कोरोना,बागलुङ र पुर्व सजगताको पहल

सम्पादकीय
कोरोना भाइरसले सिंगो विश्व थर्कमान छ । कोरोनाका कारण विश्वभरका मानिसहरु भयभित जस्तो देखिन्छन् । कोरोनाले विश्वलाई चुनौति दिएको महिनौ दिन बित्दा पनि यसको औषधि पत्ता लाग्न सकेको छैन । कोरोना दैनिक फैलिदो क्रममा छ । अहिले ५७ देश भन्दा बढीमा यसको संक्रमण फैलिएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या विश्वभर ३ हजार नाघिसकेको छ । सबै भन्दा बढी मृत्यु हुने संख्याको करिब ९० प्रतिशत चिनका नागरिकले अप्रिय मृत्यु बेहोर्न बाध्य बनिसकेका छन् । त्यस बाहेक इरानमा ५० र इटालीमा ३० जना भन्दा बढीको मृत्यु भएको छ । विश्वभर अहिलेसम्म झण्डै ९० हजार जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । तर, सुखद संयोग मान्नुपर्छ, नेपालमा अहिले सम्म कोरोनाको संक्रमण भेटिएको छैन ।

कोरोनाको संक्रमण भेटिएको छैन । तर, नेपालले पुर्ववत सजगताको पहल थालिसकेको छ । भीड जम्मा हुने सार्वजनिक सभा समारोह, मेला, महोत्सव, धार्मिक महायज्ञ लगायतका कार्यक्रमहरु नगर्न नगराउन निर्देश गरेको छ । प्राथमिक र माध्यमिक तहका परिक्षाहरु आगामी चैत्र ५ गते भित्र सम्पन्न गरिसक्न निर्देशन समेत दिइएको छ । अरु क्षेत्रमा पनि आवश्यक सजगता र तयारी गरिएको छ । अस्पतालहरुले कोरोनाको सम्भावित बिरामीहरुलाई उपचार गर्नका लागि छुट्टै आइसुलेसन वार्डको व्यवस्था गरेका छन् । बागलुङमा पनि जिल्ला प्रशासन कार्यालयको तदारुकतामा सर्वपक्षिय बैठक गरेर पुर्ववत सजगताको पहल थालिएको छ । प्रशासनले जिल्लामा ठुलो भीड जम्मा हुने गरी औपचारिक समारोह, मेला, महोत्सव नगर्न अनुरोध गरेको छ । यति मात्रै होइन, निकट समयमा आउँदै गरेको होली अर्थात फागु पुर्णिमा मेला पनि नमनाउन आग्रह गरेको छ । धौलागिरी अञ्चल अस्पतालले एउटा आइसुलेसन रुमको तयारी गरिसकेको छ । अरु सरोकारवाला निकाय संघसंस्थाले सचेतना र सन्देशमूलक सामग्री सम्प्रेषण गर्न थालेका छन् ।

हुन त हामीमा द्धैध किसिमको स्वभाव र चिन्तन व्याप्त देखिन्छ । कोरोनाको पुर्ववत सचेतता नअपनाउने हो भने पनि के हेरेर बसेको छ ? भन्ने र पुर्ववत सचेतता र तयारी स्वरुप ठुलो भीड जम्मा हुने मेला महोत्सव र अन्य समारोह नगर्ने नगराउने अनुरोधको निर्णय पश्चात कोरोना भित्रिएकै छैन । किन यस्तो हतारो भन्ने प्रवृत्ति पनि हामीकहाँ व्याप्त छ । तर, कोरोना भाइरसको चौतर्फी संशय र जोखिमका बीच प्रशासनको पहलमा जे कदम चालिएको छ । यो स्वास्थ्य जोखिम र संवेदनशिलताका हिसावले जरुरी कदम हो । हामी सबैले यसबेला आँफु पनि सजगता अपनाउने र अरुलाई पनि सचेतता अपनाउन भुमिका खेल्नुपर्छ । कोरोनालाई आतंक र अफवाहको बिषय बनाएर भयभित बातावरण सिर्जना गर्नु हुँदैन । यस संवेदनशिल घडीमा हामी सबैको जिम्मेवारीपूर्ण भुमिका समाज र देशले खोजेको छ । त्यो दायित्व पुरा गरौं । -आजको जागरण दैनिकबाट

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *