लकडाउन विकल्पहिन !

सम्पादकीय
नेपालमा कोरोना भाइरसका कारण लकडाउन भएको ५३ दिन पुरा भएको छ । चलचित्रकर्मी र रंग पत्रकारको भाषामा ५१ दिन पुरा हुनुलाई एक महत्वपूर्ण उपलब्धि र उत्सवको रुपमा लिने गरिन्छ । तर, अहिलेको लकडाउनको ५१ दिन भने उत्सव होइन, यो अवधि विश्व समुदायका लागि अप्रिय कष्टप्रद जीवनका स्मणिय दिन बनेका छन् । जुन भुल्न मात्रै निकै कठिन हुने छैन । पुरानो दैनिक र जीवनको लयमा फर्कन पनि ठुलै सास्ती र सकस खेप्नुपर्ने निश्चित प्रायः छ ।

कोरोना भाइरस (कोभिड १९) हाल सम्म औषधि विहिन रोग हो । जसको अहिले सम्म नामुद देशहरुले पनि भ्याक्सिन (औषधि) पत्ता लगाउन सकेको छैन । र दैनिक सयौको संख्यामा आफ्ना नागरिकहरुको मृत्युवरण गरेको हेरिरहन बिवश छ । यस्तो कठिन र गम्भीर भाइरसको रुपमा कोरोना देखिएको छ कि जुन रोग लाग्यो भने न छुन पाइन्छ । न छेउमा बसेर अरु बिरामी अवस्थामा जस्तो हेरचाह गर्न पाइन्छ । विश्व इतिहासमै अक्करो लाग्ने यो भाइरसले अहिले सम्म २ लाख बढिले ज्यान गुमाएका छन् । लाखौ व्यक्ति संक्रमणको शिकार बनेका छन् । अरबौ मानिस संक्रमणको भयमा आफ्नो घर भित्रै कैद भएर दिन रात काटिरहेका छन् । यस्तो दिन र अवस्था न विगतमा हाम्रा कुनै पुर्खजहरुले भोगेका थिए, न भोलीका दिनमा कसैले भोग्नेछन् । कोरोना अहिले हामी बीचमा एक उत्तर विहिन प्रश्न जस्तो भएको छ । जसको विश्वभर आततायी भएका नागरिकका सामु चित्त बुझ्दो जवाफ दिन चिकित्सकहरु मात्रै होइन,बैज्ञानिकहरु समेत सकिरहेका छैनन् ।

अब कोरोना भाइरसको यस्तो आतंक, भयावह र जोखिम कहिले सम्म ? यसको पुर्ववत सजगता भनेर देशमा बन्दाबन्दी (लकडाउन) कहिले सम्म ? के यो नै कोरोनाको अचुक अस्त्र हो ? जसको कुनै विकल्प छैन ? निश्चित हो, तत्कालका लागि कोरोना जोखिम रोक्न र कम गर्न लकडाउनको विकल्प छैन । नेपालमा पछिल्लो समय कोरोना संक्रमितको अनपेक्षित बृद्धि भएको संख्याले पनि प्रभावकारी लकडाउन नभए गम्भीर संकट र महामारी आउने संकेत गरिरहेको छ । तर, हामीकहाँ बिभिन्न वाहनामा लकडाउन फितलो बनिरहेको गुनासो तिव्र छ । चाहे त्यो शहरमा होस् या गाउँमा । यो कुनै समूह वा पार्टी या अरु कसैको सफलताका लागि लकडाउन गरिएको होइन । यो परिस्थितिजन्य बाध्यकारी वर्तमानको विकल्प हो । अहिले सन्दर्भमा लकडाउनको प्रभावकारी कार्यान्वयन नै कोरोनाको सम्भावित जोखिम रोक्ने अचुक उपाय र अस्त्र हो । त्यसपछि परीक्षणको दायरा र सीमा नाकाहरुमा आवत-जावतमा कडाई गर्दै आवश्यक सुरक्षा सचेतता अपनाएर नियमित दैनिकीमा फर्किने फर्काउने रणनीतिका साथ सबै सरोकारवाला अहिले कोरोना बिरुद्धको अभियानमा केन्द्रित हुन जरुरी छ ।
धौलागिरी जागरण दैनिकको सम्पादकीयबाट

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *