आदर्श अनलाईन, बागलुङ
सहकारी संस्थालाई व्यवसायिक रुपमा अगाडि बढाउने उद्देश्यका साथ सहज बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङले शनिवार एक दिने सहकारी व्यवस्थापन तथा नेतृत्व विकास तालिम सम्पन्न गरेको छ ।
सञ्चालक तथा कर्मचारीहरुलाई सहकारी ऐन, नियममावली र सहकारी व्यवसायका प्रभावकारिताका बारेमा सचेत तथा सदस्यहरुलाई सक्रिय बनाउनका लागि तालिम आयोजना गरिएको संस्थाले जनाएको छ ।
संघीय संरचना र सहकारी ऐन जारी भएपछि सहकारी संस्थाहरुलाई नयाँ नीति र विधि अनुसार अगाडि बढाउन सचेतना आवश्यक भएको संस्थाका अध्यक्ष पुष्प गिरीले जानकारी दिनुभयो ।
तालिममा सहजीकरण गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहकारीलाई सदस्य केन्द्रीत व्यवसायका रुपमा अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो । सहकारीका सञ्चालक र कर्मचारीहरुले सदस्यको आर्थिक विकास र सामाजिक रुपान्तरणका योजना बनाएर उनीहरुलाई ति कार्यक्रमहरुमा सहभागिता गराउनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सहकारी सहकारी व्यवसायको प्रभावकारिताका लागि सञ्चालक र कर्मचारीको भूमिका, सहकारी ऐन तथा नियमावली लगायतका विषयमा जानकारी गराइएको थियो ।
तालिमका सहभागीहरुले संस्थाको ३ वर्षे रणनीतिक योजना अनुसार संस्थालाई सदस्यहरुको पहिलो रोजाईका रुपमा स्थापित गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । कार्यक्रम संस्थाका अध्यक्ष पुष्प गिरीको अध्यक्षता र सचिव हर्कबहादुर नाइसाको सञ्चालनमा सम्पन्न भएको थियो ।