दादुरा–रुवेला खोप अभियानको जिल्ला स्तरिय गोष्ठी सम्पन्न

आदर्श अनलाईन, बागलुङ ।

चैत ५ गतेदेखि सञ्चालन हुने दादुरा–रुवेला खोप अभियानको लागि आइतबार बागलुङमा दोस्रो चरणको जिल्ला स्तरिय अभिमुखिकरण तथा योजना गोष्ठी सम्पन्न भएको छ ।

स्वास्थ्य कार्यालय बागलुङले आयोजना गरेको कार्यक्रममा बागलुङ नगरपालिका, जैमिनी नगरपालिका र काठेखोला गाउँपालिकामा रहेका स्वास्थ्य संस्थाका प्रमुख, स्थानिय तहका स्वास्थ्य संयोजकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा खोपबाट बञ्चित भएका बालबालिकालाई कसरी खोपको पहुचमा ल्याउने भन्ने विषयमा छलफल भएको थियो ।

स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य अधिकृत सुरज गुरौले बागलुङ जिल्लामा दुई चरणमा खोप अभियान सञ्चालन हुने बताउनुभएको थियो । उहाँले पहिलो चरणमा आगामी चैत ५–१३ गते सम्म निसिखोला गाउँपालिका, ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका र बडिगाड गाउँपालिकामा र दोस्रो चरणमा १५–२३ गते सम्म गल्कोट नगरपालिका, ताराखोला गाउँपालिका, काठेखोला गाउँपालिका, बागलुङ नगरपालिका, जैमिनी नगरपालिका र बरेङ गाउँपालिकामा खोप अभियान सञ्चालन गरिने बताउनुभएको थियो ।

उहाँले कार्यक्रमका सहभागिलाई जनचेतनाको कमीका कारण अझै पनि बालबालिका पुर्ण खोपबाट बञ्चित रहेको भन्दैं आफ्नो आफ्नो स्थानिय तहमा जनचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभएको थियो । गुरौका अनुसार बागलुङमा ७७ प्रतिशत बालबालिकाले पुर्ण, २२ प्रतिशतले आंशिक र एक प्रतिशत बालबालिकाले कुनैपनि खोप पाएका छैनन् ।

कार्यक्रममा डब्लू एच ओ आइ पी डि गण्डकी प्रदेशबाट डाक्टर रामु शर्मा, स्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्री र कोल्ड चेन असिष्टेन विरेन्द्र कुमार चौधरीले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा सहभागिको तर्फबाट बागलुङ नगरपालिकाका स्वास्थ्य संयोजक रामप्रसाद खनालले खोप नपुगेका सबै बालबालिकालाई खोप पु¥याउने प्रतिवद्धता जनाउनुभएको थियो । कार्यक्रम स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य अधिकृत सुरज गुरौको अध्यक्षता, खोप सुपरभाइजर राजु खत्रीको स्वागत तथा कोल्ड चेन असिष्टेन विरेन्द्र कुमार चौधरीको सञ्चालनमा सम्पन्न भएको थियो ।

दादुरा–रुवेला खोप लगाउनबाट बञ्चित भएमा अन्धोपन, कुपोषण हुनसक्ने भएकाले ९ महिना देखि ५ बर्ष मुनिका बालबालिकालाई अनिवार्य खोप लगाउनुपर्छ । दादुरा रोगको निवारण २०१९ सम्म गर्ने लक्ष्य राखिएको भएपनि निवारण नभएकाले सन् २०२३ सम्म निवारण गर्ने सरकारले लक्ष्य लिएको छ । खोप अभियान फागुन १ गते देखि चैत मसान्त सम्म देशैभर सञ्चालन हुदैँछ । विश्वमा दादुराबाट हुने मृत्युदर ८४ प्रतिशतले घटेको भएपनि नेपाल लगायत ६ देशमा यसको नियन्त्रणका लागि अभियान चलाइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *