घुम्टे, गुराँस र गन्तव्य

सम्पादकीय
बागलुङ जिल्ला पर्यटकीय गन्तव्यका हिसावले सिजनमा पनि धेरैको रोजाइमा पर्दैन, या हामीकहाँ त्यस्ता सुन्दर र पृथक पहिचान परिचय बोकेका र बोक्ने गन्तव्यहरु छैनन् । वा तयार गर्न सकिरहेका छैनौ । बागलुङ कालिका र नेपालकै एक मात्र शिकार आरक्ष ढोरपाटनको नाम बर्षौदेखि बेचिरह्यौ । ढोरपाटनमै पनि यथेष्ट पूर्वाधार निर्माणमा सरकार र सरोकारवालाको उति धेरै ध्यान पुगेको छैन । आज भन्दा ५ बर्ष अघि जाँदा जे अवस्था थियो, त्यसमा उति ठुलो कायापलट केहि भएको छैन । अरु गन्तव्यहरुको पहिचान या निर्माण गर्ने तर्फ पनि अहिले नयाँ संघीय अभ्यासमा रहेका तीन तहको सरकारको ठोस पहल र योजना अभावनै देखिन्छ । यद्यपी, नीजि या व्यक्तिगत प्रयास र पहलहरुमा भने केही भएको छ, जुन सकरात्मक र प्रेरणादायी मात्रै होइनन्, अभुतपूर्व छ । चाहे त्यो सर्वसिद्धिधाम पञ्चकोट होस् या विश्वमै दुर्लभ शालिग्राम संग्रहालय होस् या हालै मात्र गलकोटको हरिचौर टेउवामा निर्माणाधिन खुल्ला मूर्तिकला संग्रहालयको कार्य होस् ।

गलकोट रेमिट्यान्समा आकर्षित छ । जापान लगायतका युरोपका देशमा यहाँका युवाहरुको ठुलो जमात छ । गलकोट रेमिट्यान्समा मात्र मोहित छैन, अहिले गलकोट आफ्नै गाउँ ठाउँहरुमा नयाँ गन्तव्यको पहिचान बनाउन पनि हर तरहबाट प्रयत्नशिल छ । गलकोट हरिचौर टेउवाको हालै सम्पन्न अन्तर्राष्ट्रिय कार्यशाला यसैको उपज र एक सुन्दर उदाहरण हो । यो कार्यक्रमले घुम्टे र टेउवालाई राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा चिनाएको छ । त्यतिमात्रै होइन, कार्याशालाको अवधिमा ११ देशका मूर्तिकारले बनाएका ढुंगाका सुन्दर मूर्तिहरुले अब दुर्गम टेउवालाई एउटा आकर्षक गन्तव्यको रुपमा स्थापित गर्ने सम्भावना प्रवल बनेको छ । यो पृष्ठभुमीमा देखिने सुन्दर घुम्टेले त्यो सम्भावनालाई अझ बलियो बनाएको छ । कि अब यो गाउँ यो ठाउँ निसंकोच स्थानीय सामाजिक अगुवाको निस्वार्थ नेतृत्वदायी पहलमा निसंकोच गन्तव्य बन्ने निश्चित छ । यसमा गलकोटवासीको अर्को पहल घुम्टे लेकलाई गुराँसहरुको पहाडको रुपमा स्थापित गर्ने जुन पहल, सोच र सपना छ । त्यो पनि सम्भावनाबाट दुर छैन । यसका लागि विगत केही बर्ष यता गरिएको पहल र प्रयास प्रंशसनीय छन् ।

पर्यटकीय लेक चैत्र वैशाखमा गुराँसले राताम्मे हुन्छ । अनेक प्रजातिका गुराँस फुल्छन् । गुराँस फुल्दा १० हजार ३ सय ९३ फिट अग्लो घुम्टे लेकको साख बढ्छ । वसन्त ऋतुमा फुलेका गुराँसले मन निकै लोभ्याउछ । अहिले यहाँको गुराँसका रुख संरक्षण गर्ने अभियान समेत थालिएको छ । गुराँस मासे जो कोहीलाई कारवाही समेत हुनेछ । जथाभावी गुराँस टिप्न पनि रोक लगाइएको छ । चरिचरनदेखि कटान नियन्त्रण गरिएको छ । धार्मिक, प्राकृतिक तथा जैविक हिसाबले महत्वपूर्ण घुम्टे गण्डकी प्रदेशको पर्यटकीय गन्तव्यमा सूचीकृत छ । अब घुम्टेलाई चैत्र बैशाखमा गुराँसहरुको पहाड÷लेक घोषणा गर्नमा पहल आवश्यक छ । टेउवामा निर्माणाधिन खुल्ला मूर्तिकला संग्रहालयले सिर्जित सम्भावनालाई घुम्टेको यो गुराँस संरक्षणको अभियानले थप आकर्षित र पहिचान दिलाउनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *