संक्रमित बोक्दै, क्वारेन्टिन बस्दै एम्बुलेन्स चालक

साधना पन्त, बागलुङ

‘एक जोर पीपीई, एक जोर माक्स र एक थान सेनिटाइजर । त्यसैको भरमा १२ जना कोरोना संक्रमित बोकिसके’ बागलुङको बडिगाड गाउँपालिका–७ का एम्बुलेन्स चालक रहेका अनुज क्षत्रीले बिद्यमान कोरोना संकटको सकस सहितको जिम्मेवारी र अनुभव सुनाउदै भन्नुभयो–‘उच्च जोखिमका बीच काम गरिरहे पनि आँफुहरुकाबारे सम्बन्धित निकायले संवेदनशिलता बोध गरेको देखिएन, २० दिन सम्म मेरो कोरोना परीक्षण गरिएको छैन ।’

जीवनको उर्जाशिल समयको १५ वर्ष अन्य सवारी साधन चलाउनुभएका क्षत्री नौ महिनादेखि बडिगाडको एम्बुलेन्स चलाउदै आएको बताउनुहुन्छ । सवारी चालकको जिम्मेवारीको बर्षाै लामो सफर बीच पछिल्लो २० दिनमा जति डर, त्रास जीवनमा कहिल्यै नलागेको उहाँले बताउनुभयो । ‘आफ्नो गाउँ, समाजका दाजुभाई दिदीबहिनीलाई अप्ठ्यारो पर्दा मैले काम गर्दिन भनेर समस्या र जिम्मेवारीबाट भाग्न सकिन,’ उहाँले भन्नुभयो, ‘यसरी जिम्मेवारी निभाउदा पनि सरोकारवाला निकायले कोरोना परीक्षण नगरिदिँदा दुःख र डर बढी लागिरहेको छ ।’ कोरोना संक्रमितलाई अस्पताल पु¥याए पछि ग्वालीचौर स्वास्थ्य चौकीमा बडिगाड गाउँपालिकाले निर्माण गरेको क्वारेन्टिनमा बसिरहेको उहाँको भनाई छ ।

बडिगाड गाउँपालिकाका विभिन्न क्वारेन्टिनमा बसेका ३ सय भन्दा बढिको अझै पनि स्वाब परीक्षण हुन बाँकी छ । उनिहरुको स्वाब परीक्षण भएर रिपोर्ट आएपछि आफ्नो पनि स्वाब संकलन गरेर पीसीआर परीक्षण हुन्छ कि भन्ने आशामा बसेको क्षत्रीले बताउनुभयो ।

अनुजसँगै ग्वालीचौर स्वास्थ्य चौकीको क्वारेन्टिनमा अर्का एम्बुलेन्स चालक शेर बहादुर घर्ती (राजेन्द्र) पनि हुनुहुन्छ । अनुजको जस्तै राजेन्द्र पनि एउटै गुनासो छ । किन हाम्रो कोरोना परीक्षण अहिले सम्म गरिएन ? ‘बडिगाड गाउँपालिकाका र विभिन्न क्वारेन्टिनबाट १० जना संक्रमितलाई धौलागिरी अस्पतालको आइसोलेसन सम्म पु¥याउने काम गरे’, घर्तीले भन्नुभयो, ‘संक्रमित भेटिएपछि पहिले अस्पताल पु¥याउन फकाउन आएका जनप्रतिनिधी अहिले कस्तो छ भनेर सोध्न समेत आउनुभएको छैन । कोरोना नै लाग्यो भने के हालत होला ?’ क्वारेन्टिनमा बस्न थालेको दिन गनिरहेको उल्लेख गर्दै उहाँले नागरिकको रुपमा कठिन समय र संकटमा पनि जिम्मेवारी पुरा गरिएको तर जनप्रतिनिधि र कर्मचारीले चालकहरुका बारेमा गम्भिर्यता नदेखाएको गुनासो गर्नुभयो । जिल्लामा दिन प्रतिदिन संक्रमितको संख्या बढ्दै जाँदा एम्बुलेन्स चालकको मनोबल बढाउन तर्फ कसैको ध्यान नगएको उहाँको गुनासो छ । अहिले सम्म कोरोना परीक्षण गरिएको छैन भन्दा परिवारबाट जागिर छोड्न दबाव आउन थालेको उहाँले बताउनुभयो । ‘अबका दिनमा पनि संक्रमित बोक्छु, जहिले सम्म कोरोना निर्मुल हुँदैन, तब सम्म बोक्न तयार छु,’ घर्तीले भन्नुभयो ‘तर म सुरक्षित छु÷छैन भन्नेमा त ढुक्क बनाउनु प¥यो नि ।’

केहि समय अगाडी आरडिटी परिक्षण गर्दा पोजेटिभ देखिएपछि काठेखोला गाउँपालिकाका एम्बुलेन्स चालक फरार भएका थिए । बागलुङमा दोस्रो पटक संक्रमित भेटिदा एम्बुलेन्स चालकले बोक्न अस्विकार गरेपछि स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले आफना कार्यालयका चालक लिएर संक्रमित अस्पताल ल्याउनुभएको थियो । यस्तो समस्या नदोहोरियोस् भनेर स्वास्थ्य कार्यालय बागलुङ, धौलागिरी अस्पताल र जिल्लाका १० वटै स्थानीय तहको समन्वयमा जिल्लाका ७ एम्बुलेन्स चालका र स्वाथ्य कार्यलय बागलुङका १ जना चालक सहित ८ जनालाई प्रशिक्षण दिएको थियो ।

त्यसमध्ये अहिले सम्म बडिगाढ गाउँपालिकाका २ जना, गल्कोट नगरपालिकाका १ जना, ताराखोला गाउँपालिकाका १ जना र जिल्ला प्रहरी बागलुङका एम्बुलेन्स चालक १ जना गरी ५ जनाले कोरोना संक्रमितलाई आइसोलेसन सम्म पु¥याउने काम गरेका छन् ।

राजेन्द्र र अनुज संक्रमित बोके पनि हाल सम्म क्वारेन्टिनमा बसि रहनु भएको छ । तर, ताराखोला गाउँपालिकाका एम्बुलेन्स चालक रमेश खत्री भने संक्रमित बोकेको ७२ घण्टा क्वारेन्टिनमा बसेपछि निरन्तर अन्य बिरामी बोक्ने गरेको बताउनुहुन्छ । ‘अस्पतालमा संक्रमित पु¥याए, मालढुङ्गामा गएर एम्बुलेन्स सेनिटाइज गरे,’ खत्रीले भन्नुभयो, ‘कसैले पनि क्वारेन्टिनमा बस्नु पर्छ नभनेकाले ७२ घण्टा एक्लै बसेर पुनः काममा फर्किएको छु ।’ अहिले सम्म आफ्नो कोरोना परीक्षण नगरिएकाले अन्य बिरामी बोक्ने गरेको भए पनि मनमा डर लाग्ने गरेको उहाँले बताउनुभयो । त्यसयता खत्रीले बागलुङका स्वास्थ्य संस्थामा मात्र नभएर पोखरा सम्म पनि बिरामी पु¥याएको बताउनुभयो ।

कोरोना संक्रमणबाट जोगिन घाममा बस्नु पर्छ भन्ने सुनेकाले संक्रमितलाई अस्पताल पु¥याएको दिन दिनभरी एम्बुलेन्सलाई घाममा राखेर आँफु पनि घाममा बसेको उहाँले बताउनुभयो ।

स्वास्थ्य कार्यालय बागलुङका प्रमुख तथा जिल्ला कमाण्ड पोस्टका सदस्य सचिव सुरज गुरौले भने पीपीई लगाएर संक्रमित ओसोर पोसार गर्दा संक्रमणको जोखिम नहुने बताउनुभयो । ‘चालकहरुलाई सुरक्षित भएर सवारी चलाउनका लागि अनिवार्य रुपमा पीपीईको व्यवस्था गरिएको छ,’ गुरौले भन्नुभयो, ‘संक्रमित राख्न एम्बुलेन्सनको पार्टेशन गरिएको छ, त्यसका साथै पीपीई लगाए पछि संक्रमण जोखिम हुँदैन ।’ यदी चालकले पीपीई बीच बीचमा खोल्ने र लगाउने गरेमा भने जोखिम हुन सक्ने बताउनुभयो । संक्रमित उद्धार गर्न थालेको दुई साता भन्दा बढि समय भएको र कतिपय संक्रमित समेत निको भएर घर फर्किसकेको अवस्थामा चालकहरुले अनावश्यक चिन्ता गर्न आवश्यक नरहेको गुरौको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *