आदर्श संवाद : ‘लकडाउन मात्र कोरोनाको अबको बिकल्प होइन’

कोरोना भाइरसले विश्वव्यापी रुपमा भयावह सिर्जना गरेर देशमा लकडाउन गरेको तीन महिना पुरा हुन लाग्यो । नागरिक घर भित्रै साँघुरो घेरा भित्र कैद छन् । अर्थतन्त्र ठप्प छ । उकुसमुकुस बढ्दो छ । पछिल्लो समय लकडाउन लामो भएकाले अब यो विकल्प हुन नसक्ने भन्दै तिव्र आक्रोश व्यक्त हुन थालेको छ । लकडाउन खुकुलो बनाउने बारे जिल्लाका व्यवसायी अरु सरोकारवालाको धारणा राय के छ ? कोरोनाबाट पनि जोगिने र बजार दैनिकी पनि चलायमान बनाउने केके विकल्प हुन सक्लान् ? जागरण दैनिक/आदर्श अनलाइनकर्मी साधना पन्तले सरोकारवालासँग कुराकानी गर्नुभएको छ । प्रस्तुत छ, कुराकानीको सम्पादित अशंः

युवराज राजभण्डारी
अध्यक्ष
बागलुङ उद्योग बाणिज्य संघ

लकडाउन धेरै लामो भयो । यसको विकल्प सरकारले निकाल्नु पर्दछ । व्यवसायीहरु आत्तिएका छन् । घरभाडा,बैंकबाट निकालेको ऋणको व्याज, कर तिर्नुपर्ने अवस्था छ । तर व्यवसाय भने बन्द गर्नुपर्ने रे । यो अमिल्दो भो । त्यसकारणले अब लकडाउन खोल्नु पर्दछ । सामाजिक दुरी कायम गर्ने आँफु र अरुलाई सुरक्षित हुने वातावरण बनाएर लकडाउन खोल्नु पर्दछ ।

कोरोना रोगको समाधान घर भित्र थुनिएर हुँदैन । हामीहरुले अब बाहिरबाट जति पनि मानिसहरु आउँछन् । उनीहरुलाई क्वारेन्टिनमा राख्ने, सुरक्षित महुशुस गराउने र यहाँका मानिसहरुलाई पनि सुरक्षित महुशुस गराउने, उपचार राम्रो गर्नुपर्दछ र बजार खोल्नु पर्दछ । बागलुङका स्थानीय वासिन्दाहरुमा कोरोना देखिएको छैन । त्यसकारण कोरोना जोखिम रोक्न अझै पनि सहज छ । बजार खोल्ने, बजार सुरक्षित बनाउने र सवैले आफ्नो आफ्नो काम गर्नुपर्दछ । लकडाउनमा पनि बैंकहरु खोलेका छन्, किराना पसल खोलेका छन् । यहाँ मार त फेन्सी व्यवसायी, सुन पसले, कस्मेटिक पसले र साना किराना पसलेलाई परेको छ । उनीहरुको घरभाडा, व्याज र करले गर्दा यही तरिकाले लकडाउन बढ्ने हो भने उठिबास हुने अवस्था आउँछ । अब उनीहरुका लागि निश्चित समय तोकेर व्यवसाय खोल्न दिनुपर्दछ । उनीहरुलाई खान बस्न पनि समस्या भइसकेको अवस्था छ । डेढ महिना भन्दा बढि पुगिसकेको छ । व्यवसायिक जीवनमा गम्भीर जटिलता हँुदै गएको छ । व्यवसायीहरु कोरोनाले भन्दा पनि व्याज र कोठा भाडा कसरी तिर्ने हो भनेर चिन्ताले मर्ने पो हुन् की भन्ने पिर परेको छ । त्यसैले सरकारले अब लकडाउनको विकल्प तत्काल खोज्नुपर्छ ।

ललिता थापा
सञ्चालक
होटल हिल भ्यू, बागलुङ

लकडाउन भएको ७५ दिन पुग्यो । अब मानिसहरुलाई कोरोना कसरी लाग्दछ र कोरोना लाग्यो के गर्नु पर्दछ भन्ने कुरा थाहा पाईसकेका छन् । त्यसकारणले अब लकडाउन गरिराख्नु पर्दछ जस्तो मलाई लाग्दैन । मानिसहरुमा अब सामाजिक दुरी कायम गरेर दैनिकी चलाउनु पर्दछ । शुरुमा लकडाउन गर्नुपर्ने थियो । लकडाउन गरिएकाले लामो समय सम्म कोरोना भयावह र जोखिम त राकियो । यसलाई सकरात्मक मान्नुपर्दछ । तर सधैभर लकडाउन नै विकल्प हुन सक्दैन । अब कोरोनाबाट जोगिए पनि यसका कारण उत्पन्न अरु समस्याबाट मर्नुपर्ने, पलायन हुनुपर्ने अवस्था आउन सक्छ । लामो समय भयो, लकडाउनले व्यवसायीहरु धेरै मारमा परेका छन् । जति पनि अहिले कोरोना लागेको पाइएको छ, उनीहरु सबै भारतबाट आउनु भएको छ । त्यसकारणले उहाँहरुलाई व्यवस्थित क्वारेन्टि र होम क्वारेन्टिनमा राख्दै सीमा नाकाहरु कडाई गर्ने र देश भित्र जहाँ कोरोनाको प्रभाव कम छ ती स्थानमा लकडाउन खोल्नु पर्दछ । बागलुङको सन्र्दभमा भन्ने हो भने त लकडाउन व्यवसायीलाई मात्र हो कि जस्तो भएको छ । बजारमा मानिसहरुको भीड कम भएको छैन । बैंकमा मानिसहरुको घुइचो छ । किराना पसल तरकारी पसलहरुमा पनि मानिसहरु त्यत्तिकै छन् । यसकारण अब लकडाउन समस्याको समाधान भइरहन सक्दैन । बाहिरबाट आएका मानिसहरुमा निगरानी बढाउने, चेकजाँच गर्ने, क्वारेन्टिनमा राख्ने, सीमा नाकामा कडाइ गर्ने व्यवस्था मिलाउने र लकडाउन खोल्नु पर्दछ ।

अब लकडाउनको विकल्पमा मानिसहरु सचेत भइसकेका छन् । सामाजिक दुरी कायम राख्ने, सरसफाईमा ध्यान दिने र अब मानिसहरुलाई सामान्य अवस्थामा फर्कनु पर्दछ । नत्र भने अब व्यवसायीलाई धेरै समस्या पर्न जान्छ र यस विषयमा राज्यले ध्यान दिनु पर्दछ ।

देवप्रकाश घिमिरे
क्षय कुष्ठ निरिक्षक
धौलागिरी अस्पताल बागलुङ

कोरोना भाइरसको (कोभिड–१९) महामारी चिनको हुवाइ प्रान्तबाट डिसेम्बर २०१९ मा सुरु भइ अहिले विश्वव्यापी महामारीको रुपमा पैmलिइ सकेको छ भने करिव ४ लाख मानिस मृत्युको सिकार भइरहेको अवस्थामा नेपाल पनि अछुतो रहेन । नेपाल पनि अरु देश जस्तै यसको औषधीको रुपमा लकडाउन गत वर्ष चैत्र ११ गते देखि नै शुरु ग¥यो । एक हिसाबले हेर्दा नेपालमा कोभिड–१९ संक्रमण अन्य देशको तुलनामा कम भई रहेको पनि देखिन्छ । तर, अब आम नागरिक यसको विकल्पको रुपमा खोज्न थालेका छन् । त्यो स्वभाभिक पनि हो । नेपाल एउटा भुपरिवेष्ठित राष्ट्र त्यसमा पनि ठुला छिमेकी चिन र भारत साथै बैदेशिक रेमिट्यान्सले धानिएको देश जसको कारण पछिल्लो समयमा कोरोनाको संक्रमण फैलिएको जस्तो लाग्छ । शक्ति राष्ट्रहरु पनि यो नियन्त्रणमा विफल भइरहेका छन् । हाम्रो देशमा त लकडाउनको परिभाषा विपरित नेपाली नागरिकलाई नेपालमा पठाउने काम ग¥यो भारत सरकारले । जुन हेपाहा प्रवृत्तिकै कारणले अहिले संक्रमणर दर बढेको छ । नेपाल सरकार पनि निरिह भएर आफ्ना नागरिक जस्तो अवस्थामा पनि आउन् भन्ने ठाउँमा पुगेको छ । नेपालीहरु पनि मरे आफ्नै माटोमा, बाचे आफ्नै माटोमा भनेर भित्रिएको अवस्था छ । राज्यले पुर्ण रुपमा रोजगारीको सृजना गर्न नसकेको बाध्यात्मक अवस्था हो । नेपालमा दिनहु संक्रमण बढ्दै जाँदा कोरोनाको अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार तथा अन्य महानुभाव प्रति सरकारले त्यति धेरै गर्न सकेन । नेपालको मृत्यु दर हेर्दा अन्य देशको तुलनामा कम उमेर समुहमा देखिएको छ । जसको कारण उत्पादनशिल उमेर समुहमा क्षति पुगेको छ । आजको मिति सम्म हेर्दा संक्रमण तीन हजार हुँदा मृत्यु १३ पुगे पनि अझै विकराल रुप लिने हो की भन्ने डर त्रास फैलिएको छ ।

लकडाउनको विकल्पमा राज्यले बनाएको नियम पालनानै गर्न पर्ने बाध्यता हुन्छ । तर यसमा आम नागरिक आफै सचेत हुनुपर्छ । सबै भन्दा ठुलो कुरा जनताले म मेरो परिवार, समाज र राज्य प्रति जिम्मेवार व्यक्ति हो मैले कोरोनाको विरुद्धमा राज्यले बनाएको नियम पालना गर्छु भन्ने जहिले सम्म हुदैन । त्यति बेला सम्म अवस्था जटिल हुन सक्छ । त्यसकारण लकडाउनको विकल्पमा निम्नानुसार गर्न सकिन्छ ।
१) यदि जोखिम रहेको व्यक्तिहरु क्वारेन्टिनमा राख्ने र स्थानीय प्रदेश र संघिय सरकारले जसरी पनि पीसीआर जाचँ गरि समाजमा फैलिन नदिने कार्यमा लाग्नुपर्छ ।
२ ) सामाजिक दुरि कायम गर्ने
३) व्यक्तिगत सुरक्षा सामाग्रीको प्रयोग गरि विस्तारै काममा फर्कने (माक्स, स्यानिटाइजर )
४) उपचार गर्ने स्थानमा जस्तै अस्पताल, स्वास्थ्य संस्थामा भीडभाड नगरि सेवा लिन आउने
५) खाद्य, औषधी तथा थोरै जनशक्ति प्रयोग हुने कलकारखाना र उद्योग खोल्ने
६) विस्तारै यातायातका साधन पनि संक्रमण फैलिन नदिन सञ्चालन गर्ने
७) व्यापारिक केन्द्र पनि नियम पालाना सहित खोल्ने
८) आइशोलेसन तथा अस्पतालमा पुर्ण रुपमा उपचार गर्न सक्ने औषधी तथा औजारको व्यवस्था गर्ने ।
९) कृषिलाई जोड दिदै अन्य विकास निर्माणमा कार्यहरुमा लाग्ने ।
१०) विदेशमा रहेका नागरिकलाई नेपाल ल्याइ परीक्षणको दायारा बढाइ बढी भन्दा बढी रोजगार मुलुक कार्यमा लगाउने ।
११) विद्यार्थीहरुको पठनपाठनलाई मध्य नजर गरि विस्तारै विद्यालय सञ्चालन गर्ने अभिभावक, विद्यालय सञ्चालक, शिक्षकका बीचमा कोरोना संक्रमण नहुने तरिकाले व्यवस्थापनको पहल गर्ने जसको लागि विभिन्न तहको पढाइलाई सिफ्टमा पढाउने जस्तै विहान, दिउँसो र साँझ गरेर ।
१२) सूचना प्रदान गर्न पत्रपत्रिका, संचार माध्यम र संचारकर्मी पनि सुरक्षा सहित सबै क्षेत्रमा परिचालन भइ संक्रमण फैलिन नदिन अहोरात्र अझै खट्ने ।
१३) सरकारका माथिल्लो निकायले सहयोग अनुगमन तथा निरिक्षण गरि कोरोना मुक्त देश बनाइ विकासमा जुटौ
१४) संक्रमित व्यक्तिहरु निको भएकाहरुको अनुभवमा जनचेतना फैलाउने
“बेला बेलामा सावुन पानीले हात धोउ
आफु पनि बचौ अरुलाई नि बचाऊ”

हरीप्रसाद सुवेदी
पूर्व अध्यक्ष
फेन्सी व्यवसायी संघ,बागलुङ

लकडाउन खुकुलो बनाउने दायरा एउटा कुरा के हो भने अहिले सम्म स्थानीय मानिसहरुमा कोरोना नदेखिएका कारण जति पनि बाहिरबाट मानिसहरु आउँछन् । उनीहरुलाई क्वारेन्टिानमा राख्नेर उच्च जोखिम नभएको ठाउँमा स्थानीए बजार खुलाएको राम्रो होला जस्तो मलाई लाग्दछ । किनी कि लकडाउन भएको लामो समय भईसकेको छ र आर्थीक समस्या अउन थाली सकेको छ । साना तिना व्यापारीले घरमा पैसा राख्ने भनेको २०,२५ हजार मात्र हो । व्यापारी हरु अहिले मारमा छन बैंकको लोन, कोठा भाडा तिर्न समस्या भएको छ । लकडाउन भएको पनि तीन महिना हुन लागिसक्यो, त्यसकारणले अब लकडाउन खोल्नु पर्दछ । जति पनि बाहिरबाट ल्याइएका मानिसहरु छन् उनीहरुलाई क्वारेन्टिनमा राख्ने र बजार सामान्य अवस्थामा ल्याउनु पर्दछ ।

बाहिरबाट आएका मानिसहरु पनि एउटै गाडीमा आएका छन् । कसैमा कोरोना देखिएको छ, कसैमा देखिएको छैन । त्यसकारणले स्थानीय मानिसमा पनि कोरोना देखिएको छैन । अब बजार खोल्नु पर्दछ र बाहिरबाट आएकालाई विशेष व्यवस्था मिलाउने र बागलुङ बजार प्रवेश गर्ने नाकामा कडाई गर्नुपर्दछ । यी काम गरेसी व्यवसायीलाई आर्थिक भार पर्दैन । मानिसहरुमा त्रास पनि कम हुन सक्दछ । बन्दाबन्दीले मानिसहरुको मनोबल पनि कमजोर बनेको छ, अब उकास्नु पर्दछ । र रोग लागे पनि रोग सँग लड्ने क्षमता उच्च मनोबल सहित तयार हुनुपर्छ । मानिसहरुमा लकडाउन लामो समय भएका कारणले उकुसमुकुस भएका छन् । अब मानिसहरु डिप्रेशनमा जाने जोखिम समेत देखिएको छ । त्यसकारणले अब लकडाउन समस्याको समधान होइन भन्ने कुरा हामीले बुझ्न जरुरी छ ।

हामीहरुले अब सामाजिक दुरी कायम गर्ने, भीडभाड नगर्ने र सामान्य दैनिकी चलाउनका लागि विकल्प के हुन्छ भनेर सोँच्नु पर्दछ । अब किसानले खेतीबाली गर्ने, व्यापारीले आफ्नो व्यापारलाई सामाजिक दुरी कायम गरेर गर्ने उद्योग व्यवसाय पनि सुचारु गर्न आवश्यक छ । आफु पनि सुरक्षित हुने र अरुलाई पनि सुरक्षित हुन सहयोग गर्दै अब बजार खोल्नु पर्दछ ।

शशी राजभण्डारी
अध्यक्ष
सौन्दर्य कला व्यवसायी संघ, बागलुङ

लकडाउन भएको लामो समय भयो तर सरकारले लकडाउनको विकल्प अझै सम्म ल्याउन सकेको छैन । बागलुङमा जति पनि कोरोना संक्रमित भेटिएका छन् । ति सवै बाहिरबाट आएका छन् । त्यसकारणले अब लकडाउन खुकुलो बनाउनु पर्दछ । मानिसहरुमा जनचेतना भइसकेको छ । कसरी सुरक्षित हुने भन्ने पनि थाहा भइसकेको छ । अव बाहिरबाट आएका मानिसहरुलाई व्यवस्थित बनाउने र जिल्लामा प्रवेश गर्ने नाकाहरुमा कडाई गरेर जिल्ला भित्र काम गर्ने वातावरण बनाउनु पर्दछ । अहिले व्यापारीहरु धेरै मारमा परेका छन् । चर्को व्याजदर, घर भाडा तिर्नु परेको छ । त्यसकारणले अब सरकारले सधै लकडाउन विकल्प नहुने भएकाले कसरी दैनिकी पनि चलाउने र कोरोनाबाट पनि बच्ने भन्ने उपाय निकाल्नु जरुरी छ ।

सरकारले शुरुमा लकडाउन गरेकोमा हामी खुशी छौ । शुरुमा लकडाउन नगरेको भए नेपालमा धेरै समस्या आउने थियो । तर, अब भने हामीहरु सजग हुदै काम गर्नु पर्दछ । सरकारले नीति नियम बनाएर लकडाउन खोल्नु पर्दछ । र जनताले पनि नियममा रहेर आफ्नो काम गर्न जरुरी छ । लकडाउनको बिकल्प निकाल्नु पर्दछ । बिकल्प निकालिएन भने देशमा कोरोनाले भन्दामा भोकमरीको ठूलो समस्या हुन सक्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *