कोरोना संकटमा सबै भन्दा जोखिममा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी छन् । मन्दिर, मस्जिद, चर्च सबै बन्द भएको यो कठिन घडिमा डाक्टरलाई विश्वभर ‘भगवान’को संज्ञा दिएर सम्मान गर्ने अनुक्रम जारी छ । कोरोना संकट बिरुद्धको लडाइमा देखिदाँ डाक्टर देखिए पनि त्यससँगै नर्स, ल्याबमा कार्यरत अरु स्वास्थ्यकर्मीको भुमिका पनि अभूतपूर्व छ । कोरोना संक्रमण भए नभएको जानकारीका लागि गरिने परीक्षणको स्वाब संकलनमा धौलागिरी अस्पतालका १२ र स्वास्थ्य कार्यालयका १ गरी १३ जना निरन्तर खटिएका छन् । बागलुङ जिल्लाभर स्वाब संकलनमा खटिएका स्वास्थ्यकर्मीको अनुभव कस्तो छ ? पेशागत दायित्वदेखि जीवन सुरक्षा सम्मको अनुभूति समेट्ने प्रयास जागरण दैनिक/आदर्श अनलाइनकर्मी सिर्जना पन्तले गर्नुभएको छ । प्रस्तुत छ केही स्वास्थ्यकर्मीको अनुभवः
तनाब छ, तनाबकै विचमा काम गरिरहेको छौ । जिल्लाका विभिन्न स्थानका क्वारेन्टिनमा मानिसहरु राखिएका छन् । ठाउँ–ठाउँमा पुग्नुपर्छ । अस्ती भर्खर गलकोटमा पुगेर १०९ जनाको स्वाब संकलन ग¥यौ । स्वाब दिनको लागि उपस्थित भएकाहरुलाई देख्दा उनीहरु पनि कोरोना संक्रमित होलान् भन्ने मनमा भय हुन्छ । सबै आएका हुन्छन् । यसो हेर्दा गर्न पर्नेको नभएर नपर्नेको भयो कि जस्तो पनि लाग्छ । हुन त कन्ट्याक्ट ट्रेसिङमा जो पनि भेट हुन सक्ने भयो । लकडाउनले गर्दा सबै बन्द छन् । गाउँ–गाउँमा जाँदा खाजा, पानी पनि पाईदैन, समस्या छ । सुरक्षा सामाग्रीहरु अझै पनि प्रयाप्त छैन । सुरक्षा सामाग्रीको बारेमा जानकारी गराउने समयमा जुन–जुन चिजहरुको बारेमा जानकारी गराइयो । त्यो सब हामीहरुले अहिले सम्म प्रयोग गरेका छैनौ । पिपिइका सेटहरु पनि पूर्ण छैनन् । सिकाउने समयमा अनिवार्य रुपमा प्लाष्टिक बुट लगाउनुपर्छ भनिएको थियो । त्यो हामीहरुले अहिले सम्म स्वाब संकलन गर्दा लगाएका छैनौ । स्वाब संकलन गरेर फर्किएपछि रिपोर्ट नआउने समय सम्म भगवान सम्झेर बस्ने गरेको छु । डर लाग्छ, लागे पनि काम गर्ने पर्ने बाध्यता छ । कोरोनाको विरुद्धमा विश्व लडिरहेको छ, हामिहरुले काम गर्दैनौ भन्न त मिल्दै मिलेन । स्वाब संकलनको लागि तङग्राम, अधिकारीचौर, बरेङ, गलकोट पुगे, विहुँ पनि पुगे । हरेक पटक केही न केही समस्या आइहाल्छ । काठेखोलामा एकजना आमाको ¥यापिड परिक्षणको रिपोर्ट नेगेटिभ आएपछि स्वाब संकलनको लागि पुग्दा उहाँलाई क्वारेन्टिन सम्म ल्याउनको लागि समस्या हुँदा रातको साढे १ बजे स्वाब संकलन गरियो । जुन ठाउँमा स्वाब संकलन ग¥यो तेही पिपिई सेट डिस्पोज गरेर घर फर्कन्छौ । मेरो परिवारका सदस्यहरु यतिवेला गाउँमा हुनुहुन्छ र मलाई तनाव कम छ । नत्रभने स्वाब संकलन पछि परिवारका सदस्यहरु संगै बस्नु पर्ने भए त अझै जोखिम बढि हुन्थ्यो । यो विषम परिस्थितीबाट बाहिर निस्कनको लागि हामि सबैको दायित्तव छ । स्वास्थ्यकर्मीले स्वब संकलन गर्ने, परिक्षण गर्ने र रिपोर्ट पेश गरेर मात्र हुँदैन र सबै सचेत हुनुपर्छ । सामाजिक दुरी कायम गर्नुपर्छ । दुई चार जाना ल्याबका साथीहरुले मात्र जिल्ला भरको स्वाब संकलन गर्न सम्भव हुँदैन भनेर प्रदेश सँग सहकार्य गरेर बैशाख ८ गते ल्याबका अन्य साथीहरुलाई पनि तालिम दिने तयारी गरेका छौ । जिल्लाका सबै स्थानीय तहका ल्याबका साथीहरुलाई तालिम दिने र उनीहरुलाई दक्ष बनाएपछि सम्बन्धित स्थानीय तहमै परीक्षण गर्न सक्ने मानिसहरु भए पछि संक्रमण फैलियो भने पनि अलिकति सजिलो होला भनेर । स्वास्थ्य कार्यालयमा दर्ता भएका प्राइभेट ल्याबका साथीहरु पनि इच्छा भए तालिममा बस्न सक्नुहुन्छ भनेर आग्रह गरेका छौ । यो सबैको दायित्व भएकाले सबै मिलेर कोरोनाबाट बँच्न र बचाउनको लागि सहयोग गर्नुपर्छ ।
बागलुङमा कोरोना संक्रमित भेटिए पछिका सुरुवाती दिनहरु निकै कष्टप्रद थिए । हामीहरुले त्यो समय सम्म कोरोना भाइरसको बारेमा त्यति धेरै अध्ययन गरेका थिएनौ । आँफु स्वयम् सम्लग्न भएर स्वाब परीक्षण गरिएका व्यक्तिमा कोरोना संक्रमण पुष्टी हुनु उहाँहरुको लागि मात्र होइन, हाम्रो लागि पनि निकै तनावपूर्ण थियो । त्यसपछि कोरोना भाइरसको बारेमा अस्पतालले नै जानकारी दिने काम पनि ग¥यो । यूट्युब हेरेर पनि यसको बारेमा जानकारी लियौ । तैपनि पढ्नु, जान्नु र सुन्नु भन्दा प्रत्यक्ष फिल्डमा काम गर्नु फरक कुरा हो । तर विस्तारै यसको बारेमा जानकारी लिन थालेपछि आत्मविश्वास बढ्दै गायो । काम गर्दा–गर्दै अहिले त सामान्य नै लाग्न थालेको छ । तर पनि स्वाब संकलन गरेर फर्केपछि उहाँहरुको रिपोर्ट कस्तो आउँछ भनेर मनमा ढुकढुक हुन्छ । हामीहरुले सुरक्षा सामाग्री लगाएर काम गर्छाै । सुरक्षा सामाग्री लगाएर मात्र पनि भएन, त्यो लगाउदा पनि ख्याल गर्नुपर्छ । स्वाब संकलनको काममा खटिएकाहरुलाई धौलागिरी अस्पतालले अस्पतालकै क्वाटरमा बस्ने प्रबन्ध मिलाएको छ । तर केहि साथिहरु घरमै बस्नुहुन्छ । घरमा बसे पनि सुरक्षित भएर बस्नुहुन्छ । हामीहरु अहिले १२ जनाले कोभिड–१९ को परिक्षणको लागि स्वाब संकलन मात्र होइन, अस्पतालमा आउने विरामीहरुका अन्य परीक्षण पनि गरिरहेका छौ । जुन गतिमा संक्रमितको संख्या बढ्दै छ, यसलाई नियन्त्रण गर्न नसक्ने हो भने भोली बागलुङमा पुनः संक्रमित देखिन सक्छन् । त्यसैले यसको परीक्षणमा खटिनको लागि जिल्लाका सरकारी मात्र होइन, गैरसरकारी ल्याबका साथीहरुलाई पनि दक्ष बनाउनुपर्छ । र उहाँहरुको पनि सहयोग लिनुपर्छ । यो हामी सबैको दायित्व हो । बाहिरबाट आउनेहरुलाई समयमै नियन्त्रणमा राख्ने र परीक्षणको दायरा बढाएर समुदायमा फैलन नदिने हो भने हामीमा जोखिम कम हुन्छ । स्वास्थ्यकर्मी पनि यस्तो समयमा आँफ्नो जिम्मेवारी र कर्तव्य सम्झिएर काम गर्नुपर्छ । सञ्चारकर्मी, प्रहरी प्रशासन पनि यसको लागि समर्पित भई राख्नुभएको छ । सबै भन्दा जिम्मेवार सर्वसाधरण हुनुप¥यो । कसैलाई संक्रमण नहोस् भन्ने चाहना सबैको छ । तर देखिइ हाल्यो भने पनि छिटो देखियोस्, समुदायमा नफैलियोस् भन्ने चाहना राखेर सबै लाग्नुपर्छ । नेपालमा कोरोना संक्रमणको सुरुवाती चरणमानै बागलुङमा देखिनु हाम्रो लागि कम चुनौतीपूर्ण विषय थिएन । तर यस्तो गम्भिर परिस्थितिमा पनि धौलागिरी अस्पताल र मेरो टिमका सबै साथीहरुले जुन साहस देखाउनुभयो । त्यसका लागि सबैलाई धन्यवाद दिन चाहन्छु ।
संक्रमण हुने डर त छँदैछ । तर काम सिक्न पनि पाईएको छ । यस्तो खालको महामारी विश्वकै लागि नयाँ छ । औषधी उपचार छैन, मानिसहरुमा दिन प्रतिदिन संक्रमण बढ्दै गएको छ । मर्नेहरुको संख्या पनि बढ्दो छ । त्यसैले डर त लागिहाल्छ । तर पनि यस्तो विषम परिस्थितिमा देशको लागि आफ्ना ठाउँका मानिसहरुका लागि काम गर्न पाउँदा राम्रो पनि लागेको छ । दिनदिनै अस्पताल आयो, स्वाब संकलनको लागि हिँड्यो अनि फर्केर साँझ परिवार सँग जानुपर्छ । आँफ्नो लागि सोच्दा ठिकै लागे पनि परिवारको लागि सोच्दा डर लाग्छ । अहिले सम्म सुरक्षा सामग्री पिपिई त पाएको छौ । तर भोलिका दिनमा संक्रमितको संख्या बढ्यो भने कसरी पुग्ला भन्ने लाग्छ । हामीहरुले अस्पतालमा पनि ड्युटी गरेका छौ, ड्युटीको बीचबाट मात्र होइन, कहिले काँही त ड्युटी सकिए पछि पनि स्वाब संकलनको लागि हिँड्ने गरेका छौ । दोहोरो जिम्मेवारी लिएर काम गर्नुपरेको छ । एक÷दुई जनाको स्वाब संलकन गर्दा तनाव कम हुन्छ तर एकैपटक धेरैको स्वाब संकलन गर्दा जोखिम बढी हुने मेरो अनुभव छ । गलकोटमा हामी चार जना ल्याबको साथिहरुले १०९ जनाको स्वाब लियौ । हामीसंग पिपिई सेट थोरै हुन्छ । व्यक्ति पिच्छे स्वास्थ्य सामग्री परिर्वतन गर्ने कुरा त हुँदैन । त्यसैले कुनै एउटा संक्रमितलाई छोयौ भने अर्काेलाई छुँदा सर्छ कि भन्ने डर लाग्दो रहेछ । ग्लब्स परिर्वतन गरेको हुन्छ । स्यानिटाइजरको प्रयोग गरिएको हुन्छ । तर, डर भने लाग्दो रहेछ । आफुले लिएको स्वाबको रिपोर्ट नेगेटिभ आउदा खुसी लाग्छ । यस्तो कठिन परिवेशनमा पनि मलाई आफुले रोजेको पेशा प्रति गर्व लागेको छ । कसैले खोजेर पनि सेवा गर्न पाउदैनन् । तर यो विकराल परिस्थितीमा पनि सेवामा समर्पित हुन पाएको छु ।
धौलागिरी अस्पतालका साथीहरु स्वाब संकलनमा सुरु देखि खटिनुभएको थियो । म ¥यापिड टेस्टको काम गरिरहेकी थिए । तर, पछिल्लो पटक गलकोटमा गरिएको स्वाब संकलनमा म आँफु पनि सहभागी भए । कोरोना मात्र होइन, सबै प्रकारका परीक्षणमा ल्याबमा काम गर्नेहरु सबै भन्दा नजिक हुन्छन् । प्रत्यक्ष संलग्न हुनुपर्ने भएकाले डर लाग्दो रहेछ । पैसा भन्दा पनि ठुलो त मान्छेको ज्यान हो । अरुको ज्यान बचाउनको लागि आँफ्नो ज्यान जोखिममा राखेर स्वास्थ्यकर्मी अग्रपंक्तिमा हुन्छन् । तर, स्वास्थ्यकर्मी प्रतिको सर्वसाधारणको दृष्टिकोण सकरात्मक हुन सकेको पाइदैन । एउटा व्यक्तिले २० जना भन्दा बढीको स्वाब पनि संकलन गर्दा शारिरीक रुपमा मात्र होइन, मानसिक रुपमा पनि दबाब हुँदोरहेछ । गाउँ गाउँमा पुगेर काम गर्नुपर्छ । पिउने पानी, खाने खाजाको मात्र होइन, शौचालयको पनि समस्या हुने रहेछ । अनि यो समयमा ल्याबमा काम गर्नेहरुले यो बिरामी भए पनि रेस्ट पाएका छैनन् । नेपालमा भर्खर संक्रमितहरु देखिन थालेका छन् । संक्रमतिको संख्या बढ्ने क्रम जारी छ । यहि समयमा तयारी गरेनौ भने भोली सबै स्वास्थ्यकर्मी संक्रमित हुने र सर्वसाधरणले उपचार नपाउने अवस्था पनि आउन सक्छ । त्यसैले चुस्त तयारी र व्यवस्थापनको खाँचो छ । अर्काे कुरा, कोरोना रोकथाम र नियन्त्रण हामी सबैको जिम्मेवारी र दायित्व हो । तर, यो समयमा सुरक्षा सामग्री, टेस्ट किटको जथाभावी प्रयोग गर्नुहुन्न भन्ने मलाई लाग्छ । उदाहरणका लागि बागलुङबाट पर्सा गएका १४ जनामा संक्रमण देखिए पछि उनीहरुलाई छोड्न गएका र अन्य १४ जनाको स्वाब संकलन गरियो । त्यसपछि कन्ट्याक्ट टे«ेसिङको आधारमा परिक्षण गर्ने भनेर हामीहरु गलकोट पुग्दा त्यहाँ नगरपालिकाका कर्मचारी, जनप्रतिनिधी र अन्य ठुला बडा व्यत्ति पनि परिक्षणका लागि आउनुभएको थियो । यसरी जथाभावी रुपमा सामग्री सक्यौ भने वास्तविक संक्रमित कहाँ नपुग्न पनि सकिन्छ । पछिल्लो समय देशका विभिन्न ठाउ र भारतबाट पनि बागलुङका व्यक्तिहरु घर गाउँ आउने क्रम चलेको छ । मलाई लागेको ल्याएकाहरुलाई बागलुङ नगरपालिका भित्र व्यवस्थापन गर्ने र खर्च सम्बन्धित पालिकाले गर्ने हो भने संक्रमणको जोखिम पनि कम हुन्छ, खर्च पनि कम हुन्छ ।