खानेपानी होइन,पिउने पानी देउ

सम्पादकीय
अहिले बागलुङ बजारमा खानेपानी र यसको जिम्मेवारी लिएको बागलुङ नगर खानेपानी संस्था भित्रको विवादले तिव्र चर्चा पाएको छ । गत असार ६ गते भुदिखोला मुहान र त्यस आसपासको पाइप बर्षासँगैको पहिरोले बगाए पछि करिब दुई साता खानेपानी अवरुद्ध भयो । यस अवधिमा उपभोक्ताले खानेपानीको आपुर्ति र यसको नियमितताको त माग गरे नै । खानेपानी र संस्था भित्रको अनियमितता, अपारदर्शिता, अशुद्धता र अदुरदर्शिताका बारेमा पनि तिव्र आवाज उठाए । जसले संस्था र सरोकारवाला निकायलाई पनि थप जवाफदेशि र पारदर्शि बन्नुपर्ने बिन्दुमा जर्बजस्त उभ्याएको छ ।

बजार र नगरमा खानेपानीको बिषयमा तिव्र विवाद र चर्चा भए पछि स्थानीय सरकारको रुपमा रहेको बागलुङ नगरपालिकाको सातौ नगर सभामा पनि यो सवालले प्रवेश पायो । नगर सभामा पहिलो पटक सार्वजनिक महत्वको प्रस्ताव दर्ता भयो र कार्यपालिका सदस्यबीच बिद्यमान समस्या र समाधानका विकल्पका बारेमा छलफल समेत भयो । र नगरपालिकाले यसकै अंगको रुपमा नगरसभा सँगै खानेपानीको जिम्मा दिएको बागलुङ नगर खानेपानी संस्थालाई समेत राखेर सरोकारवालाका बीच अन्तर संवाद गरायो । जहाँ खानेपानीको अशुद्धता र अनियमितताको बिषय मात्रै उठेन । संस्था भित्रका पात्र र प्रवृत्तिजन्य अनेक कमिकमजोरीको बारेमा पनि अनगिन्ती प्रश्न उठेका छन् । यद्यपी यस्ता प्रश्न, गुनासाहरुमा कैयन कुण्ठा, पूर्वाग्रहहरु पनि मिश्रित भएका होलान् । तर, तथ्य र सत्य कुरा यो पनि हो कि नागरिकको मौलिक अधिकारको रुपमा रहेको खानेपानी र यसको मुख्य अड्डा भित्र अवश्य समस्या छन् । जसको सुधार र समाधान जरुर खोज्नुपर्नेछ ।

बजारको अहिलेको खानेपानी अवरुद्ध हुने समस्या नयाँ कदापी होइन । यस्तो समस्या र अप्ठ्यारा पटक–पटक दोहोरिने गरेका छन् । चाहे हिउँद याम होस् बर्खा । वर्षा र विपत्तिका अघि निरिह हुनुपर्ने बिवशता स्वभाविक छ । तर, यसको सम्भावित जोखिम, समस्याका बारेमा संस्थाको पूर्ववत सजगता, तयारी, तत्कालिन र दिर्घकालिन योजना अपरिहार्य हुन्छ । यसको संस्थामा कतै न कतै अभाव र अप्रयाप्तता देखिन्छ । अहिले यो बिषय र बहस उत्कर्षमा पुग्ने थाले सँगै बागलुङ नगरपालिकाले ७ बुँदे निर्देशन दिएको छ । खानेपानी र संस्था भित्र शुद्धिकरण अर्थात विधान सम्मत संस्था सञ्चालन, त्यस भित्र जवाफदेही र पारदर्शिताको खोजी गर्न भनेको छ । र यही क्रममा बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले पहिले खानेपानी कार्यालयमा डेलिगेशन जाँदाको पुरानो किस्सा सुनाउदै भने–पानी लेदो सहित आयो, किन यस्तो भयो ? शुद्ध पानी खुवाउनु प¥यो । तत्कालिन कार्यालय प्रमुख भरत पौडेलले जवाफमा भनेका रहेछन्–‘यो खानेपानी कार्यालय हो, पिउने पानी कार्यालय होइन । हाम्रो काम खानेपानी दिने हो, पिउने पानी होइन ।’ अहिले पनि यस्तै जवाफ दिएर नगर खानेपानी संस्था उम्कन मिल्दैन । संस्थाले खानेपानी होइन, स्वच्छ पिउने पानी दिने कुरा सुनिश्चित गर्न योजनावद्ध र उत्तरदायी हिसावले लाग्नुपर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *