कोरोनाले देश समाज आक्रान्त बन्दो छ । विश्वव्यापी रुपमा भयावहको रुपमा देखिएको कोरोना भाइरस (कोभिड १९)को अहिले सम्म खोप औषधि पत्ता लाग्न सकेको छैन । यही महामारीका कारणले नेपालमै एक दर्जन बढिले ज्यान गुमाएका छन् । हजारौ नागरिक संक्रमणको शिकार बनेका छन् । लाखौ नागरिक संक्रमणको जोखिममा लकडाउनमा छन् । पछिल्लो समय गण्डकी प्रदेश र बागलुङ जिल्ला पनि कोरोना संक्रमणको ‘इपिसेन्टर’ बन्ने जोखिम बढ्दो छ । अहिले सम्म जिल्लामा २९ जना संक्रमित पुगिसकेका छन् । धौलागिरी अस्पतालमा आइसोलेसनमा रहेकाहरु अहिले कोरोना जित्न संघर्षरत छन् । आइसोलेसन बस्दाका दुःख, पीडा, सकस र कोरोना जित्नका लागि गरिरहेको संर्घषका अनेक अनुभव जागरण दैनिक/आदर्श अनलाइनकर्मी साधना पन्तले टेलिफोन मार्फत प्रयास गर्नुभएको छ । केहि संक्रमितले आफ्नो परिचय खुलाउन नचाहेकाले नाम गोप्य राखिएको छ । यद्यपी उनीहरुको अनुभव धेरैका लागि चासोका बिषय भएकाले सम्वादको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।
लक्ष्मी श्रेष्ठ
वर्षः ३३
निसीखोला गाउँपालिका-७ बागलुङ
नेपाल आएको आज १६ दिन बित्यो । मलाई कोरोना संक्रमण पुष्टी भएको ३ दिन भयो । भारतको दिल्लीमा श्रीमानसँग बस्दै आएकी थिए । ३३ वर्षकी भए । विवाह भएको १९ वर्ष भयो । १८ वर्षपछि छोरा जन्मिएको छ । अहिले धौलागिरी अस्पतालको आइसोलेसनमा ७ महिनाको बच्चालाई लिएर बसेकी छु । मलाई कोरोना पुष्टी भए पनि अहिले सम्म कुनै लक्षण देखिएको छैन । दिल्लीबाट सुनौली हुँदै २ दिनमा निसी आइपुगेका थियौ । आएकै दिन क्वारेन्टिनमा बसेको हो । क्वारेन्टिनमा बसेको ५ दिनमा कोरोना परीक्षणको लागि स्वाब संकलन गरियो । संकलन गरेको ६ दिन पछि रिपोर्ट आयो । मेरो रिपोर्ट पोजेटिभ आए पनि छोरा र श्रीमानको रिपोर्ट नेगेटिभ आयो । उहाँहरुको रिपोर्ट नेगेटिभ आए पनि भर्खरै घर जान नदिने रे । त्यसैले क्वारेन्टिनमा छोरालाई कसरी छोड्नु भनेर आफैले लिएर अस्पताल आएकी छु ।
म बसेको क्वारेन्टिनमा अन्य १५ जना हुनुहुन्थ्यो । म सँग तीन जना महिला थियौ । हामीहरुलेनै क्वारेन्टिनमा बसेका सबैको लागि खाना बनाउने, खुवाउने गर्यौ । म संगै बसेका अन्य २ जना बाबुहरुलाई पनि संक्रमण देखियो । संक्रमण देखिएकै दिन अस्पताल ल्याउन गाडी पाइएन भन्दै गाउँपालिकाबाट क्वारेन्टिनमै दुरी कायम गरेर बस्न भन्नुभयो । तर, साथीहरुले मानेनन् । सर्ने भए स्वाब संकलन गरेर गए पछि अहिले ६ दिन भित्र सरी सकेको भए सबै सँगै बसियो । जुन रोगबाट बच्नको लागि काखको छोरा च्यापेर घर फर्किए त्यहि रोग लागेको थाहा पाएपछि धेरै बेर रोए । श्रीमानले र क्वारेन्टिनमा बसेका अन्य साथीहरुले सम्झाउनु भयो । श्रीमानसँग दिल्ली बस्न लागेको १० वर्ष पुग्यो । यो बीचमा ५ पटक मात्र घर आएकी थिए । तर, अब कहिल्यै भारत जादिन भनेर आएकी हुँ । गाउँमै बस्ने, बुढाबुढी मिलेर आफ्नै ठाउँमा केही गर्न सोच बनाएर घर फर्किएका हौ ।
कोरोना लाग्यो भनेको सुन्दा सबै सपना सकिए जस्तो लागेको थियो । तर, क्वारेन्टिन देखि अस्पताल सम्म आइपुग्दा धेरैले सम्झाउनु भयो । अस्पतालमा पनि डाक्टर, नर्सले सम्झाउनु भयो । अहिले त केहि हुँदैन, छिट्टै सञ्चो हुन्छ भन्ने भइसकेको छ । विहान ४ बजे बाबु उठ्छ, बाबुसँगै उठ्छु । विहानमा दुध, खाजा ल्याइदिनु हुन्छ । दिनभरी बाबुको स्याहार गर्ने, खाजा, खाना खाने र तातोपानी पिउदै बस्ने गरेकी छु । प्रेसर जाँच गर्ने, ज्वरो जाँच गर्ने मेसिन राख्दिनु भएको छ । पहिलो दिन उहाँहरुले सिकाई दिनुभयो । अहिले सिकाए अनुसार विहान, दिउँसो, बेलुका आफै जाँच गर्छु । अस्पतालबाट फोन आउँछ, कस्तो छ भन्नुहुन्छ ? रिपोर्ट बताउँछु । दिनको दुई पटक भेट्न पनि आउनुहुन्छ । के कस्तो छ सोधेर फर्कनु हुन्छ ? मलाई पनि ठिक छ । छिट्टै कोरोना जितेर घर फर्किनेछु । अस्पतालमा पनि सबै व्यवस्था राम्रै छ । तर, मेरो सानो बच्चा भएकाले उसका लागि जाउलो, लिटो पनि व्यवस्था गर्दिए हुन्थ्यो भन्ने छ । मैले यहाँ आउने स्वास्थ्यकर्मीलाई भन्न त भनेको छु । उहाँहरुले पनि अस्पतालमा भन्छौ भन्नुभएको छ ।
उहाँकै अनुरोधमा नाम, ठेगाना र फोटो सार्वजनिक गरिएको हो ।
नाम (नराख्न अनुरोध आएकाले नराखिएको)
वर्ष २७
घर : तमानखोला गाउँपालिका
कोरोनाको महामारी पछि घर फर्किएको हुँ । तर, धेरै दुःख गरेर फर्किनु पर्ने बाध्यता । बल्लतल्ल अब त गाउँ घर आयौ भन्ने बेलामा क्वारेन्टिनमै बसेका बेला कोरोना संक्रमण म आफैलाई भएको खबर पछि दुखी भए ।
मलाई कोरोना संक्रमण भएको छ भनेर अहिले सम्म आमालाई पनि भनेको छैन । कोरोना लागेर मान्छे मरेका समाचार सुनेर आमाले मलाई छिटो घर आ भन्नुभाथ्यो । घर आउँदा आउँदै आँफै संक्रमित भए । ६ महिना अगाडी आफ्नै ख्ट्टामा उभिने लक्ष्य लिएर भारत गएको, कोरोनाले गर्दा अब कहिल्यै घर छोड्न सक्दिन होला ।
अहिले सम्म समाचारमा भनिएका जस्ता कुनै पनि लक्षण मलाई देखिएका छैनन् । तर पनि संक्रमण भएको पुष्टी भए पछि मनोवैज्ञानीक रुपमा असर पर्ने रहेछ । भारतबाट घर आउन हिँडेको ९ दिन सम्म नौतुनामा क्वारेन्टाइनमा बस्नु पर्यो । कुनै पनि लक्षण नदेखिए पछि त्यहाँबाट करिब ४ दिन लगाएर १३ दिनमा गाउँ आए पनि घर जान पाइन । क्वारेन्टिनमा बसेको ७ दिनपछि स्वाब संकलन गरिएको थियो । रिपोर्ट २ दिनमा आयो । धौलागिरी अस्पताल आएको एक साता हुन लाग्यो । आजभोलि आफ्नो स्वास्थ्यको बल्ल ख्याल गर्न थालेको छु । विहान साढे ५ बजे उठ्छु, योगा, ध्यान र व्यायाम गर्छु ।
तातोपानी पिउने, कोरोना लागेर पनि निको भएका सकरात्मक समाचार पढ्ने गर्छु । फेसबुक खोल्न र हेर्ने नसकिने नकरात्मक कुराहरु मात्र देखिन्छ । यसले संक्रमितको मनोवल कमजोर बनाउँछ जस्तो लाग्छ । साथिहरुले राम्रा समाचार पठाई दिनुहुन्छ । तीनै पढ्ने गरेको छु । अस्पतालमा निकै राम्रो व्यवस्था छ । खाना, खाजा लिएर आउनुहुन्छु, फोन पनि गर्नुहुन्छ । स्वास्थ्यकर्मी पनि आउनुहुन्छ । शुरुका दिनमा निकै डर लाग्यो । अब त म सम्हालिएको छु । तर कोरोना संक्रमित भएका मानिसहरुलाई हेर्ने नजर राम्रो भए जस्तो लाग्दैन । मलाई संक्रमण भएको छ भन्ने थाहा हँुदा साथ परिवारलाई पनि भेदभाव गरिन्छ । त्यसैले म संक्रमति हुँ भन्ने कुरा खुलाउन चाहान्न ।
नाम (नराख्न अनुरोध आएकाले नराखिएको)
वर्ष २८
बडिगाड गाउँपालिका
भारतको युपीमा बसेर काम गर्दै आएको थिए । भारतमा दिन प्रतिदिन कोरोनाका विरामी थपिदै गएपछि जे भए पनि घरमै जानुपर्छ भनेर हिडेको हुँ । बसेको ठाउँदेखि सुनौली सम्म पैदल हिँडेर आएको हुँ । ठ्याक्कै कति दिन लाग्यो भन्ने पनि याद छैन । सुनौली बोर्डरमा आए पछि भारतिय प्रहरीले सामान्य ज्वरो चेक गरेर फेरी नौतुना फर्काइदिए । नौतुनाको ह्वाइट हाउसमा ९ दिन सम्म एउटा हलमा १ सय ९५ जना सँगै बस्यौ । ती दिनहरु कति कष्टकर विते भनेर सम्झन पनि चाहन्न ।
त्यहाँबाट र्यापिड परीक्षण गरि नेगेटिभ देखिए पछि बल्ल नेपाल पठाइदियो । भैरहवामा आएर २ दिन सम्म विद्यालयको क्वारेन्टिनमा बसे । त्यहाँ पनि परीक्षण गरेर नेगेटिभ आए पछि बडिगाड आइपुग्यौ । ठाउँ-ठाउँमा परीक्षण गर्दै आएको भएर मलाई कोरोना संक्रमण होला भन्ने सोचेको पनि थिइन । क्वारेन्टिनमा बसेको सायद ४/५ दिनपछि स्वाब संकलन गरियो । दुई दिनमै रिपोर्ट आयो । म सँगै आएका ६ र अर्को समुहका १८ जना एउटै क्वारेन्टिनमा बसेका थियौ । अर्को समुहका दुई जनालाई ज्वरो आएको थियो । रिपोर्ट आएको दिन दुई जनामा संक्रमण देखियो रे भन्ने हल्ला हुँदा पनि उहाँहरुलाई नै होला भन्ने लागेको थियो । तर म र मेरो साथिलाई कोरोना संक्रमण भएको भनेर स्वास्थ्यकर्मीले भने पनि एकछिन त पत्याउनै सकिन । नपत्याएर के गर्नु बास्तविकता बदल्न नमिल्ने रहेछ ।
आजको दिनसम्म पनि कोरोनाका बिरामीमा हुने कुनै लक्षण मलाई देखिएको छैन । अस्पतालले ज्वरो जाँच गर्ने, प्रेसर जाँच गर्न सिकाएर मेसिन दिनुभएको छ । विहान, बेलुका आफै जाँच गर्छु । शरिरको तापक्रम ९७, ९८ नै छ, प्रेसर पनि ठिक छ । स्वास्थ्यकर्मीले फोन गर्नुहुन्छ, विहान वेलुका खाना लिएर आउँदा मैले जाँच गरेको रिपोर्ट हेर्नुहुन्छ । अप्ठ्यारो परे फोन गर्नु भन्नुभएको छ । आजभोली विहानै निद्राले छोड्छ, सुत्छु, निदाउछु भन्दा पनि सक्दिन । सोच्दिन भन्दा पनि अनेक सोचाई आउने रहेछ ।
आजभोली साथिहरुले कोरोना लागेका मरेका नराम्रा समाचार नहेर भन्नुभएको छ । त्यसैले समाचार हेर्ने छोडिदिए । मनोबल बढाउन, रोग प्रतिरोधात्मक क्षमता बढाउन भिडियो हेर्छु । तातोपानी पिउछु, फोनमा कुराकानी गरेर दिन विताउछु । मलाई विश्वास छ, छिट्टै यो रोगलाई जितेर म घर फर्किनेछु ।