कोरोना कहरमा बडिगाडको प्रयास: अरु पालिकालाई पनि पाठ

बडिगाडमा २ सय ९७ जना भारतबाट आएका क्वारेन्टिनमा छन् भने थप २ सय जना राख्ने क्षमताको क्वारेन्टिन तयार गरिएको छ । राहत वितरणमा कुनै फोटो सेसन नगरी कुपन प्रणाली लागु गरेको गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता घरघरमै पुगेर वितरण गरेको छ ।

कमल पौडेल

अहिले सिँगो विश्व कोरोना कहरबाट गुज्रिरहेको छ । अर्थतन्त्रमा भारी गिरावाट आइरहेको छ भने अहिले सम्म अबलम्बन गरिएका अर्थव्यवस्था माथि नै प्रश्न उठ्न थालेको छ । संसार पिरोलिएको विषयमा नेपाल अछुतो रहने कुरै रहेन । नेपालमा चैत्र दोश्रो साताबाट सुरु भएको बन्दाबन्दि अहिले पनि चलिरहेको छ । यसको अन्त्य कहिले ? उत्तर सायद छैन । बन्दाबन्दिले कोरोना नियन्त्रणमा रहेको भन्दै गर्दा रोजगारीको शिलशिलामा भारत पुगेका र भारतवाट नेपाल आउने नागरिक बढे सँगै कोरोना सन्त्रास वढिरहेको छ । देशभर रहेका ७ सय ५३ पालिकाले आ–आफ्नो तरिकाले भारतमा पुगेका आफ्ना नागरिकहरुलाई उद्धार गरिरहेका छन् । तर, उचित क्वारेन्टाइन व्यवस्थापन गर्न चुकिरहेका छन् । नेपाल सरकारले कोरोना भाइरस सम्बन्धी क्वारेन्टिन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड–२०७६ लागु गर्दै स्थानीय तहहरुलाई सोहि बमोजिम क्वारेन्टिन व्यवस्थापन गर्न निर्देशन गरेको छ । तर, स्थानी तह सँग सो क्षमता छैन । जस्तै मापदण्डले हरेक क्वारेन्टाइनमा मेडिकल अधिकृत, स्वास्थ्य परिचारिका, प्यारामेडिक सहित जनशक्ति हुनुपर्ने भनेको छ । धेरै स्थानिय तहले मेडिकल अधिकृत, स्वास्थ्य परिचारिका देख्न पनि पाएका छैनन् । बालबालिका, जेष्ठ नागरिक, गर्भवति तथा दिर्घरोगीहरुलाई क्वारेन्टिनमै छुट्टै व्यवस्था भनेको छ । तर त्यो अहिलेका क्वारेन्टिनमा देखिएका छैनन् । अहिले स्थानीय तहहरु कुन मोडलमा क्वारेन्टिन व्यवस्थापन गर्ने ? कति क्वारेन्टिन आवश्यकता पर्ने ? लगायतको योजना बनाउन र कार्यान्वयन गर्न जुटिरहेका छन् । जुन आफैमा प्रयाप्त छैनन् तैपनि प्राप्त स्रोत र साधनको अधिकतम उपयोग गर्न लागि परेका छन् ।

यसैबीच बडिगाड गाउँपालिकाले गरेका प्रयास र उसले अपनाएको तरिकाको विषयमा म यहाँ चर्चा गर्न गइरहेको छु । चैत्र दोश्रो सातादेखि बन्दाबन्दि सुरु भएपछि देश भित्र विभिन्न स्थानमा समस्यामा परेका नागरिकलाई गाउँपालिका भित्राउन र सुररिक्षत राख्न र घरमै एकान्तवासमा बसाउन प्रयत्न सुरु गरेको गाउँपालिकाले देश वाहिरवाट आएका नागरिकलाई उद्धार गर्दै गाउँपालिका भित्र विभिन्न स्थानमा तयार गरिएका एकान्तवासमा राख्ने काम सुरु ग¥यो । निकै सन्त्रासमा भएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई बिश्वासमा लिन पिपिइ, थर्मलगन, मास्क, सेनिटाइजर लगायत स्वास्थ्य सामाग्री सहित अघि बढेको गाउँपालिका राहत वितरणमा कठोर बन्ने निति लियो । तत्कालै राहत वितरण गर्न नहुने पक्षमा रहेको पालिका चौतर्फी दबाब पछि गाउँपालिकाभर ५ सय ८५ परिवारलाई राहत वितरण ग¥यो । पहिलो चरणमा भारतवाट फर्किएका १ सय ७१ नागरिकको आरडिटी परिक्षण गरेको पालिकाले दोस्रो चरणको रणनीति बनायो । विश्वमा कोरोनाको संक्रमणको गतिको आधारमा ३२ हजार वढि जनसंख्या भएको गाउँपालिकामा १४ हजार १ सय ११ जना नागरिकलाई कोरोनाको लक्षण देखिन सक्ने र २८ सय २३ जनालाई अस्पताल भर्ना गर्नुपर्ने र २ सय ८२ जनालाई भेन्टिलेटर चाहिने भएकोले समयमै सजग हुनुपर्ने निश्कर्ष निकाल्यो । सोहि अनुसार औषधी सहित स्रोत साधनले भ्याए सम्म तयारीमा लाग्न सुरु ग¥यो । दोस्रो चरणमा भारतवाट अधिकतम ५ सय जना रोजगारी गुमेर फर्किन सक्ने र उनीहरुको लागि क्वारेन्टिन व्यवस्थापन गर्न ६ विद्यालयमा सकिने निश्कर्ष पूर्ण सफल हुन सकेन । किनकी गाउँपालिकाले भने जस्तै गरेर नागरिक नफर्किइ आफ्नै तरिकाले लुकेर फर्किदा केहि चुनौती थपियो । शुरुमा हरेक वडा र टोलमा रहेका विद्यालयमा क्वारेन्टिन बनाउने तयारी गरेको गाउँपालिका क्वारेन्टिन व्यवस्थापन निर्देशिका र आफ्नै अनुभवले पछाडि हट्यो । आफ्नै अनुभव के थियो भने गाउँपालिकाले क्वारेन्टिनमा बस्न भनेका मानिस रातको समयमा लुकेर घरमा पुग्ने र विहान आउने । त्यसपछि गाउँपालिकाले नयाँ योजना बनायो । निश्चित क्वारेन्टिन क्षेत्र तोकेर भारतवाट आउने नागरिकलाई क्रमैसंग व्यवस्थापन गर्दै जाने, त्यो गर्दा एक क्षेत्रको नागरिक अर्को क्षेत्रमा पनि पर्न सक्ने र सिंगो व्यवस्थापन गाउँपालिकाले गर्ने । त्यो भनेको पालिका भित्र मध्यपहाडी लोकमार्गको पहुँचमा रहेका केहि विद्यालयमा मात्रै क्वारेन्टिन बनाउने । जस अन्र्तगत वडा नं. २ को त्रिभुवन नमुना मावि, वडा नं. ५ को भानु मावि र खार मावि, पौदिटारी आधारभुत विद्यालय, वेयलफेयर आवासिय मावि, वडा नं. ६ को बुद्ध मावि र वडा नं. ७ को भिमगिठे माविमा अहिले क्वारेन्टाइन सञ्चालनमा छन् ।

भारतमा रहेका नागरिक फर्किन थालेपछि गाउँपालिकाले वडा नं. ७ का अध्यक्ष कृष्ण गुरुङको संयोजकत्वमा राजन पाइजा र सुचना अधिकृत निसान अधिकारी रहेको द्रुत समन्वय समिति गठन गरि आवश्यक समन्वय गर्दै भारतवाट हिँडेका नागरिकलाई नाकामै गाडी पु¥याएर उद्धार शुरु ग¥यो । सुनौलीमा एक जना सम्पर्क व्यक्ति तोकी कृष्ण नगर र सुनौलि नाकावाट उद्धार गरिरहेको छ । यसरी एउटा बसमा ल्याएका मानिसलाई एउटा क्वारेन्टिनमा राख्दै हाल सम्म ३३१ नागरिक क्वारेन्टिनमा छन् । जस अन्र्तगत २९८ जना पुरुष, ३ जना बालिका, ८ जना बालक, २६ जना महिला मध्ये एक जना गर्भवति समेत छन् । बालबालिका र गर्भवतिको लागि सहज कोठाको व्यवस्थापन गरिएको र परिवार सँग समन्वय गरि पोषणमा ख्याल गरिएको गाउँपालिकाले जनाएको छ ।

ती नागरिकको सहि व्यवस्थापनको लागि स्वास्थ्य शाखाका हेल्थ असिष्टेन्ट चुडामणि कँडेलको नेतृत्वमा जनस्वास्थ्य निरिक्षक दिपेन्द्र केसी र ल्याव टेक्निसियन अनिता थापा रहेको Case Invistication and Cantact tracing Team  गठन गरि आवश्यक तयारी ग¥यो । सुरक्षाको लागि प्रहरी जनशक्ति कम भएको भन्दै माथिल्लो निकायमा अनुरोध गरि जनशक्ति थप्ने काम पनि गरियो । जस अनुसार अहिले सञ्चालनमा आएका क्वारेन्टिनमा कम्तिमा हेल्थ असिष्टेन्ट सहित २ जना स्वास्थ्यकर्मी २ जना प्रहरी, स्वयंसेवक सहित २४ घण्टा रेखदेख गरेको छ भने प्रत्येक क्वारेन्टिनमा बस्ने नागरिकको दैनिक स्वास्थ्य अवस्था जाँच्ने व्यवस्था मिलाएको छ । पूर्ण मापदण्ड नभए पनि न्युनतम झुल, परिवारको समेत सहयोगमा वेड विस्तारा सहित खानाको लागि मेस सञ्चालन गरिएको छ । प्रत्येक क्वारेन्टिनमा पिपिइ, मास्क, सेनिटाइजर सहित खाना खुवाउने स्वयंसेवकको प्रवन्ध गरेको छ । शुरुमा केहि असन्तुष्टि जनाएका स्थानीयहरुले अहिले गाउँपालिकालाई पूर्ण साथ दिएका छन् । गाउँपालिकाका आमनागरिकको सहयोगले आफुहरुलाई काम गर्न हौसला बढेको सम्बद्ध अधिकारीले जनाएका छन् । स्थानीयले आफ्नो नजिकको क्वारेन्टिनमा गर्न सक्ने सहयोग गरिरहेका छन् । कतिपय व्यक्तिले गाउँपालिकाको विपत व्यवस्थापन कोषमा रकम जम्मा गरिरहनु भएको छ भने सामाजिक संघ संस्थाले पनि सहयोग गरेका छन् । कतिले क्वारेन्टाइनमा लाग्ने खाना खर्च व्यहोर्ने घोषणा गर्नुभएको छ ।

हाल सम्म गाउँपालिका भित्र १४५ जनाको पिसिआरको लागि स्वाब संकलन गरिएकोमा ३९ जनाको रिपोर्ट आइसकेको छ । जसअनुसार २ जनामा कोरोना पोजेटिभ देखिएपछि धौलागिरी अस्पताल बागलुङको आइसोलेसनमा उपचार भैरहेको छ । बाँकीको नतिजा नेगेटिभ आएपछि बडिगाडबासी हौसिएका छन् । क्वारेन्टिनमा बसेको ५ दिन पुग्दा साथ पिसिआर परिक्षण गर्ने व्यवस्था मिलाएको छ भने पिसिआर जाँचमा कोरोना नेगेटिभ आएका नागरिकलाई १४ दिन सम्म क्वारेन्टाइनमा राखि आरडिटि टेष्ट गरि घर पठाउने कार्यक्रम तय गरिएको छ । अहिले सम्म गाउँपालिकाले कोरोना कहरको लागि राहत समेत गरि ३४ लाख बढि भुक्तानी दिएको छ भने हाल सम्म जम्मा ५० लाख भन्दा माथि खर्च भएको अनुमान छ । जसको लागि गाउँपालिकाको पुँजिगत खर्च अन्र्तगतको रकमबाट काटिएको छ । प्रदेश सरकारको ५ लाख, राहत कोषमा स्थानीयको सहयोग र पुँजिगत तर्फको वार्षिक कार्यक्रमबाट रकम कटौती गरि विपत कोषमा लगेर खर्च गरिएको छ । तर, भौतिक विकासको बजेट भने काटिएको छैन । तालिम, भ्रमण लगायत शिर्षकको बजेट कटाएर विपत कोषमा राखि खर्च गरिएको हो ।

बडिगाड गाउँपालिकाले क्वारेन्टिनमा खट्ने स्वयंसेवकहरुलाई गाउँपालिकासँग सम्झौता गराएर नियुक्ति पत्र दिइएको, खाना पकाउने, सुरक्षामाकर्मी, स्वास्थ्यकर्मीको पिसिआर जाँचको तयारी गरेको, एम्बुलेन्स चालकलाई प्रत्येक १५ दिनमा पिसिआर जाँचको व्यवस्था गरेको छ । गाउँपालिका भित्र भएका २ वटा एम्बुलेन्सलाई गाउँपालिकाले कोरोना अवधिको लागि आफ्नो मातहतमा लिइ चालकलाई सरकारी चालक सरह हुने गरि नियुक्ति दिई सत प्रतिशत भत्ताको व्यवस्था गरेर परिचालन गरेको छ । वडा नं. १ का अध्यक्ष बोमबहादुर थापाको नेतृत्वमा खाद्यान्न व्यवस्थापन समिति, वडा नं. ३ का अध्यक्ष खड्क पुनको नेतृत्वमा लकडाउन प्रभावकारी बनाउने समिति परिचालन गरेको छ। गण्डकी प्रदेशको समेत नाका रहेको वडा नं. २ मा वडा अध्यक्ष ढालप्रसाद शेरचन सहितको टोलीले प्रभावकारी काम गरिरहेको छ । गाउँपालिका अध्यक्ष सहित सवै वडा अध्यक्ष फिल्डमै खटिरहनुभएको छ भने प्रमुख प्रशासकिय अधिकृत बालकृष्ण सुवेदी नेतृत्वको कर्मचारी, निरञ्जन यादव नेतृत्वको स्वास्थ्यकर्मी पूर्ण रुपमा तयारी र व्यवस्थापनमा जुटेका छन् । बन्दाबन्दिको समयमा पनि बडिगाड गाउँपालिकाका सवै कर्मचारी हाजिर छन् र निरन्तर काममा छन् । प्रत्येक कर्मचारीको कार्यविभाजन गरि कार्य भैरहेको छ । अहिले पालिाकाका बिभिन्न क्वारेन्टिनमा भारतबाट आएका २ सय ९७ जना छन् । थप २ सय जना क्वारेन्टाइनमा राख्न क्षमता तयार गरिएको छ भने एक हप्तामा १५ दिन पुगेकाहरुलाइ क्वारेन्टाइनबाट घर फर्काउने कार्य हुने भएकोले भारतमा रहेका नेपालीलाई घर फर्कन हतार नगर्न र सम्भव भए सम्म एक हप्ता पछाडि फर्कन गाउँपालिकाले आग्रह गरेको छ ।

राहत वितरणमा कुनै फोटो सेसन नगरी कुपन प्रणाली लागु गरेको गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता घरघरमै पुगेर वितरण गरेको छ । बडिगाडवासीलाई सञ्चारको माध्यमबाट सू–सूचित गराउन सुचना सन्देश सम्प्रेषण गरिरहेको छ ।

भौतिक विकास (पूर्वाधार निर्माण)को कार्यलाई नरोकेको गाउँपालिकामा सञ्चालित योजना सामाजिक दुरी कायम गर्दै सञ्चालन भैरहेका छन् । योजना फरफारक सहितका कामलाई द्रुतता दिएको गाउँपालिकामा २ जनामा कोरोना संक्रमण देखिए पछि भने फरफारकलाई केहि समय रोकेको छ । यद्यपी १ हप्ता पछि पुनः सुचारु हुन सक्ने देखिन्छ । अहिले सम्म कुल बजेटको ५१ प्रतिशत माथि भुक्तानी भैसकेको छ । जस अन्तरगत पुँजीगत तर्फ ४० प्रतिशत वढि भुक्तानी भैसकेको छ । अधिकांश योजनाको कार्यसम्पन्न भएको र फरफारक मात्रै वाँकी रहेकोले वाँकी एक हप्तामा भुक्तानी ७० प्रतिशत पुग्न सक्ने पालिकाले जनाएको छ ।

कोरोना कहर संग जुध्दै गरेको बडिगाड गाउँपालिकामा नेपाल सरकारले तोकेकै मापदण्डमा क्वारेन्टिन सञ्चालन हुन सकेका छैनन् । तर, राम्रो व्यवस्थापन गर्ने पालिका भित्र बडिगाड गाउँपालिका पर्छ भन्दा अतिशयोक्ति हुने छैन । त्यसैले बडिगाड गाउँपालिकाले गरिरहेको मोडल पनि कोरोना कहरबाट जोगिन जोगाउन राम्रो सिकायत हुन सक्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *