फेरि गाउनु पर्ने हो ? बागलुङको बजार,पधेर्नीको दुःख हजार

सम्पादकीय
बागलुङ बजारमा एकसातादेखि खानेपानी अवरुद्ध छ । लामो समयदेखी पानीको नियमित आपुर्ति नहुँदा बजारमा हाहाकारको अवस्था सिर्जना भएको छ । कोरोना संकटकै बीच खानेपानीको समस्याले बजारबासी आजित छन् । पिउने पानीका लागि पैसै तिरेर खानेपानी ढुवानी मार्फत प्रयोग गर्न बाध्य बनेका छन् । कतिपय बजार आसपासका मुहानको खोजी गर्दै भौतारिन थालेका छन् । अधिकाशं नागरिक आकाशे बर्षाको पर्खाइमा समेत रहन थालेका छन् । समस्या यति सम्म बढ्दो छ कि बजारका अधिक घरमा अहिले शौच जाने पानी सम्म नहुने परिस्थिति छ । बागलुङ बजारमा खानेपानी पिलाउने जिम्मा नगर खानेपानी उपभोक्ता संस्थालाई दिइएको छ । संस्थाले खानेपानी सूचारु गर्नका लागि अथक प्रयास भइरहेको जनाउदै आएको छ । तर, दैनिक अत्यावश्यक पानीका लागि उपभोक्ताले कहिले सम्म पर्खिने ? सामाजिक सञ्जाल, चोक, चिया पसल र चौतारीहरुमा नगर खानेपानी उपभोक्ता संस्था प्रति आक्रोश व्यक्त हुन थालेको छ ।

खानेपानी अवरुद्ध हुनुको कारण बर्षा र पहिरो भएको त सबैसामु छर्लङ्ग छ । र यो पनि प्रष्ट छ कि खानेपानी संस्थाले पहिरोले पाइप बगाए पछि अवरुद्ध भएको खानेपानी सेवा सुचारुका लागि प्रयास जारी राखेको छ । फेरी प्राकृतिक विपत्ति बाढि, पहिरो कहाँ कहाँ र कहिले कहिले आउँछ ? त्यो थाहा हुने कुरा भएन । तर, यसमा सवाल यो छ कि हरेक वर्ष खानेपानीमा बजारवासीले यस्तो नियति झेलिरहेको वर्षौ भयो । किन दीर्घकालिन हिसावले समाधान भएन ? या खोजिएन ? या अब पनि तत्काल अस्थायी समाधान र व्यवस्थापन गरेर खानेपानी सुचारु गर्ने । त्यसपछि सम्भावित बाढि, पहिरो र त्यसले बजारवासीको अत्यावश्यक खानेपानीको अधिकार सुनिश्चित गर्न र अहिलेको समस्या र नियति दोहोरिन नदिन कुनै पहल, चासो र चिन्तन देखिन्छ कि देखिन्न ? यो पाटो सोचनीय छ ।

नगर या बजार क्षेत्रमा खानेपानीको अहिले जे समस्या देखिएको छ । यो पटक पटक देखिएको समस्या हो । अहिले खानेपानी अवरुद्ध भएको एक साता पुरा भइसक्यो । यसमा स्थानीय सरकारको रुपमा रहेको बागलुङ नगरपालिका कुनै संस्थालाई जिम्मा लाएको भर र जवाफमा मौन बस्न मिल्दैन । विपत्तिका कारण सिर्जित समस्या र चुनौति भन्न त सकिएला । तर, यही समस्या लम्बिदै गए त्यसले हाहाकारको अवस्था र अरु रोगव्याधी र संकट निम्ताउने निश्चित छ । अर्को तर्फ अहिले जिल्ला सदरमुकाममा रिठेखोलाबाट प्रतिसेकेण्ड ३ दशमलव ५, रेशखोलाबाट १७ र भुदीखोलाबाट २० लिटर पानी दैनिक आउने गर्छ । यो खानेपानी स्वच्छ र वितरण पनि प्रयाप्त छैन । वर्षा हुना साथ धारामा धमिलो पानी आउँछ । संस्थाले यसलाई स्वच्छ बनाउने प्रयास गरे पनि त्यो बिफल देखिएको छ । बर्षा र विपत्ति रोक्न सकिदैन । तर, नगर खानेपानी संस्था र स्थानीय सरकार साता दिनदेखी पानी नआउने, आए पनि धमिलो आउने सवालमा अझ बढि जिम्मेवारी बन्नुपर्छ । आखिर बजारबासीले आखिर कहिले सम्म गाइरहने उही पुरानो गीत बागलुङको बजार, पधेर्नीको दुःख हजार ?

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *