मास्कले थामेको सुरक्षाकर्मीको सुरक्षा

कोरोना संकटको सामनाका लागि स्वास्थ्यकर्मी पहिलो अग्रभाग (फ्रन्टलाइन) मा छन् । दोस्रो अग्रभागमा दिन रात खटिरहेका छन् सुरक्षाकर्मी । स्वाथ्यकर्मी आफ्नो पेशागत जिम्मेवारीमा खटिदाँ यथेष्ट स्वास्थ्य सुरक्षा सामग्री (पीपीई, सेनिटाइजर,मास्क) लगायत प्रयोग गरेर खटिरहेका छन् । तर, सडकदेखि सर्वत्र सुरक्षामा खटिएका सुरक्षाकर्मी आफै कोरोना जोखिमका बीच असुरक्षित छन् । यद्यपी राष्ट्रले दिएको जिम्मेवारी पुरा गर्न समर्पित छन् । तीनै मध्येका केहि सुरक्षाकर्मी भेटेर जागरण दैनिक/आदर्श अनलाइनकर्मी साधना पन्तले उनीहरुको अनेक अनुभव समेट्ने प्रयास गर्नुभएको छ । प्रस्तुत छ टेलिफोन कुराकानीको सम्पादित अशंः
नारायण पौडेल
जिप्रका, बागलुङ

हामीलाई समस्यासँग कसरी काम गर्ने भन्ने कुराहरु पहिलेनै सिकाइएको हुन्छ । अहिले विश्वभर कोरोनाको महामारी फैलिएको अवस्थामा नेपालमा पनि यसको गम्भीर असर देखिन थालेको छ । अहिले हामीहरु दिन रात नभनी काम गरेका छौ । हामीसँग जति स्रोत साधन छ । ति प्रयोग गरेर नागरिकको सेवामा खटिएका छौ । हामीलाई बल्ल बल्ल माक्सको व्यवस्था भएको छ । अरु सुरक्षाको साधन केही पनि छैन । अहिले म बागलुङ नगरपालिकाले निर्माण गरेको रामरेखा क्वारेन्टिनमा ड्युटीमा छु । हाम्रा लागी सुरक्षाको नाममा माक्स मात्र छ । सुरक्षाको सामग्रीको अभाव छ । हामी प्रत्यक्ष रुपमा क्वारेन्टिनमा ड्युटीमा छौ । हाम्रो सुरक्षामा सरकार र सरोकारवालाको संवेदनशिलता देखिदैन । तर, बाहिर अनावश्यक रुपमा देखाउन, ठुलो मान्छे देखिन फेसनको रुपमा मानिसहले सुरक्षा समाग्रीहरु प्रयोग गरेको पाइन्छ । परीक्षणमा पनि त्यस्तै देखिन्छ । बास्तविक फिल्डमा खटिएका जोखिममा परेकाहरुलाई सुरक्षाको अनुभुति गराउनु पर्दछ ।

अहिले यो समस्यामा सवै प्रहरी जवानहरु प्रत्येक क्वारेन्टिनमा खटिनु भएको छ । हामीलाई विशेष त कोरोनाबाट कसरी आफु र सवै सर्वसाधरणलाई सुरक्षित बनाउने भन्ने तालिम र यथेष्ट जानकारी छैन । यद्यपी हामीले समचारबाट, टिभी, सामाजिक सञ्जालहरुबाट पाएको जानकारी र ज्ञान अपनाएर काम गरेका छौ ।

मैले कोरोना आएपछि एउटा कुरा महुशुस गरेको छु । कोरोना रोग आउनु भन्दा पहिले हामीलाई यी प्रहरी केही होइनन् । केही काम छैन भन्ने गर्नुहुन्थ्यो तर अहिले कोरोनाले गर्दा आम जनतामा हाम्रो लागि इज्जत पलाएको महुशुस गरेका छौ । बास्तवमा प्रहरीले आम जनताको सुरक्षा गर्ने काम रहेछ भन्ने बुझ्नु भएको छ । पहिला-पहिला हामीलाई गाली गर्नुहुन्थ्यो तर अहिले माया र इज्जत गर्नुहुन्छ । त्यो देख्दा मलाई नेपाल प्रहरी हुनुमा गर्व लाग्दछ ।

घर परिवारको याद आउँछ । यो महामारीमा हामी मात्र काम गर्दा कहिलेकाही कस्तो-कस्तो लागे पनि सवै जना घर भित्र राखेर हामी बाहिर ड्युटीमा हिँड्दा धेरै जिम्मेवारी महुशुस पनि हुन्छ । आगामी दिनमा कोरोनासँग आम जनतालाई सुरक्षित बनाउनका लागि हामीलाई सुरक्षा सामग्रीको आवश्यकता पर्ने हुदाँ सरकारको यो कुरामा ध्यान जान जरुरी छ । हामी सुरक्षित नभए अरुलाई कसरी हामीले सुरक्षा दिने भन्ने कुराले सोचनीय बनाउछ । सरकारले पनि यो बिषय र बाध्यता बुझिदिनु पर्दछ ।

अमृता पाठक
जिप्रका, बागलुङ
हामीहरुका लागी त्यस्तो कोरोनालाई लक्षित गरेर केहि पनि सुरक्षा सामाग्रीहरु पाएका छैनौ । हामीहरु दैनिक ६ देखी ९ घण्टा ड्युटीमा खटिएका छौ । हाम्रो काम थपिएको छ तर हाम्रा लागि सुरक्षा सामाग्रीहरु थपिएका छैनन् । माथिबाट एउटा तालिमको व्यवस्था भएको थियो । तर, त्यो तालिममा हामी परिएन । धेरैमा छनोट गरेर पठाउदा कोही परिन्छ, कोही परिदैन ।

हामी काम गर्न जनताको सेवा गर्न तयार छौ । तर, जनतामा पनि के कुरा थाहा हुनुपर्‍यो भने हामी नागरिकका लागि आफ्नो ज्यानको बाजी थापेर काम गरेका छौ । हामी के भन्न चाहान्छौ भने सवै मानिसहरु घरमै बसिदिए हामीलाई धेरै सहज हुने थियो । उहाँहरु बाहिर जथाभावी ननिस्किए हाम्रो समस्या केही मात्रामा कम हुने थियो । स्वयम् नागरिकहरु पनि सुरक्षित बन्ने अवस्था हुन्थ्यो ।

साँच्चै भन्ने हो भने मलाई कोरोनाको डर लागेको छैन । काम नियमित गरिरहेका छौ । हामीहरु राष्ट्रसेवक हो । हामीले देशमा समस्या आउदा निर्धक्क भएर आफ्नो काम कर्तव्य निर्वाह गर्नु पर्दछ । हामी बाहिर राम्रो सँग ड्युटी गर्ने र जनताहरु घर भित्र सुरक्षित बसे पछि सवै जना सुरक्षित हुन्छौ । तपाईहरु घर भित्र बस्नुहोस् हामी तपाईको सुरक्षाको लागि बाहिर छौ भनेर सवै जनतालाई भन्न चाहन्छु ।
छविलाल गैरे
जिप्रका, बागलुङ
हामीहरुको कोरोनाका कारण धेरै ड्युटी बढेको छ । कोरोनाको कारण बाहिरबाट आएका दाजुभाई, दिदी बहिनीहरुलाई सम्वन्धित ठाउँँमा पुर्‍याउने जिम्मा पनि हाम्रो छ । कोरोना जस्तो महामारीमा ड्युटी बढि हुनु स्वभाविक कुरा हो । म दिनमा ६ घण्टा र राती ४ घण्टा खटिएको छु । हाम्रो सुरक्षाको कुरा गर्दा कोरोनाको जेखिम भएको ठाउँबाट आएका मानिसहरु भएका ठाउँमा जाँदा पीपीई सेट लगाएर जाने काम भएको छ । नत्र भने बजार गस्तीमा जाँदा खेरी सामान्य माक्स लगाउने र सेनिटाईजर गोजीमा राखेर हिँडेका छौ । जिल्ला प्रहरी कार्यलयले हामीहरुलाई एक दिन तालिम दिएको थियो कोरोनाको महामारी नेपालमा आएपछि । कोरोना नेपालमा शुुरु हुने बेलामा काठेखोला गाउँपालिकामा थिए । त्यहाँको स्वास्थ्य प्रमुखले हामीलाई कोरोनाबाट कसरी सुरक्षित हुने भनेर सिकाउनु भएको थियो ।

हामीहरु जति पनि बाहिर हिँड्ने मानिसहरुलाई सम्झाई बुझाई गरेर पठाउछौ । राम्रो बोली बोल्छौ । तर मानिसहरु सुन्दै सुन्दैनन् । सुने पनि भनेको मान्दै मान्दैनन् । तर, भनेको नमान्दा पछि समस्या नि उहाँहरुलाई नै हुन्छ । त्यसकारणले घरमै सुरक्षित बस्नुनै कोरोनाबाट बच्ने सहज उपाय हो ।

नेपालमा हामी जस्ता् राष्ट्रसेवकहरुले डर मानेर काम गर्दिन भन्न पाईदैन । अहिले सम्म काम गरी राखेका छौ । आफ्नो ज्यानको माया जसलाई पनि हुन्छ । त्यसकारण सवै मानिसहरुले पनि यो बुझिदिनु पर्‍यो कि हामी बाहिर निस्किदा कतै अरुलाई समस्या त हँुदैन भनेर आ-आफ्नो घरमा बस्नु पर्दछ । अति आवश्यक परेको समय भन्दा अरु समयमा बाहिर हिँड्ने, हल्ला गर्ने, बाइक, स्कुटर चलाउने, साथी भाई सँग डुल्न हिँड्ने काम नगरे उहाँहरु पनि सुरक्षित र हामी पनि ढुक्क भएर आफ्नो ड्युटीमा काम गर्न पाउछौ ।

रात दिन नभनी सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मी खटि राख्नु भएको छ । यो सरकारले बुझ्ने कुरा हो । तर, अहिले सम्म हामीहरु निरन्तर काम गरिराखेका छौ । हाम्रो पीसीआर परीक्षण १ पटक पनि भएको छैन । सरकारको यस विषयमा ध्यान जान जरुरी छ । हामीहरु सुरक्षित भए पछि बल्ल जनतालाई हामीले सुरक्षा दिन सक्दछौ । पहिला हाम्रो पीसीआर टेस्टको व्यवस्था सरकारले गरिदिनु पर्दछ ।
मञ्जुकुमारी थारु
सामुदायिक सेवा केन्द्र

म अहिले सामुदायिक सेवा केन्द्रमा काम गरिराखेको छु । कोरोना आएपछि धेरै जिम्मेवारी थपिएको महुशुस गरेको छु । हामीले यो बागलुङ बसपार्क तिर हिड्ने डुल्ने मानिसहरु, जथाभावी चल्ने गाडीलाई नियन्त्रण गर्ने, सम्झाउने काम गरेका छौ । हामी अहिले यहाँ काम गर्ने दुई जना छो । हाम्रो लागि सामान्य माक्स र सेनिटाइजर वडा नम्वर ३ ले दिएको छ तर हामीलाई राम्रो खालको माक्सको व्यवस्था मिलाईदिए राम्रो हुन्छ । किनकी हामीहरु प्रत्यक्ष रुपमा खटिरहेका छौ । हामीहरु आफुलाई सुरक्षित महुशुस गरेका छैनौ ।

मनमा डर त लाग्दछ तर हामीहरुको काम नै यस्तै छ । जुन समयमा पनि हिँड्नु पर्दछ । जहाँ पनि जानु पर्दछ । त्यसकारण आफ्नो सुरक्षा आफै गर्नुपर्दछ जस्तो लाग्दछ ।

सवै भन्दा बाहिर हिँड्ने युवाहरु हुनुहुन्छ । हामीहरु सम्झाउछौ । यो समयमा बाहिर डुल्नु हँुदैन भनेर तर, अहिलेका केटाहरु मान्दैनन्, अटेर गर्छन् । तपाइहरुका लागि हो हामीले भनेको घर भित्रै बस्नुस् भन्दा बाइक लिएर डुल्ने, साथी भाइसँग बस्ने काम गर्नु हुन्छ । कोही बुझ्नुहुन्छ,कोहीले बुझनु हुदैन् ।

राष्ट्रसेवक भएका कारणले हामी भोक, तिर्खा, दिन रात नभनि जनताको सेवामा हिँडेका छौ । यसमा पनि हामी खुशी नै हुन्छौ । मलाई मैले दुःख पाए भन्ने त लाग्दैन । तर, मेरो ८ वर्षको छोरी छ । र मेरो श्रीमान् पनि म सँगै एउटै काम भएको भएर छोरीलाई समय दिन नपाउदा चाही मन खल्लो चाही हुन्छ । हामीले सुरक्षा दिदाँ सवै जनताहरु सुरक्षित महुशुस गरेको पाउँदा राम्रो पनि लाग्दछ । मैले परिवार र देशको जिम्मा निभाउनु परेको छ । महिला भएर होला थप जिम्मेवारी हुँदोरहेछ । पुरुषले जागिर मात्र गरे हुन्छ भने हामी महिलाले परिवार र जागिर दुवैलाई जिम्मेवारी निभाउनु पर्दछ । तर देश र जनताका लागि काम गर्न पाउदा म धेरै खुशी छु ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *