धौलागिरी अस्पताल विवाद : व्यवस्थापनबाट भाग्ने कि समाधान गर्ने ?

डम्मर बुढा मगर, बागलुङ
धौलागिरी अस्पताल बागलुङमा व्यवस्थापन पक्ष र दुर्घटना पछि अपांगताको जीवन बेहोरिरहेकी सिनियर अहेव कविता शाक्य बीचको विवाद चुलिँदै गएको छ ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी रानाको निर्देशनमा २० बर्ष देखि काम गर्दै आएकी स्वास्थ्यकर्मी कविता शाक्यलाई अस्पतालमा काम गर्न रोक लगाएपछि विवाद चुलिँदै गएको हो ।

शाक्यलाई अस्पतालबाट अन्यत्रै सरुवा या अवकाश रोज्ने दुई विकल्प समितिको अडान छ । सिनियर अहेव प्रयाप्त नहुँदा काममा समस्या भएकाले उनको ठाउँमा नयाँ कर्मचारी ल्याउदा सेवा प्रवाह प्रभावकारी हुने उसको दावी छ ।

स्वास्थ्यकर्मी शाक्य दुर्घटनामा परेपछि उनी अशक्त बनेकी छिन् । खुट्टाले हिँड्डुलमा समस्या भए पनि हातले काम गर्न सक्ने अवस्थामा आँफु भएको र सोही अनुसारको अपांगमैत्री काम दिन शाक्यको आग्रह थियो । दुर्घटना पछिको केहि बर्ष उनलाई अपांगमैत्री कामको रुपमा बिमा क्लेम इन्ट्रि गर्ने काम दिइएको थियो । तर, पछिल्लो समय हाजिरी र तलब रोक्का गर्ने अस्पताल व्यवस्थापन र प्रशासनको हठका कारण बिवाद उत्कर्षमा पुगेको छ ।

यस्तो थियो दुर्घटना ?
२०७१ असार ३१ गते अस्पतालको कामका लागि काठमाडौ गएकी फर्कने क्रममा तनहुँमा गाडी दुर्घटनामा गम्भीर घाइते भइन् । उनीसँगै उनका श्रीमान पनि घाइते भए । उनी लामो समय हस्पिटल बसाइपछि पुनः पौष २६ गते लौरीको भरमा कामका फर्किन् र काम सुरु गरिन् । उनी त्यस लगत्तै २०७४ भदौको १९ गतेसम्म निरन्तर काम गरिन् तर उनको स्वास्थ्यमा समस्या आएपछि पुनः फेरी स्वास्थ्य उपचारको लागि अस्पताल बस्नुपर्ने बाध्यता आयो । उनी आफ्नो उपचारपछि पहिलेकै तरिकाले काम गर्न सक्ने अवस्था भएन । उनी अशक्त भइन् । उनको दुबै खुट्टाले काम गर्न छोड्यो ।

उनी अशक्त भएपछि अस्पताल व्यवस्थापनले उनलाई आफू बस्ने क्वाटरबाटै काम गर्ने व्यवस्थापन मिलायो र उनी क्वाटरबाटै काम सुरु गरिन् । अपाङ्गमैत्री क्वाटरको व्यवस्थापन नहुँदासम्म आफू बसेकै स्थानबाट काम गर्न अस्पताल प्रशासनले व्यवस्था मिलायो । ‘अशक्त भएपछि म अस्पातल गएर पहिले जस्तै काम गर्ने सक्ने अवस्था रहेन, अस्पताल प्रशासनले मलाई म बसेकै स्थानबाट काम गर्ने वातावरण मिलाई दिएको थियोे,’ उनले भनिन् ‘मैले बसेकै ठाउँबाट अस्पतालले दिएको जिम्मा पुरा गर्दै आएको थिएँ ।’ शाक्यले जागिर शुरु गरेको गत मंसिरमा २० वर्ष पुगेको छ । उनले चाहे अवकास लिएर पेन्सन बुझ्न मिल्छ तर उनको चाहना अझै केही वर्ष काम गर्नेछ ।

विवादको जड प्रशासनभन्दा समिति
अस्पातलमा नयाँ व्यवस्थापन समिति आए पछि आफुलाई धेरै दुःख दिने काम मात्रै भएको शाक्यको आरोप छ । उनले नयाँ व्यवस्थापन समिति आएपछि आफूलाई काम गर्न सहज वातावरण हुने अपेक्षा गरे पनि पटक–पटक हाजिर र तलब रोक्ने काम भएको दुखेसो पोखिन् । ‘नयाँ समितिमा अपांगताका क्षेत्रमा काम गरेका व्यक्तिहरु आएपछि काम गर्न थप सहज वातावरण हुन्छ भन्ने अपेक्षा थियो तर त्यस्तो भएन,’ उनले भनिन्,‘म अपाङ्ग छु, मलाई प्रोत्साहित गर्ने भन्दा तिमी अपांग हौ, तिम्रो हात खुट्टा चल्दैन, तिमी सक्दैनौ भन्ने जर्बजस्त तर्क अस्पताल व्यवस्थापन समितिको छ ।’

स्वास्थ्यकर्मी शाक्य स्थायी कर्मचारी भएको र राज्यले अपांगता भएकाको हकमा बिशेष हक, अधिकार र अवसरको व्यवस्था गरेकाले अपांगमैत्री व्यवस्था गरिदिनु पर्ने माग गछ्रिन् ।

अर्को तर्फ अस्पतालमा दैनिक ड्युटी र सेवा प्रवाह गर्नुपर्ने चुनौति पनि छ । दरबन्दी अनुसारको कर्मचारी नभएको, भएका पनि इर्मजेन्सीमा बसेर काम गर्ने नहुँदा केहि व्यक्तिलाई बढि लोड परेको अस्पतालको दावी छ । त्यसैले अस्पताल कवितालाई हटाउन नभई अरु ठाउँमा सरुवा गरेर व्यवस्थापन गर्न खोजेको अध्यक्ष राना बताउँछन् । आफूहरु अस्पतालको विकासको लागि आएको भन्दै यहाँ काम गर्न सक्ने कर्मचारीको आवश्यक रहेको र उनले यहाँ कुनै काम गर्न नसक्ने उनको भनाई छ । आफूलाई कर्मचारी संयोजन गर्दा कविताले यही अस्पतालमा पारे पनि अध्यक्ष रानाले जनस्वास्थ्य कार्यालयमा सरुवा भएर जान उपर्युक्त हुने जिकिर गर्छन् ।

तलब रोकियो र घर बिदा काटेर मात्र फेरी दिइयो
अस्पताल व्यवस्थापन समितिको दबाबमा प्रशासनले पटक–पटक हाजिर र तलब रोक्ने गरेको छ । बिमा क्लेमको काम रोकिए पछि उनले अपांगमैत्री काम पनि गर्न पाएनन् र हाजिर पनि गरेनन् । तर, बिषय जटिल बन्न थालेपछि अस्पतालले भाद्र देखि चैत्र महिना सम्मको तलब राख्न बाध्य भयो । कसरी मिलायो त ? अस्पतालले स्वास्थ्यकर्मी शाक्यलाई तपाई र अस्पताल प्रशासन दुवैलाई अप्ठ्यारो पर्ने भन्दै सबै घर बिदा र सञ्चित विदा काटेर तलब खुवाएको अस्पताल प्रशासनका लालप्रसाद लामिछाने बताउँछन् । ‘घर खर्च चल्ने र मेरो उपचार गर्ने यही तलबबाट हो, कहिले हाजिर रोक्ने कहिले तलब रोक्ने, यसले गर्दा मलाई समय–समयमा समस्या पर्दै आएको छ’ उनले भनिन्–‘मलाई अपांगमैत्री काम र हाजिर गर्न दिएको भए सञ्चित बिदा र घर बिदाको दुइ लाख भन्दा बढि रकम पाउन सक्थे, त्यो सबै काटिदिए ।’

यस्तो भन्छ अस्पताल प्रशासन
धौलागिरी अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा.शैलेन्द्र बि पोखरेलले अशक्त स्वास्थ्यकर्मी शाक्यको व्यवस्थापनको लागि छलफल भइरहेको बताउँछन् । तत्कालै व्यवस्थापनको लागि केही समस्या भएको भन्दै भवनहरु निर्माण भइरहेको र केही समयमै उहाँलाई व्यवस्थापन गर्ने बताए । ‘ग्राउण्ड फ्लोर उहाँको माग छ, उहाँ बसिरहेको अहिलेको ठाउँ उहाँको लागि अनुकुल छैन,’ डा.पोखरेलले भने, ‘त्यहिबाट अस्पताल आउ जाउ गर्न उहाँलाई निकै कठीन छ, उहाँको समस्या हामीले बुझेका छौँ, व्यवस्थापन हुन्छ, केहि समय लाग्न सक्छ ।’

शाक्यको माग अपाङ्गमैत्री काम, अवसरको रहेको र अस्पतालको भौतिक संरचना निर्माणाधिन अवस्थामा रहेकाले पूर्ण अपांगमैत्री भइनसकेकाले त्यसको लागि अस्पताल प्रशासन र व्यवस्थापनले छलफल गरिरहेको उनको भनाई छ । उनको सहजताको लागि तल्लो फल्याटमै व्यवस्थापन गर्ने गरि पहल भइरहेको डा.पोखरेलले बताए ।

यस्तो भन्छ व्यवस्थापन पक्ष
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी रानाले स्वास्थ्यकर्मी शाक्यलाई कोठामा हाजिर गराउने र कोठामै पुगेर तलब खुवाउन नसकिने बताए । अस्पतालले गर्नुपर्ने सहयोग गरिसकेको र अब उनको लागि कोठामै काम दिने, हाजिर गराउने र तलब खुवाउन नसक्ने जिकिर अध्यक्ष रानाको छ ।

‘शाक्यको माग अपाङ्गमैत्री वातावरण भनेर उनलाई बोकेर अस्पाताल ल्याउने, पु¥याउने गर्न सकिन्न,’ अध्यक्ष रानाले भने, ‘काम गर्नु सक्नुहुन्छ भने आउनुस् हाजिर गर्नु, काम गर्नु भनेका छौँ । उनको सहजताको लागि यहाँ धेरै बिरामी आउने भीडभाड हुने र कामको चापले थप समस्या हुन्छ भनेर अन्तै सहज हुने कार्यालयमा सरुवा हुन आग्रह गरेका हौँ ।’

शाक्यले अस्पतालमा काम गर्नको लागि भुइँ तलामा कोठा व्यवस्थापन गर्नको लागि माग समेत गरेको भन्दै उनले भने अनुसारको व्यवस्थापन गर्न तत्काल सम्भव नभएको बताए । शाक्यलाई तत्कालै अन्तै सरुवा हुन र अवकास हुन दबाब नदिएको भन्दै उनको सहजताको लागि कुनै कार्यलयमा सजिलो पर्ने भए उता सरुवा हुन सुझाएको बताए ।

के भन्छन् नागरिक अगुवा अधिकारकर्मी
अधिकारकर्मी राम शर्माले दुर्घटना पछिको अपांगता भोगिरहेका स्वास्थ्यकर्मीबारे मानवीय ढंगले पनि अस्पतालले यथोचित व्यवस्थापन गर्न राम्रो हुने बताए । ‘स्थायी कर्मचारी दुर्घट्नाका कारण अशक्त भएकी हुदा दया, माया भन्दा आत्मसम्मान सहित अपांगमैत्री अवसर खोजेकी छन्’ शर्माले भने, ‘शाक्यले आफु सक्दो सुहाउदो काम गर्न इच्छुक छन्, अस्पतालले उनले काम गर्न नै सक्दैनस भन्छ ।

अस्पताल कवितालाई जनस्वास्थ्यमा सरुवा वा पेन्सन निक्लियोस् भन्नेमा छ, समस्याको दुई जड यसैमा छ ।’ कबितालाइ उनको शाररिक समस्या अनुरुपको फाट हेरी हाललाइ सम्मानपुर्बक काममा लगाउनु नै अस्पताल र स्वास्थ्यकर्मी शाक्य दुवैको हितमा हुने शर्माको सुझाव छ ।

धौलागिरी अस्पताल व्यवस्थापन समितिका पूर्व अध्यक्ष रामजी सुवेदीले अस्पताल जस्तो ठुलो निकायले एक अपांग कर्मचारीलाई व्यवस्थापन गर्न सक्ने र सम्भव रहेको बताए । जगत पाठकले दुर्घटना पछि अशक्त बनेकी स्वास्थ्यकर्मी शाक्यलाई गर्न सक्ने काम नदिएर अन्यथा गर्नु अमानवियताको पराकाष्ठा भएको बताए ।

सामाजिक सञ्जाल फेसबुकहरुमा पनि अस्पताल व्यवस्थापन समिति र प्रशासन प्रति तिव्र रोष देखिन थालेको छ । यसमा माथिल्लो निकायबाट सिअहेब शाक्यले गर्ने काम गर्ने गरी थप कर्मचारीको व्यवस्था गर्ने र उनलाई अपांगमैत्री हिसाबले व्यवस्थापन गर्नु नै राम्रो विकल्प भएकोमा धेरैको जोड छ ।

यो पनि पढ्नुहोस्

धौलागिरी अस्पताल विवाद : व्यवस्थापनबाट भाग्ने कि समाधान गर्ने ?

  1. अपांग मैत्रीपुर्ण बाताबरण बनाई काम काज मा लगाइयोस है

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *