धौलागिरीमै कोरोना परीक्षणको अवसर, तयारी र चुनौती

सम्पादकीय
पछिल्लो समय कोरोना संक्रमणको हिसावले गण्डकी प्रदेश र त्यसको ‘इपिसेन्टर’को रुपमा शुरुवातमा बागलुङ र पछिल्लो समय पर्वत जिल्ला देखिएको छ । प्रदेशभरमा संक्रमण दर पनि बढ्दो छ भने पर्वत जिल्लामा त समुदाय स्तरमै कोरोना संक्रमण फैलिएन मात्रै दुई चिकित्सक सहित अन्य स्वास्थ्यकर्मी समेत कोरोना संक्रमणको शिकार बने । तर, संक्रमण कसरी स¥यो या फैलियो भन्ने अझै खुल्न सकेको छैन । यसले समुदाय स्तरमा कोरोना दैनिक फैलिने जोखिम बिद्यमान छ भने क्वारेन्टिन, आइसोलेसन बस्नेहरु समेत थप जोखिममा रहेको बिषय थप उजागर भएको छ । अर्को तर्फ क्वारेन्टिन बसेकाहरुको कोरोना परीक्षण पीसीआर गर्नका लागि संकलित नमुना स्वाबको लामो समय सम्म पनि परीक्षण नहुने अवस्था बिद्यमान छ । यसले संक्रमण भयावहको व्यापकतालाई पर्खिरहेको या निम्तो त गरिरहेको छैन ? भन्ने गम्भीर प्रश्न खडा गरेको छ ।

कोरोना संक्रमण र भयावहको यही प्रश्न र संशयका बीच नेपाल सरकारले धौलागिरी अस्पतालमा कोरोना परीक्षणका लागि पीसीआर ल्याब स्थापना गर्ने निर्णय गरेको छ । यो धौलागिरीबासीको बिशेष माग थियो । यस क्षेत्रका सांसद, सरोकारवाला र सर्वसाधारणको माग र आवश्यकता बिशेष पहलकदमीका बीच सम्बोधन भएको छ । यो दुरगामी हिसावले उपलब्धि र अर्थपूर्ण छ । केन्द्र सरकार र प्रदेश सरकारबीचको समन्वयबाट अब धौलागिरीमै पीसीआर गर्ने अवसर सिर्जना हुनु साविक धौलागिरी अञ्चलवासीकै लागि सुखद परिघटना हो । गण्डकी प्रदेशको पोखरामा मात्र कोरोना परिक्षण हुदै आएको र संकलित स्वाबको लामोे समय सम्म पनि रिपोर्ट नआउने बिवशतामा यो कदम अपरिहार्य थियो नै । यो कदम सरकारले चालेको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धौलागिरी अस्पताल सहित थप १० अस्पताललाई कोरोना भाइरस (कोभिड–१९)को पीसीआर नमूना परीक्षणको अनुमति दिएको छ । पीसीआर परिक्षण प्रयोगशाला स्थापना गर्नका लागि कम्तिमा तीन वटा सुविधा सम्पन्न कक्ष र ६ जना ल्याव टेक्निसियन आवश्यक पर्ने अस्पतालले जनाएको छ ।

अहिलेको सन्दर्भमा पीसीआर मेसिन खरिद प्रक्रिया फास्ट ट्रयाकबाट अघि बढाउनु पर्छ । यो सँगै धौलागिरी अस्पतालमा तत्काल दक्ष जनशक्ति व्यवस्थापन गर्नुपर्ने चुनौति पनि छ । अहिले भइरहेका दक्ष अनुभवी ल्याबकर्मीका साथमा यदी करारमा राख्नुपर्ने अवस्था भए त्यसलाई पनि तत्काल व्यवस्था मिलाउन जरुरी छ । यसका लागि बागलुङ नगरपालिकाले बिनियोजन गरेको २५ लाख र अरु ९ स्थानीय तहले कबुल गरेको रकम यो सञ्चालनका लागि यथोचित तवरले उपयोग र ल्याब सञ्चालनको निरन्तरतामा समस्या नहुने गरी हुनुपर्छ । यसो हुन सकेको अवस्थामा अहिले क्वारेन्टिनमा रहेकाहरुको स्वाब परीक्षण गर्न सम्भव नभए पनि त्यस इतरको समयमा विदेशबाट आउनेदेखि समुदाय स्तरमा कोरोना संक्रमणको जोखिम फैलिने बिन्दुमा तत्काल परीक्षण गरेर समाजलाई सुरक्षित बनाउने सहज अवसर प्राप्त भएको छ । अब यसको प्रभावकारी प्रयोग हुने बातावरण तयार गर्नमा सबैको हातेमालो जरुरी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *