कोरोना कहरमा ‘रिर्पोटिङ’ अनुभव

कोपिला कंडेल
धौलागिरी टिभि/एफएम

कोराना संक्रमणको महामारीले विश्वनै आक्रान्त भईरहेको बेला त्यसको प्रभाव संचार क्षेत्र र हामी सञ्चारकर्मी माथि नपर्ने कुरै भएन । कोरोना महामारीको जोखिमबाट बच्न र बचाउन सरकारले गरेको लकडाउनको आब्हान पछि सम्पूणर् मिडिया जगत झन् धेरै जागरुक र सचेत बन्नुपरेको छ । लकडाउनको अबधिमा घर भित्र बसेर कोरोनाको अवस्थाबारे नयाँ-नयाँ कुराको अपेक्षा गरेका नागरिकको खुल्दुली मेटाउने र छिटो भन्दा छिटो यसको अवस्थाबारे जानकारी गराउने दायित्व र जिम्मेवारीबाट मिडिया जगत पन्छिन नमिल्ने हुदाँ पत्रकारलाई लकडाउन पछिको समय झन् बढि ब्यस्त बन्दै जानु स्वभाविक हो ।

यद्यपी पत्रकार पनि यही समाजको प्राणी हौ डर, त्रास र भय त भैहाल्छ नै । मेरो अनुभुतिमा लकडाउन अगाडी र पछाडीको परिवेशमा काम गर्ने सन्दर्भमा केही अप्ठ्यारो त भएको छ नै । तर पनि हरेक चुनौती सँगै केहि अवसर पनि आएको हुन्छ । कठिन परिस्थितिमा कसले कस्तो भुमिका निर्वाह ग¥यो भन्ने कुरा समाजले पनि हेक्का राखेको हुन्छ । हामी सचेत भएर काम ग¥यौ भने धेरै भयभित हुन जरुरी छैन । कोरोनाले एका तर्फ आफु कसरी सुरक्षित बन्ने र अर्को तर्फ अरुलाई कसरी सचेत हुन र नयाँ नयाँ घटनाक्रमबारे आमनागरिक सामु सुचना दिने भन्ने जिम्मेवारी सँगै चुनौति थियो र छ । कठिन परिस्थितिमा आफु बचेर नै पत्रकारिता गर्नुपर्छ भन्ने मेरो मान्यता हो । जोखिमपुणर् स्थानमा जाँदा र सुचना लिदाँ सामाजिक दुरी कायम ग¥यौ भने हामी सुरक्षित बन्न सक्छौ । अर्को कुरा हामीले काम गर्ने कार्यस्थल पनि त्यति सुरक्षित छैनन् । एफएम, टेलिभिजन वा छापा माध्यम नै भनौ, एउटै कम्प्युटर, कुर्ची, टेबल, माइक लगायतका सञ्चार सामग्री धेरै जनाले प्रयोग गर्नुपर्ने बाध्यतामा छौ । यसबाट थप असुरक्षित भएको अनुभुति हुन्छ । किनकी हामी एक जना मात्र सुरक्षित भएर हुँदैन । हाम्रा सम्पर्क सम्बन्ध परिवार देखी अन्य बाह्य ब्याक्ति संग जोडिएका हुन्छन् । हामी सबैको आनिबानी सुरक्षित छ कि छैन । काम गर्दा पटक-पटक साबुन पानीले हात धुने, स्यानीटाईजर प्रयोग गर्ने वा सामाजिक दुरी कायम गरेका छौ की छैनौ भन्ने कुराले महत्व राख्छ ।

अतः सबै भन्दा ठुलो आत्मविश्वास हो । वास्तवमा म आँफुलाई कोरोना लाग्दैन र लागे पनि जित्न सक्छु भन्ने लाग्छ । तर मेरो कारणले परिवारमा कोरोना सर्छ कि भन्ने ठुलो डर लाग्छ । हामी सुरक्षित भएर काम ग¥यौ भने खासै डराउनु नपर्ला । किनकी आत्मविश्वास र आत्मबल सबै भन्दा ठुलो औषधी हो । मलाई कोरोना लाग्दैन र लागे पनि निको हुन्छ भन्ने मानसिकता बनाईयो भने हर परिस्थिति सहज बन्दै जान्छ । हामीले हर कुरालाई सहज रुपमा स्वीकार गर्ने बानीको बिकास गर्न जरुरी छ । यो सामान्य रुघाखोकी जस्तो भाईरस हो भन्ने ठानेकी छु । हामी समस्यासँग भागेर होईन, स्वीकार गरेर अगाडी बढ्नुपर्छ, तव जीवन सहज र सरल बन्छ । पेशागत दायित्व बहनमा पनि यही सोच र बिचारले अघि बढेको छु । मलाई यो संकटमा जे जति गर्न सकेको छु, खुशी छु, गर्व छ ।

संगम घर्ती मगर
नागरिक/मुक्तिक्षेत्र दैनिक

नेपालमा कोरोना भाइरस भित्रिएको सुरुवाती चरणमै बागलुङमा दुई जनालाई कोरोना संक्रमण पुष्टी भएपछि बागलुङमा एक खाले डर र सन्त्रास फैलियो । मुलक लकडाउनमा गयो । तर पत्रकार र सञ्चारकर्मी लकडाउनमै सिमित हुने अवस्था थिएन । संकटको बेला झन् सक्रिय र जिम्मेवार बनेर प्रस्तुत हुने पेशा हो पत्रकारिता । लक डाउनका कारण छापाखाना बन्द भएपछि पत्रपत्रिकाका प्रकाशन पनि बन्द हुन पुगे । यद्यपी रेडियो टिभी र न्यू मिडीयाको रुपमा आएको अनलाइनमा पत्रकारिता थप सक्रिय बन्यो । पत्रकार साथीहरु जोखिम मोलेरै फिल्ड पुगेर सञ्चार सामग्री पस्कने काम गर्नुभयो । म आफु छापा र रेडियोसंग आवद्ध भएका कारण मलाई फिल्डमा अनिवार्य पुग्नैपर्ने बाध्यता थिएन । बागलुङमा भेटिएका पहिलो र दोस्रो कोरोना संक्रमितको बारेमा कोठामै बसेर रिपोर्टिङ गरे ।

एक व्यक्तिले अर्कोलाई देख्दा डराउनुपर्ने संक्रामक रोग भएका कारण बिना बाध्यता बाहिर निस्कनु हुन्न भन्ने मेरो धारणा हो । कोठामा खाना खान र सुत्नका लागि पुग्ने पत्रकारको बानी सुरुवाती दिनमा कोठा भित्रै बसेर काम अलि अप्ठ्यारो पनि भयो । कोरोनाको औषधी पत्ता नलागेको दैनिकजसो धेरै किसिमका भ्रमहरु आईरहने र पत्रकार भएको नाताले सबैभन्दा धेरै भ्रमहरुको सामना हामीले गर्नुपर्ने रहेछ । जानकारी र अपडेट खोज्दा भेटिने गलत सन्देशहरुले मनमा कहिलेकाँही आशंका पैदा गराउँदो रहेछ । थाहा नहुँदा भन्दा ज्यादा थाहा भो भने झन् गाह्रो हुँदोरहेछ । बागलुङमा भेटिएकी दोस्री संक्रमति तर पहिले निको भएकी गौंडाकोटकी ६५ वर्षीया आमा निको भएर घर फर्केपछि एक खाले भिन्दै उर्जा जाग्यो । उहाँसंगका कुराकानीले कोरोना त केही होईन भन्ने खालको भान पनि गराउँथ्यो । विश्वभर दैनिक चार अंकमा ज्यान गुमाउनहरुको संख्याले डर पनि पैदा गथ्र्यो । छोरी परीक्षा सकिएपछि मामाघर गएकी थिईन् । बहिनी पनि लक डाउन सुरु हुन लाग्दा घर गएपछि मबाट कोठामा एक्लै थिएँ । मबाट परिवारमा सर्ने सम्भावना नभएपछि मलाई बाहिर निस्कनका लागि केही सजिलो महसुस पनि भयो । बागलुङमा कोरोना संक्रमण भेटियो भन्ने थाहा पाएपछि घर परिवार आफन्त साथीभाई सबैले फोन गरेर अवस्था बुझ्नुभयो । बाआमाले फोन गरेर घरमा आउन भन्नुहुन्थ्यो । पाँच बर्षकी छोरीले फोन गरेर बाबा बाहिर नजानु है कोरोना लाउँछ भन्दा धक्क छाति फुल्छ । जीवन संगिनीले उस्तै चिन्ता गर्छिन् ।

म कोरोना बारेमा मनमा भएका द्विविधाहरु एक छेउमा राखेर परिवार आफन्तलाई सम्झाएर ढुक्क बनाउने प्रयास गर्छु र गरिरहेको छु । कोरोना भाईरसको कारण एक खालले स्वदेशमै प्रदेशी बनाएको छ । लक डाउनपछि आफन्त, घरपरिवार छोरी कसैसंग भेट भएको छैन । फोनमा सञ्चो विसञ्चो सोध्ने मात्रै हो । सुरुवात दिनमा कोरोनाबाट कसरी जोगिने भन्ने चिन्ता थियो । अब कोरोनाबाट जोगियो भने त्यसपछि कसरी जोगिने भन्ने चिन्ता छ । कोरोनाले आर्थिक क्षेत्र तहस नहस हुँदा त्यसको सबैभन्दा ठूलो मार सञ्चार संस्थामा पर्नेछ र त्यसको प्रत्यक्ष हानी सञ्चारकर्मी र पत्रकारले व्यहोर्नुपर्नेछ ।

अर्जुन कार्की
जननिगरानी साप्ताहिक/खबरवे अनलाइन

कोरोना भाइरसको जोखिम बढ्दै गएपछि नेपालभर काम गर्ने पत्रकारका लागि अवसर र चुनौती दुवै एकै पटक बढेको छ । अहिले काम गर्न सक्दा साहसिक मानिने तर सुरक्षा भन्दा पनि आफ्नै ज्यानलाई बढी जोखिममा राखेर काम गर्नुपर्ने अवस्था छ । कोरोना संक्रमणको बेला अहिले अग्रपंक्तिमा रहेर काम गर्नेहरुमा पत्रकार पनि रहेका छन् । अहिले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी पछि हामी पत्रकारहरु कोरोना विरुद्धको लडाईमा अग्रपंक्तिमा रहेर काम गरिरहेका छौं ।पत्रकारिता क्षेत्रमा ७ वर्षदेखि क्रियाशिल रहेको मैले पहिलो पटक चुनौतीका बीच नागरिकलाई सुरक्षित रहन र ताजा समाचार सम्प्रेषण गरिरहेको छु । कोरोना संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेको दुई महिना बितिसक्दा बागलुङमा पनि दुई जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

कोरोना संक्रमण फैलिन नदिन मुलुक लकडाउन भएको केहि दिनमै बेल्जियममा आमालाई भेट्न गएर घर फर्किएकी १९ बर्षिय युवतीमा संक्रमित फेला परिन् । त्यो अवस्थामा बागलुङमा त्रास फैलिरहेको थियो । आम नागरिकमा त्रास फैलिइरहँदा त्यसमा म पनि अछुतो रहन सकिन ।

बागलुङमा संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जनायो । र त्यसपछि उनको अवस्था र छिमेकीहरुमा परेको प्रभावको बारेमा फोनबाटै सम्पर्क गरेर समाचार सम्प्रेषण गरेको थिए । सुरुवात चरणमा भएर पनि हुनसक्छ, जिल्लामा पहिलो संक्रमित देखिदा अनलाईनमा समाचार राखेको केहि समय फोन र सामाजिक सञ्जालमा आएका म्यासेजले धेरैलाई तनाव महुशुस गरेको प्रष्ट थाहा हुन्थ्यो ।कोरोना महामारी र लकडाउनको बीचमा पत्रकारिता गरिरहँदा सकेसम्म कार्यालयबाटै समाचार लेख्ने र प्रसारित गर्ने काम गरियो । यसबीचमा भिडियो फुटेज र फोटोका लागि घर बाहिर निस्किरहँदा माक्स र स्यानिटाइजरको प्रयोग गर्नाले जोखिम केहि कम भएको महुशुस भएको थियो । माक्स र सेनिटाइजर कार्यालय र पत्रकार महासंघ बागलुङले उपलब्ध गराएको थियो । यसबीचमा कोरोना लाग्छ कि भन्ने डर अस्पतालबाट दुई जना संक्रमित निको भएर फर्किने बेला उनीहरुको आइशोलेसन अनुभव र कोरोनालाई जित्दाको खुशिको भिडियोमै समावेश गर्नका लागि अस्पताल पुग्दा लाग्यो । अरुलाई कोरोनाबाट जोगिनको लागि दुरी कायम गर्नुपर्छ भनेर समाचार लेखिरहे पनि त्यस अवस्थामा भने भीडभाड भइरहेको थियो र त्यसमा आफै जोगिएर रिपोर्टिङ गरेको थिए ।

मेरो पेशाको बारेमा घरमा सबैले राम्रोसँग बुझ्नुभएको छ । त्यसैले अहिलेको अवस्थामा पत्रकारिता गरिरहँदा मलाई आफै सुरक्षित भएर काम गर्न भनिरहनु भएको छ । कार्यालयबाट बाहिर रिपोर्टिङको लागि जाँदा माक्स, पञ्जा र सेनिटाइजरको प्रयोग गर्न घरबाट सुझाव छ । यस बीचमा समाचार संकलनका लागि बाहिर जाँदा लकडाउनमा तिमीहरुलाई मोज छ भनेको सुन्दा नराम्रो पनि लाग्थ्यो । पर्सामा पहिलो पत्रकारलाई कोरोना देखिए पछि दुखी भन्दा खुसी हुनेको संख्या देख्दा अच्चम लाग्यो । पत्रकार त्यसै काम नपाएर सडकमा हिडेको हुँदैन । नागरिकहरुलाई सही सुचना दिनको लागि फिल्डमा गएर रिपोर्टिङ गर्नुपर्छ । त्यसैले पत्रकारहरु रहरले भन्दा पनि बाध्यताले सडकमा हिडेको छन् भन्ने आम मानिसलाई अझै बुझाउनु पर्ने अवस्थामा रहेछौ भन्ने अनुभूति भयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *