सम्पादकीय
प्रजातन्त्र । आजकाल या अहिलेका राजनीतिकर्मी र नयाँ पुस्तालाई समेत यो शव्दसँग उति धेरै रुची, चासो छैन । र सरोकार पनि सायदै राखिरहेका छन् । किनकी यो देशमा पुरानो त्यो २००७ सालको व्यवस्था बदलिएर बहुदल हुँदै लोकतन्त्र र गणतन्त्र आइसकेको छ । प्रजातन्त्र शव्द या यो मानकसँग जोडिनेहरुलाई यथास्थितिवादी देख्ने भ्रम हामीमाझ हुर्किदो छ । लोकतन्त्र र गणतन्त्र शव्दसँग हाम्रो प्रेम गाढा बनेको छ । लोकतन्त्र या गणतन्त्रसँग नागरिकको प्रेम बढ्नुमा आपत्ति होइन र नहोला । तर, लोकतन्त्र गणतन्त्रलाई प्रेम गर्ने र परिवर्तनकामी हुने होडबाजीमा प्रजातन्त्रको कुर्वानी र त्यस क्रमको त्याग,बलिदान र योगदानलाई बिर्सिन कदापी मिल्दैन ।
प्रजातन्त्र, एक सय चार वर्षको जहानियाँ राणाशासन अन्त्य भएको दिन हो । र देशमा प्रजातन्त्र बहाली भएको ऐतिहासिक दिन हो । फागुन ७ गते नेपालमा यस्तो दिन बनेर आयो, जुन दिन प्रजा अर्थात जनताहरुले स्वतन्त्र भएको महुशुुस गर्ने अवसर र अधिकार प्राप्त गरेको दिन । त्यही प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै देशमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ । प्रजातन्त्र ल्याउनका लागि त्यो राणा शासनको क्रुर समयमा कतिले जीवन उत्सर्ग गरे । कतिको अंगभंग भए । कति बेपत्ता पारिए । कति सकस र सास्तीको जीवन व्यतित गर्न बाध्य बने । यो बेहिसाव छ आजको दिन सम्म । यो क्रम बहुदल या ०५२ को जनयुद्ध या ०६२÷६३ को जनआन्दोलन होस् । हजारौको त्याग, बलिदान, समर्पणबाट हामी आजको नयाँ व्यवस्था र समयमा उभिएका छौ । प्रजातन्त्रका निमित्त प्राण आहुति दिने विर शहिदहरु नेपाली समाजमा अमर बनेर रहिरहेका छन् । आजको व्यवस्था आउनुमा यि अमर शहिदहरुले ज्यानको आहुति दिन तयार भएका साहसिक कथाहरु नेपथ्यमा छन् । राणाशासन बिरुद्ध आवाज बुलन्दित गर्दा या नागरिकलाई तत्कालिन व्यवस्था विरुद्ध सचेत र संगठित गर्दा कैयनले जेलजीवन बिताएका छन् । प्रजातन्त्र या आजको गणतन्त्रमा ती सबैको रगत, पसिना, भावना र साहसको कथा जोडिएको छ ।
प्रजातन्त्रको जगमा यात्रारत रहँदा रहँदै समयको गति, जनताको चाहना, भावना र आवश्यकताले गणतन्त्रात्मक व्यवस्थामा आइपुगेका छौ । फागुन ७ अर्थात बुधवारको प्रजातन्त्र दिवस मनाउदै गर्दा एउटा औपचारिकताको श्रृखंला जस्तो आभाष भयो । जहाँ उत्साह होइन, औपचारिकता र नियमितताको अनुक्रम जस्तो देखियो । सहभागी नेता होस् या कर्मचारी । जनप्रतिनिधि होस् या नागरिक । प्रजातन्त्रको भावना, मर्म, शहिदहरुको बलिदान, त्याग, समर्पण सबै समय क्रमसँगै फिक्का भए जस्ता । यद्यपी, हामी सबैले यो हेक्का राख्नुपर्छ कि हामीले आफ्ना विगतहरु भुल्न सक्छौ तर देशको इतिहास भुल्ने गल्ती गर्नुहुँदैन । समयक्रमले नयाँ राजनेता या पात्रहरु उदाउन सक्छन् तर शहिदहरुका सपना, त्याग र बलिदान कदापी बिर्सिनु हुँदैन । बरु हामी सबैले सरकारले अठोट गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सपना साकार पार्न प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जस्ता व्यवस्था बदल्ने क्रममा ज्यान गुमाएका शहिद, बेपत्ता, अंगभंग घाइते भएकाहरुलाई सम्झिएर सत्कर्म गर्ने हर दिन, हर क्षण संकल्प ग¥यौ भने त्यो कैयन गुणा श्रेयस्कर हुन सक्छ । हामी सबैलाई प्रजातन्त्र दिवसमा जग बिर्सिने होइन, धरातल सम्झिएर काम गर्ने प्रेरणा मिलोस् ।