नमस्कार, नेपालीको बैज्ञानिक सँस्कार !

सम्पादकीय
नमस्कार, हाम्रो मौलिकता बोकेको स्वागत सत्कारको सँस्कार हो । चिर परिचित होस् या अपरिचित पात्र । कोही भेट भयो भने हामीले दुई हात जोडेर नमस्कार स्वागत अभिभावदन टक्राउदछौ । यो नेपाली सँस्कार र बिशेषताको रुपमा विश्व समुदाय माझ कुनै न कुनै रुपमा स्थापित छ । बिशेषगरी नेपाली समाजमा आँफु भन्दा ठुलाहरुको आगमन र आतिथ्यतामा आदर सम्मानको सूचकको रुपमा नमस्कार गर्ने परम्परा छ । यदी नेपाली सँस्कार अनुसार यसरी नमस्कार नगर्ने सन्तानहरु शिल, स्वभाव र सँस्कारी नभएको मानिन्छ । तर, पछिल्लो समय पाश्चात्य सँस्कृतिहरुको प्रभाव भित्रिए सँगै नमस्कार गर्ने प्रचलन पनि क्रमशः हट्दै गएको छ । अहिले नमस्कारको बदलामा हेल्लो, हाई, ह्यान्डसेक जस्ता पश्चिमी सँस्कारले युवा पुस्तालाई आक्रान्त बनाउदै लगेको छ । यो दुखद पक्ष र खराब संकेत हो ।

नयाँ समय, परिवेश, आधुनिकतासँगै हामीले हाम्रा मौलिक सँस्कारहरु पनि भुल्दै जान थालेका छौ । यसकै एउटा उदाहरण नमस्कार गर्ने संस्कार हराउँदै जानुलाई लिन सकिन्छ । संस्कृतिविद्हरुका अनुसार शरीर नजोडी टाढैबाट अभिवादन गर्ने शैली र सँस्कार नमस्कार हो । देवस्थलमा भगवानको अगाडि झुकेर नमस्ते गर्ने चलन छ । यही संस्कार पछ्याउँदै व्यक्ति–व्यक्तिबीच नमस्कार संस्कारको विकास भएको मानिन्छ । नमस्कार वा नमस्ते गर्दा दुवै हात जोडेर झुक्नुपर्छ । यस्तो अभिवादनले आफू सामुको व्यक्तिसँग आत्मीयता रहेको बुझाउने गर्दछ । नमस्तेको नमः भनेको नमन गर्न वा झुक्नु हो । संस्कृतमा ‘ते’ भनेको तपाईं भन्ने बुझिन्छ । यसको अर्थ म तपाई सामु नतमस्तक छु भनिएको हो । नमः शब्दमा रहेको ‘न’ र ‘म’ को पनि छुट्टाछुट्टै अर्थ छ । ‘न’ को अर्थ होइन भन्ने हुन्छ भने ‘म’ को अर्थ आफू भन्ने हुन्छ । नमस्कारले उचनिचको भावनालाई हटाई समान भाव व्यक्त गर्ने विश्वास छ । सनातन धर्ममा नमस्कार संस्कारलाई सबैभन्दा उत्तम अभिवादन मानिएको छ । यसर्थ नमस्कारको स्वागत सत्कार विदेशी पाहुनाहरुले पनि पृथक र रुचिकर मान्ने गर्दछन् । हामीले छोड्दै गरेको नमस्कारको अहिले फेरी विश्वव्यापी कोरोना आतंक सँगै चर्चा परिचर्चा शुरु भएको छ । कोरोनाको जोखिम बढेसँगै यसको आवश्यकता र महत्वबारे वहस आरम्भ भएको छ ।

नमस्कार गर्न छोडेर हामीले हात मिलाउने सँस्कार यति नजाकिदो हिसावले हामीमा विकास भइसकेको रहेछ कि अहिले कोरोना आतंकसँगै हात नमिलाऔं, नमस्कार गरौ भनेर तिव्र अभियान चलिरहँदा पनि हामी बिर्सिएर हात मिलाइरहेका छौ । त्यो एक दुई जनामा समस्या होइन, आम प्रवृत्ति र एउटा सँस्कार नै बनेको रहेछ भन्ने केही दिन यताको दृश्य र अभ्यासहरुले प्रतित हुन्छ । हात मिलाउदा अर्थात हातकै कारण धेरै रोग सर्ने जोखिम भएको तथ्य सर्वत्र आइसकेको छ । हात मिलाउदा जोखिम हुने खबर आएपछि चीनमा खुट्टा जोडेर अभिवादन गरेको भिडियो भाइरल समेत भयो । चिनेजानेका आफन्त, साथीभाइ, सहकर्मीलाई भेट्दा अभिवादन गर्ने प्रचलन सबैतिर छ । तर, हाम्रा पुर्खाहरुले नमस्कार गर्न सिकाएको सँस्कार असाध्यै बैज्ञानिक संस्कार रहेछ । पश्चिमी हात मिलाउने र अँगालो हाल्ने प्रचलन स्वास्थ्यका हिसावले पनि जोखिमपूर्ण सावित भएका छन् । अब हामी यसबेला कोरोना जोखिमको संवेदनशिल मोडमा छौ । यस्तो बेलामा हात नमिलाऔं, नमस्कार गरौं । कोरोना लगायतका रोगबाट आफु पनि बचौं, अरुलाई पनि बचाऔं । -जागरण दैनिकबाट

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *