सँस्कृत भाषाले दिएको सन्तोष

सिर्जना पन्त, बागलुङ ।
बझाङका नरेन्द्र भट्टले घर छोडेको तीन वर्ष भयो । ११ वर्षको उमेरमा बाबाले दशैमा लिन आउँछु, राम्रोसँग पढेर बस्नु भन्दै छोडेर जाँदा नरेन्द्र बलिन्द्र धारा आँशु खसाल्दै रुनु भएको थियो । बुवा नवराज भट्टले बागलुङको कुँडुलेमा रहेको तिरुपति बालाजीधाम मुक्तिनाथ वेद विद्याश्रममा पढ्नका लागि छोडेका नरेन्द्रलाई बेद, सँस्कृत र कर्मकाण्ड भनेको के हो भन्ने थाहै थिएन ।

नरेन्द्र भट्ट


तीन वर्ष अघि ६ कक्षामा भर्ना भएका नरेन्द्र अहिले कक्षा ८ को जिल्ला स्तरिय परिक्षाको तयारी गर्दै हुनुहुन्छ । कथा सुन्न मन पराउने नरेन्द्रको तीन वर्ष पहिलेको शिक्षक हुने लक्ष्य अहिले फेरिएको छ । ‘पहिले ठुलो भएर के हुन्छौ ? भन्दा मास्टर भन्थे’, नरेन्द्रले भन्नुभयो,‘अहिले मलाई हिन्दु धर्मको प्रचारक बन्न मन छ ।’

स्याङ्जाको आधिखोला गाउँपालिका–६ का १३ बर्षिय कृष्ण ढकाल कक्षा ८ मा पढ्नुहुन्छ । तीन वर्ष पहिले मामाघरको हजुरआमासँग वेदविद्याश्रम आइपुगेका ढकालले दुई पटक त यहाँबाट भाग्ने प्रयास समेत गर्नुभयो । ‘हजुरआमाले पढेर पण्डित हुनुपर्छ, ठुलो मान्छे हुनुपर्छ भनेर छोडेर जानुभयो ।’ कृष्ण विगत सम्झदै भन्नुहुन्छ, ‘शुरुमा कोही नचिनेको, उच्चारण गर्नै नजानेको कुरा पढ्दा कठिन भएर भाग्ने प्रयास गरेको थिए, अहिले यही रमाईलो लाग्छ, सँस्कृत भाषा, सँस्कार सजिलो र प्यारो लाग्छ ।’

नरेन्द्र र कृष्ण जस्तै देशका विभिन्न जिल्लाबाट आएका बटुकहरुले पछिल्लो समय सँस्कृत भाषा, वेद र कर्मकाण्डमा आँफ्नो भविश्य देख्न थालेका छन् । हेर्दा साना र नम्र देखिने उनीहरुका ठुला–ठुला सपना र उद्देश्य छन् । भविश्यमा के हुने भनेर प्रश्न गर्दा उनीहरुको जवाफ हुन्छ–पण्डित, ज्योतिष, धर्मको प्रचारक । रुँदै घर छोडेर आएकाहरु उत्साहित हुँदै एसइई पछि बृन्द्रावन गएर पढ्ने इच्छा र सपना रहेको बताउँछन् ।

नेपालमा प्राचिनकालदेखि शिक्षाको रुपमा विकास भएको गुरुकुल शिक्षा अहिले हराउँदै गएको छ । देशका निश्चित स्थानमा मात्र पठन–पाठन हुने सँस्कृत भाषा, कर्मकाण्ड, वेद सरकारले उपेक्षा गरेको कारण विद्यार्थीको आर्कषण हुन नसकेको तिरुपति बालाजीधाम मुक्तिनाथ बेदविद्याश्रमका प्रधानध्यापक शान्ति ज्ञवाली बताउँनुहुन्छ । ‘गुरुकुल शिक्षा सँस्कृत भाषालाई सबै भन्दा पुरानो भाषा र अध्ययन अध्यापन गराउने शैलीको रुपमा लिइन्छ,’ उहाँले भन्नुभयो,‘यो शिक्षा मात्र होइन, यसले सँस्कार र सँस्कृतिको संरक्षण समेत गर्छ ।’

प्राविको दरबन्दीले माविका कक्षा चलाउनु पर्ने बाध्यता रहेको प्रधानाध्यापक ज्ञवालीको भनाई छ । चार जना निजी स्रोतका सँस्कृत पढाउने गुरु राखेर वेद विद्याश्रम सञ्चालन भइरहेको छ । वेद विद्याश्रमलाई १२ कक्षा सम्म सञ्चालन गर्न सक्ने हो भने यहीबाट गुरु उत्पादन गर्न सकिने उहाँको भनाई छ ।

बागलुङ नगरपालिका–४ कुँडुले फेदीमा रहेको तिरुपति बालाजीधाम मुक्तिनाथ वेदविद्याश्रममा वेद, व्याकरण, संस्कृत भाषा, कर्मकाण्डसँगै नेपाली, गणित, अङ्ग्रेजी र सामाजिकको पढाई हुने गर्छ । २०४२ सालमा गुरुकुलको रुपमा शुरु भएको आश्रम २०७२ सालदेखि विद्यालय स्तरिय बनेको छ । अघिल्लो वर्ष पहिलो पटक यहाँका ९ जना विद्यार्थी एसइई परिक्षामा सहभागी भएका थिए । यो वर्ष १४ जना विद्यार्थीले एसइई दिनेछन् । बागलुङ जिल्लासँगै बझाङ, सर्लाही, सिन्धुली, जुम्ला, स्याङ्जा, पर्वत र म्याग्दीसँगै १७ जिल्लाका ५० जना विद्यार्थीले यहाँ अध्ययनरत छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *