दोस्रो चिल्ड्रेन लाईफ कपः चिल्ड्रेन लाईफ र गणेश मावि क्वाटरफाइनलमा प्रवेश

अर्जुन कार्की, बागलुङ ।

दोस्रो चिल्ड्रेन लाईफ अन्तरविद्यालय (+२) स्तरीय फुटबल प्रतियोगितामा आयोजक चिल्ड्रेन लाईफ बोर्डिङ स्कुल र गणेश मावि क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

मंगलबारदेखि बाङ्गेचौर खेलमैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा चिल्ड्रेन लाईफ बोर्डिङ स्कुलले अमृत आदर्श एकेडेमीलाई ६–० गोलअन्तरले पराजित गर्यो ।

चिल्ड्रेन लाईफको लागि अजय थापाले ह्याट्रिक गरेभने राजिव श्रीस, सरोज क्षेत्री र लोकेन्द्र पुनले समान १–१ गोल गरे । निर्धारित ६० मिनेटको खेलमा सुरुवातदेखि आक्रमक खेलेको चिल्ड्रेन लाईफको लागि खेलको १६ औं मिनेटमा राजिव श्रीसले गोल गर्दै खाता खोलेका थिए । पहिलो हाफमा १ गोल गरेको चिल्ड्रेन लाईफले दोस्रो हाफमा ५ गोल गरेको थियो । खेलको ३९ औं मिनेटमा सरोज क्षेत्रीले गोल गर्दै टिमलाई २ गोलको अग्रता दिलाएका थिए ।

खेलको म्यानअफदि म्याच चुनिएका अजय पुनले खेलको ४३ औं, ४४ औं र ५८ औं मिनेटमा गोल गर्दै प्रतियोगिताको पहिलो ह्याट्रिक गर्ने खेलाडी बने । खेलको ६० औं मिनेटमा लोकेन्द्र पुनले गोल गर्दै चिल्ड्रेन लाईफलाई ६–० को जित दिलाउँदै क्वाटरफाइनलमा प्रवेश गराए । यस्तै आजको दोस्रो खेलमा फ्युचर ब्राइचर मावि उपस्थित नभएपछि गणेश मावि बलेवा विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

चिल्ड्रेन लाईफ बोर्डिङ स्कुलको आयोजना र चिल्ड्रेन लाईफ स्पोर्टस् क्लबको सहआयोजनामा आयोजित प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै प्रतियोगितामा विद्यागत तर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड सहित प्रत्येक खेलको म्यानअफदि म्याच, सर्वोत्कृष्ट खेलाडी र उच्च गोलकर्तालाई पुरस्कृत गरिने छ ।

प्रतियोगिता अन्तरगत बुधबार (भोली) पाँच खेल हुनेछन् । बुधबारको पहिलो खेल न्यू ओयसिस विरुद्ध पृथ्वी मा.वि. बलेवा, दोस्रो खेल अमर आदर्श विरुद्ध विद्यामन्दिर मा.वि., तेस्रो खेल सिदार्थ शिक्षा सदन विरुद्ध भिमसेन मा.वि. विहुँ, चौथो खेल गरिमा आवासिय मावि विरुद्ध रुद्रेपिपल मावि र पाँचौं खेल त्रिभुवन मावि विरुद्ध चिल्ड्रेन लाईफ बोर्डिङ स्कुल (रातो)का विच हुनेछन ।

प्रतियोगिताको उद्घाटन बागलुङ नगरपालिकाका नगरउपप्रमुख सुरेन्द्र खड्काले गर्नुभएको थियो । उद्घानपछि बोल्दै खड्काले विद्यालयहरुले विद्यार्थीहरुलाई खेलकुदको क्षेत्रमा पनि अगाडी बढाउनुपर्ने बताउनुभयो । उहाँले खेलले विद्यार्थीहरुमा शारीरिक र मानसिक रुपमा वृद्धि गराउनुका साथै अनुशासित बनाउने बताउँदै विद्यार्थीहरुलाई पढाइको साथै खेलकुद क्षेत्रमा पनि विद्यार्थीहरुलाई अगाडी बढाउनुपर्ने बताउनुभयो । उपप्रमुख खड्काले विद्यालयले गरेको कार्य सह्राहनीय भएकोमा प्रशंसा गरे ।

कार्यक्रममा प्याब्सनका केन्द्रिय सदस्य विजयराज पन्त, जिल्ला शिक्षा समन्वय इकाईका शाखा अधिकृत कृष्णराज रेग्मी, प्याब्सन बागलुङका उपाध्यक्ष दलबहादुर थापाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र आचार्यको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहको स्वागत प्रिन्सिपल नवराज श्रेष्ठ र संचालन शिक्षक गोविन्द रानाले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *