरण दैनिकको सम्पादकीयबाट

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *