कुश्मा नगरपालिकाका सहकारीकर्मीहरुलाई सहकारी व्यवस्थापन तालिम

आदर्श अनलाईन, पर्वत ।

कुश्मा नगरपालिका भित्र सञ्चालनमा रहेका सहकारी संस्थाका सञ्चालक तथा व्यवस्थापकहरुका लागि २ दिने सहकारी व्यवस्थापन तथा क्षमता अभिवृद्धि तालिम आइतवारदेखि कुश्मामा शुरु भएको छ ।

कुश्मा नगरपालिकाको आयोजनामा सञ्चालित तालिममा नगरपालिका सञ्चालित सहकारीका पदाधिकारी, सञ्चालक तथा व्यवस्थापकहरुको सहभागिता रहेको छ । नगरपालिका भित्र रहेका विभिन्न प्रकृतिका सहकारी संस्थाका सञ्चालक र व्यवस्थापकहरुलाई सहकारी ऐन नियम र सहकारी व्यवसायका बारेमा जानकारी दिई व्यवस्थित रुपमा अगाडि बढाउनका लागि तालिम आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।

तालिम उद्घाटन कार्यक्रम कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछानेले जनताको आर्थिक विकासको अत्यन्तै नजिकको सारथी सहकारी क्षेत्रलाई प्राथमिकताका साथ अगाडि बढाउन कुश्मा नगरपालिका प्रतिवद्ध रहेको बताउनुभयो । सहकारी अभियानसंगको साझेदारीमा नगरपालिका भित्र क्रियाशिल सहकारीहरुलाई थप व्यवस्थित, पारदर्शी र उत्पादनमुलक क्षेत्रमा लगाउन समन्वय गरिने उहाँको भनाइ थियो ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमाकुमारी जि.सी. (अञ्जु) ले तीन वटै सरकारको जिम्मेवारीमा सहकारी क्षेत्र परेकाले सहकारीलाई संविधानको मर्म अनुसार अगाडि बढाउन सुझाव दिनुभयो । स्थानीय तहमा आर्थिक विकासका लागि सहकारी सबै भन्दा भरपर्दो र लक्षित वर्गसम्म पुग्ने सहयात्री भएको भन्दै उहाँले स्थानीय तहले गर्ने सबै काममा सहकारी क्षेत्रसंग समन्वय गर्न आग्रह गर्नु भयो ।


सहकारी ऐन अनुसार स्थानीय तह भित्र कार्यक्षेत्र रहेका सहकारीहरुलाई पालिकाले नियमन, अनुगमन, प्रवद्र्धन गर्नुका साथै नियम विपरित चलेका सहकारीलाई कार्वाही गर्ने व्यवस्था रहेको छ । नगपालिकाले पहिलो चरणमा सबै सहकारी संघ संस्थाहरुलाई सहभागी गराई ऐन कानुनका बारेमा जानकारी दिने, उनीहरुको प्रोफाइल प्रकाशन गर्ने र संस्थाहरुले बुझाउन पर्ने कागजातहरु बुझाउनका लागि निर्देशन गर्ने योजना रहेको नगपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि पंगेनीले जानकारी दिनुभयो ।

सहकारीमार्फत सदस्यहरुको आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि प्रभावकारी सञ्चालन विधी, सदस्यहरुलाई उद्यमशिलतातर्फ अग्रसर गराउने योजना निर्माण लगायतका काममा सहकारीहरुसंग समन्वय गरेर अगाडि बढ्न नगरपालिका तत्पर रहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा कुश्मा नगरपालिकाका आर्थिक विकास समितिका संयोजक राजेन्द्र पौडेल, सामाजिक विकास समितिका संयोजक शिव पौडेलले नगरपालिकाले सञ्चालन गर्ने आर्थिक तथा सामाजिक क्रियाकलापमा सहकारीसंग समन्वय गरेर अगाडि बढ्ने बताउनुभएको थियो । उद्घाटन कार्यक्रम नगर उपप्रमुख सीता काफ्ले लामिछानेको अध्यक्षता, अधिकृत डिलकुमारी शर्माको स्वागत र ऋषिराम शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

२ दिनसम्म सञ्चालन हुने तालिममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसी, कृषि विकास बैंक शाखा कार्यालय कुश्मामा प्रमुख भोलानाथ शर्मा, कृषि सामग्री कम्पनी कुश्माका प्रमुख नारायणप्रसाद शर्मा लगायतले सहजीकरण गर्ने नगरपालिकाले जनाएको छ । तालिममा सहकारीको अवधारणा, महत्व, मूल्य मान्यता र सिद्धान्तहरु, सहकारी दर्ता, नियमन, अनुगमन, निरीक्षण, एकीकरण र विघटन, सहकारी ऐन नियमावली, सञ्चालक र व्यवस्थापनको काम कर्तव्य र अधिकार, सहकारीमा जोखिम व्यवस्थापन लगायतका विषयमा सहजीकरण गरिने नगरपालिकाका सहकारी शाखा प्रमुख ऋषिराम शर्माले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *