काठेखोला गाउँपालिका बजेट बहस कार्यक्रमबाट प्राप्त सुझाव

खिमानन्द कंडेल
अध्यक्ष
धौलागिरी पर्यटन विकास समिति

नेपाल पत्रकार महासंघ नेपाल बागलुङ र धौलागिरी पर्यटन प्रवद्र्धन समितिद्धारा संयुक्त रुपमा देश तथा विदेशमा रहेका काठेखोलाबासी ब्यक्तित्वहरुको बीचमा अनलाईन मार्फत काठेखोला गाउँपालिकाको आगामी नीति तथा कार्यक्रममा समावेश हुनुपर्ने महत्वपूर्ण बिषयहरुमा छलफल भएको छ ।

आजको कार्यक्रममा यूवा नेता हिरा बहादुर केसी, राष्ट्रिय सहकारी बैंकका सञ्चालक समिति सदस्य एवं सहकारीकर्मी राम बहादुर जिसी, गोविन्द अधिकारी मेमोरियल फाउण्डेसनका महासचिव एवं सफल ब्यवसायी संजय अधिकारी, नेकपा काठेखोला गाउँपालिकाका पार्टी अध्यक्ष डिल बहादुर कार्की, सहकारीकर्मी एवं यूवा नेतृ हुमा कुमारी जिसी (अन्जु) लैंगिक समानता एवं सामाजिक समावेशीकरण बिशेषज्ञ गिरी बहादुर सुनार, सहकारी एवं पर्यटन अभियानकर्मी श्याम बहादुर पुन, अन्र्तराष्ट्रिय एकता समाज कटारबाट शेर बहादुर भण्डारी, शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरु डिल्लीराज उपाध्याय, गंगा शर्मा, देश तथा विदेशमा रहनुभएका यूवाहरु भीम बहादुर सुनार, प्रेम श्रीस मगर (बिहुँकोटे साईला), यूवा व्यवसायी प्रेम श्रीस, एवं यूवाहरु लेखनाथ बिक, बिष्णु आले, कलाकारिता क्षेत्रमा लाग्नुभएका रामु कमल जिसी, यूवा विद्यार्थी प्रमोद रिजाल, धन कार्की लगायतले काठेखोला गाउँपालिकाको नीति तथा कार्यक्रममा समावेश गरिनुपर्ने बिषयहरुको बारेमा धारणा राख्नु भएको थियो ।

आजको कार्यक्रममा काठेखोला गाउँपालिकाका अध्यक्ष श्री अमर थापा ज्यूसँग सिधा रुपमा बजेट बहस कार्यक्रम सञ्चालन गर्ने आयोजकको प्रयास रहेको भएता पनि आज मात्रै काठेखोला गाउँपालिका अन्र्तगत भिमसेन उच्च मावि र खोलातिर निमाबिमा क्वारेन्टाईनमा रहेका यूवाहरुमा कोरोना पोजिटिभ देखिएकोले जनप्रतिनिधिसँग सिधा बहस संभव नभएको कार्यक्रम आयोजकद्धारा जानकारी प्राप्त भएको छ । कार्यक्रम आयोजकले आजको कार्यक्रममा उल्लेख भएका बुँदाहरु गाउँपालिका अध्यक्ष ज्यू समक्ष पुर्याउने प्रतिवद्धता जाहेर गर्नुभएको छ । यसको लागि यूवा नेता श्री हिरा बहादुर केसी, सहकारीकर्मी श्री राम बहादुर जिसी, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष श्री दिल शिरिष एवं धौलागिरी पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष श्री खिमानन्द कँडेल एवं नेकपा काँठेखोला गाउँपालिकाका अध्यक्ष श्री डिल बहादुर कार्की ज्यूले बिशेष प्रतिवद्धता समेत जनाउनुभएको छ ।

आजको कार्यक्रममा विभिन्न सहभागीहरुबाट प्राप्त भएका बिषयगत सुझावहरु यस प्रकार छन् ।
कोरोना नियन्त्रण एवं स्वास्थ्य क्षेत्र
(क) हाल गाउँपालिकामा रहेका शैक्षिक संस्थाहरुलाई क्वारेन्टाईनको रुपमा उपयोग गरिएको अवस्थाको तत्काल बिकल्प खोजी संभव भएसम्म छिटो पठनपाठन सञ्चालन गर्न पहल गर्ने ।
(ख) गाउँपालिकाका हरेक वडाहरुमा एक एक वटा व्यवस्थित पूर्वाधारहरु सहितको क्वारेन्टाईन भवनको निर्माण गर्ने ।
(ग) कोरोना महामारीबाट सृजना भएको जटिल अवस्थाबाट स्थानीय जनता र समुदायमा पर्न सक्ने नकरात्मक असरलाई न्यूनीकरण गर्न कोरोना सचेतनामूलक कार्यक्रम निरन्तर संचालन गर्ने ।
(घ) क्वारेन्टाईनमा रहेका जनताहरुको रेखदेख, बिरामीहरुको यातायात व्यवस्थापन एवं बिरामीहरुको उपचारको लागि अस्पतालसम्म पुर्याउनको लागि उचित व्यवस्थापन गर्ने ।

शिक्षा क्षेत्र तथा संचार क्षेत्र
(क) हाल गाउँपालिकाका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द रहेको अवस्थामा अल्पकालीन रुपमा रेडियो वा टेलिभिजन वा अन्य बैकल्पिक भर्चुअल माध्यमको उपयोग गरी पठन पाठन संचालन गर्ने अवस्था सृजना गर्ने ।
(ख) हाल भीमसेन उच्च माबिमा सिभिल ईन्जिनियरिङ बिषयमा ११ र १२ सम्मको पठन पाठन हुँदै आईरहेको सन्दर्भमा काठेखोला गाउँपालिकामा नै ईन्जिनियरिङि क्षेत्रको उच्च शिक्षा (हालको लागि बिईसम्मको अध्ययन) अगाडि बढाउने गरी कदम चाल्ने र दीर्घकालीन रुपमा काठेखोला गाउँपालिकालाई ईन्जिनियरिङ एवं प्राविधिक क्षेत्रको अध्ययन अध्यापनको केन्द्रको रुपमा विकास गर्ने ।
(ग) गाउँपालिका हरेक विद्यालयहरुमा अप्टिकल फाईबरको माध्यमबाट उच्च गतिको निशुल्क ईन्टरनेटको पहुँच पुर्याई विद्यार्थीहरुलाई उच्च प्रविधिको सहज पहुँचमा पुर्याउन कार्यक्रम अगाडि बढाउने ।
(घ) गाउँपालिकाका हरेक विद्यालयहरुको बेभसाईट निर्माण गर्ने एवं हाल अध्यापन गराईरहनुभएका शिक्षकहरुको प्रविधिको क्षेत्रमा क्षमता अभिबृद्धि गराउने खालका कार्यक्रम बजेटमा समावेश गर्ने ।
(ङ) शिक्षण पद्धतिलाई प्रविधिसँग जोड्न तालिम सञ्चालन लगायतका कार्यक्रमहरुको लागि बजेट बिनियोजन गर्ने ।
(च) गाउँपालिका विद्यालय, उच्च मावि र क्याम्पसमा हुने पठनपाठनहरुमा स्थानीय क्षेत्रको बिकासमा दुरगामी रुपमा भूमिका खेल्ने गरी स्थानीय क्षेत्रका संभावना र दीगो बिकाससँग सम्बन्धित पाठ्यक्रम तयार गरी पठन पाठन गराउने व्यवस्था मिलाउने ।

कला संस्कृति तथा पर्यटन क्षेत्र
(क) काठेखोलाको शिरको रुपमा रहेका शिवधुरी, झुलेनी र थाप्लेको धुरी जस्ता पूर्वाधारहरुको बिकासमा पछाडि परेका गन्तव्यहरुलाई गाउँपालिकाको पर्यटन गौरबको योजनाको रुपमा अगाडि सारेर प्रभावकारी पर्यटन पूर्वाधारहरुको निर्माण गर्ने ।
(ख) (१) भीमापोखरा दरबार, थाप्लेको धुरी र बेलढुंगा क्षेत्र, (२) रामकोट मन्दिर, शिवधुरी, झुलेनी धम्जा देउराली क्षेत्र, (३) रेश, गाजाको धुरी, हलहले, थामनेटा क्षेत्र एव. (४) काठेखोला, सुल्डाँडा, राम मन्दिर एवं बिहुँका कोट गरी चारवटा प्रमुख ब्लकहरुको रुपमा अगाडि सारी हाल भएका ऐतिहासिक एवं धार्मिक सम्पदा, पदमार्ग एवं पूर्वाधारहरुको संरक्षण गर्दै पदमार्ग, पार्क एवं पर्यटन पूर्वाधारहरुको निर्माणलाई अगाडि बढाउने ।
(ग) गाउँपालिका क्षेत्रमा स्थापित भएका सामुदायिक होमस्टेहरुमा निरन्तर पर्यटन पूर्वाधारहरुको बिकास गर्ने ।
(घ) भीमापोखरा, थाप्लेको धुरी, बेलढुंगा, झुलेनी, शिवधुरी, घोडाबाँधे, थामनेटा, गाजादह, रेशलाई जोड्ने गरी पर्यटन पदमार्गको बिकास गर्ने ।
(ङ) बागलुङ बजार गल्कोट बुर्तिबाङ पैदल मार्ग अन्र्तगत काठेखोला गाउँपालिकामा रहेको काठेखोला सुल्डाँडा, ईनारपानी, हटिया, दहपानी, घोडाबाँधै पैदलमार्गलाई काठेखोला गाउँपालिकाको गौरवको पदमार्गको रुपमा बिकास गर्ने ।
(च) काठेखोला गाउँपालिकाका महत्वपूर्ण नाकाहरु जस्तै अक्षेते, थामनेटा, धम्जा देउराली, बेलढुंगा, लटेखोरिया, गाजको धुरी जस्ता नाकाहरुमा प्रवेशद्धार बनाउन पहलकदमी लिने ।
(छ) मध्यपहाडी लोकमार्गको दायाँ र बायाँ ब्यापक रुपमा फलफूल एवं अन्य विरुवाहरुको बृक्षारोपण गरी काठेखोला गाउँपालिकालाई अलग खालको राष्ट्रिय पहिचान दिन सक्ने कार्यक्रम अगाडि बढाउने ।
(ज) देश तथा विदेशमा रहेका कला र संस्कृति प्रवद्र्धनको क्षेत्रमा लागेका व्यक्तित्वहरुलाई जोडेर कला र संस्कृतिको क्षेत्रको निरन्तर प्रवद्र्धन गर्ने ।
सहकारी तथा कृषि क्षेत्र
(क) कृषि क्षेत्रमा विगतमा वितरण गरिएको अनुदान प्रभावकारी नदेखिएको अवस्थालाई मध्य नजर गर्दै उत्पादनमा आधारित कृषि अनुदान वितरण गर्ने गरी बजेटको बिनियोजन गर्ने ।
(ख) काठेखोला गाउँपालिकामा सुन्तला खेती, किवी खेती, अंगुर खेती, कफी खेती, पशुपालन लगायतका प्रवद्र्धनको समेत व्यापक संभावना रहेकोले यस्तो खेतीलाई प्रवद्र्धन एवं प्रोत्साहन गर्ने गरी उपकरण वा कृषि पूर्वाधार बिकासमा न्यूनतम अनुदान दिने व्यवस्था मिलाउने ।
(ग) गाउँपालिका क्षेत्रमा रहेका बाँझा जमिनहरुको उपयोग गर्ने प्रष्ट योजना अगाडि सार्ने ।
(घ) सस्तो ब्याजदर (४, ५ प्रतिशतसम्म) मा बेरोजगारी यूवाहरुलाई बंैक वा सहकारीबाट क्रृण उपलब्ध गराउन गाउँपालिकाले बेरोजगारी यूवाहरुलाई ब्याजमा अनुदान दिने व्यवस्था मिलाउने ।
(ङ) गाउँपालिकामा उत्पादित कृषि उपज एंवं अन्य उत्पादनहरुको सहजीकरणको लागि बिशेष कार्यक्रम अगाडि सार्ने ।

न्याय तथा सुशासन क्षेत्र
(क) गाउँपालिकाका विभिन्न क्षेत्रमा रहेका सामन्तबाची शोच र चिन्तनका अबशेषहरुलाई समाप्त पार्न बिशेष सचेतनामूलक कार्यक्रम अगाडि सार्ने ।
(ख) वडा तथा गाउँपालिकाको नीति तथा कार्यक्रम एवं बजेट निर्माण गर्दा ब्यापक रुपमा वडाको हकमा टोल टोलमा गाउँपालिकाको नेतृत्वमा नै ब्यापक छलफल चलाउने र गाउँपालिकाको हकमा पनि ब्यापक छलफल गरेर आएका नीतिगत बुँदाहरु एवं कार्यक्रमलाई बजेटमा समावेश गर्ने कानूनी ब्यवस्था मिलाउने ।
(ग) समाजमा रहेका जातीय छुवाछुत एवं विभिन्न खालका विभेदहरुलाई अन्त गर्न निरन्तर सचेतनामूलक कार्यक्रमहरु अगाडि बढाउने ।

अन्य बिषयहरु
(क) गाउँपालिका क्षेत्रमा रहेको बनजंगललाई स्थानीय जनताहरुले अधिकतम रुपमा उपयोग गर्न पाउने नीति अबलम्बन गर्ने ।
(ख) गाउँपालिका क्षेत्र भित्र फलाम तथा तामा खानीको संभावना रहेकोले यस्ता खानीहरुको बारेमा बिस्तृत संभाव्यता अध्ययन गर्ने ।
(ग) गाउँपालिकाको बिकासको लागि एकीकृत बिकासको गुरुयोजनाको निर्मााण गर्ने ।
(घ) शिक्षा, स्वास्थ्य, कृषि एवं पर्यटन क्षेत्रको अलग अलग बिस्तृत गुरुयोजनाको निर्माण गर्ने ।
(ङ) वडागत तहसम्म पनि विभिन्न क्षेत्रका बिकासमा संभावित कार्यक्रमहरुलाई समावेश गरी गाउँपालिका र वडागत गुरुयोजना तयार गरी गुरुयोजनाले निर्धारण गरेका प्राथमिकताको आधारमा रही वडा र गाउँपालिकाको बजेट बिनियोजन गर्ने बैज्ञानिक पद्धतिको अबलम्बन गर्ने ।
(च) बजेट बिनियोजन गर्दा लंैगिक समानता र सामाजिक समावेशिताको मान्यतालाई आत्मसात गरी बजेटको बिनियोजन गर्ने ।
(छ) गाउँपालिकाका विशेष संभावनाका क्षेत्रहरुको पहिचान गरी संभावना भएका क्षेत्रहरुको बिकासको लागि योजनावद्ध रुपमा कार्यक्रमहरु संचालन गर्ने ।
(ज) देश तथा विदेशमा रहेका वौद्धिक समुदायहरुसँग निरन्तर छलफल र संवाद संचालन गर्ने ।
(झ) कोरोना महामारीबाट ठूलो आर्थिक समस्यामा पर्न सक्ने यूवाहरुलाई अस्थायी रुपमा नै भए पनि रोजगारी सृजना हुने गरी श्रममा आधारित हुने खालका कार्यक्रमहरु बजेटमा समावेश गर्ने ।
(ञ) जनताको आय आर्जन प्रवद्र्धन गर्ने खालका कार्यक्रमहरु बजेटमा समावेश गर्ने ।
(ट) महिलाहरुको सबलीकरणको लागि बिशेष कार्यक्रम संचालन गर्ने ।
(ठ) स्वर्गीय गोविन्द अधिकारीको सम्मान गर्दै गोविन्द अधिकारी मेमोरियल फाउण्डेसन मार्फत सामाजिक सेवाका क्षेत्रहरुमा कार्यक्रम संचालन गर्ने ।

यस कार्यक्रममा उठेका सबालहरुलाई गाउँपालिका नेतृत्व पंक्तिले आगामी आर्थिक बर्ष २०७७/७८ को बार्षिक नीति तथा कार्यक्रम एवं बजेटमा समावेश गरी गाउँपालिकाको दीगो बिकासमा उपयोग गर्नेछ भन्ने विश्वास लिएको छ । बिशेष गरी बागलुङ जिल्लाको दीगो बिकास र समृद्ध बागलुङ निर्माणको लागि विभिन्न कोणबाट भर्चुअल संवादको शुरुवात गरिएको आयोजक संस्थाहरु नेपाल पत्रकार महासंघ बागलुङ र धौलागिरी पर्यटन प्रवद्र्धन समितिको भनाई रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *