कोरोना मात्र होइन, युट्युव आंतक पनि रोक

सम्पादकीय

विश्वभर अहिले कोरोना भाइरस (कोभिड १९) को आतंक छ । तर, नेपालमा कोरोना आतंक मात्र छैन, यो देशमा युट्युवर आतंक पनि उस्तै कहाली लाग्दो छ । पछिल्लो रुकुम, जाजरकोटको नरसंहार घटनामा अहिले बन्दाबन्दी (लकडाउन)का बाबजुद पनि युट्युवरको दैनिक भीड छ । घटना भएको भोलीपल्ट देखि जारी युट्युवेको आजको दिन सम्म पनि उस्तै शैलीमा जाने आउनेको संख्या बाक्लो छ । युट्युवरले सूचना दिने कुरा राम्रो हो । कतिपय युट्युवर सञ्चालक प्रस्तोताले सही सूचना, खोजका सामग्री प्रस्तुत गरेर तथ्य ल्याउनमा पनि भुमिका खेलिरहेका छन् । यो सकरात्मक बिषय हो । तर, युट्युवरका नाममा भनिदै आएको व्यथिति र अराजकता रुकुम जाजरकोट घटनामा फेरी एक पटक छरपष्ट देखिएको छ । जुन सुन्दा र देख्दा पनि युट्युवर प्रति एक किसिमको आक्रोश, घृणा र अविश्वास पैदा हुने परिदृश्य देखिएको छ ।

देश र समाजमा व्यवस्था बदलिए सँगै अरु अवस्था पनि बदलिएको चर्चा र दावी भइरहेका बेला रुकुम घटनाले जातिय विभेदको रुप, शैली जडतामा रहेको प्रष्ट गरेको छ । यो घटनाले कथित उपल्लो जातका युवतिसँग प्रेम सम्बन्ध राखेकै कारण नवराज बिक र उनका प्रियवर साथीहरुले ज्यान गुमाएका छन् । अहिलेको २१ औं शताव्दीमा जातिय बिभेदकै उपज भएको यो नरसंहारकारी घटनाले समग्र मानव जाति कंलकित बन्न परेको छ । नवराज र आफ्ना कलकलाउदो उमेरमा भेरी नदीमा ज्यान गुमाएका युवाहरुका परिवार र आफन्त, गाउँ घर स्तब्ध छन् । उनीहरुको सपनाको आकाशमा कालो बादल मडारिएको छ । आँखामा आँशु, मन र दिमागमा प्रिय सन्तानको ताजा सम्झना र सपना आइरहेका छन् । तर, पत्रकारिताका नाममा युट्युवरहरु भने खुलेआम आँशुको व्यापारमा लिप्त छन् । पछिल्लो केहि दिन यता रुकुम जाजरकोट नरसंहार घटनाबारे युट्युवमा सनसनीपूर्ण शीर्षक र तस्बिर सहितका अनेक समाचार प्रकाशित छन् । जाजरकोट र रुकुमका गाउँले बीच काटाकाट, सुश्मालाई नवराजद्धारा पटक पटक बलात्कार, सुश्मा पहिलो पटक मिडियामा, रुकुम घटनामा वडा अध्यक्ष दोषि, बनझाक्रीले देखाए शक्ति ः भष्म पारिदिने चेतावनी, नौ दिन पछि खुल्यो रहस्य ः मेरो नन्दलाई भर्खर महिनावारी, कसरी पेटमा बच्चा भयो ?, सवित माताले गरिन् रुकुमको डरलाग्दो भविष्यवाणी जस्ता शीर्षकले सनसनी मच्चाइरहेका छन् । पछिल्ला दिनमा यस्तै भिडियोहरु युट्युव टे«ण्डिङमा छन् । यसले हाम्रो कुन दिशा तर्फ गइरहेका छौ ? र हाम्रो समाज कुन अवस्थामा छ भन्ने संकेत गरेको छ ।

पत्रकार आचार संहिता २०७३ को पहिलो संसोधन २०७७ दफा ५ अन्र्तगत पत्रकार र सञ्चारमाध्यमले गर्न नहुने कामको बारेमा स्पष्ट पारेको छ । जसअन्र्तगत उपदफा ४ को १ मा पत्रकार वा सञ्चारमाध्यमले विपत्ति वा शोकमा परेका, दुःख–पीडा भोगिरहेका ब्यक्ति वा उनका आफन्तजनमा थप पीडा पुग्ने गरी कुनै पनि विवरण, चित्र, संकेत लगायतका सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्न हुँदैन भनेर उल्लेख छ । अर्को पनि प्रष्ट हुनुपर्ने बिषय के छ अहिले सम्म युट्युवलाई पत्रकारिताको कर्म मानिएको छैन, यो मिडिया नभई माध्यम मात्र हो । तर, रुकुम घटनामा युट्युबरहरुले मृतकको शब भाइरल मात्रै गराएनन् । साथै नवराज विककी प्रेमिका भनिएकी युवतीको नाम र तस्विर समेत सार्वजनिक गरे । युवतिको पेटमा बच्चा भएको समेत घोषणा गरे । घाटमा जलिरहेको शव नजिकै पुगेर मृतकका आफन्तलाई कस्तो लागिरहेको छ भनेर मानवता र संवेदनशिलताको चीर हरण हुने गरी माइक्रोफोन तेर्साएर प्रश्न गरे । यतिका संवेदनशिल विषयमा युट्युवरको आतंकमा राज्य किन मुकदर्शक छ ? राज्यले पत्रकारिताको आवरणमा युट्युवरले गरिरहेको यस्तो आतंक र अराजकता तत्काल नियन्त्रण नगरे त्यसले अरु अनेकौ अप्रिय घटना तर्फ समाजलाई लैजाने निश्चित छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *