कोरोना संकटले चौतर्फी असर छ । विश्व अर्थतन्त्र ठप्प प्रायः छ । नेपालमा पनि १ सय दिन भन्दा अघिदेखि जारी लकडाउन अझै सम्म कायम छ । बजार अरु क्षेत्र विस्तारै सामान्य खुकुलो बनाउन थालिए पनि सार्वजनिक सवारी अझै कहिले खुलाउने अनिश्चित छ । यातायात व्यवसायीको आम्दानी ठप्प छ । तर, अहिले आर्थिक बर्षको अन्त्य तर्फ आउँदा बैकं वित्तिय संस्थाहरुले भने यातायात व्यवसायीलाई किस्ता र व्याज मागेर हैरानी बनाउन थालेका छन् । उनीहरुले केहि समय किस्ता ब्याज स्थगन गरेर लकडाउन खुल्ने बेला सम्म सहज बनाइ दिनुपर्ने माग समेत गरेका छन् । जागरणकर्मी साधना पन्तले तीनै यातायात व्यवसायी मध्येका केहिलाई भेटेर कोरोना संकटका कारण भोग्नुपरेको समस्या, गुनासो र अपेक्षालाई समेट्न प्रयास गर्नुभएको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंशः
कुमारबम मल्ल
बस व्यवसायी,बागलुङ
विगत २७ वर्षदेखि बस व्यवसायमा लागेको म अहिले आएर अन्यौलमा परेको छु । कोरोना महामारीका कारण सरकारले चैत ११ गतेदेखि लकडाउन घोषणा गरे पछि बस व्यवसायीहरु बेरोजगार भएका छौ । यस्तो अवस्था आउँछ भन्ने कुनै पनि व्यवसायीले कल्पना पनि गरेका थिएनन् । लकडाउनले गर्दा सेवा दिन सकिएको छैन । त्यसकारण अहिले आर्थिक समस्या बढेको छ । हामी व्यवसायी गर्ने मानिसहरुले बैंकबाट ऋण लिएर व्यवसाय गरिएको हुन्छ । मैले ७० प्रतिशत त ऋणमा लगानी गरेको छु । अब त दिन रात बैंकबाट फोन आउन थालेको छ । फोनमा घण्टी बज्न साथ अव पैसा माग्न फोन आयो भनेर बाहना खोज्न लागेको छु । असार मसान्त लाग्यो, हामीले ऋणको किस्ताको त कुरै छोडुम् व्याज तिर्ने पनि वातवरण छैन ।
अब त हामीलाई बिहान बेलुका कसरी छाक टार्ने भन्ने पनि समया आइसकेको छ । म एक जना भए त केही हुने थिएन, मेरै आशमा पुरै परिवार भर परेको हुन्छ । अब हाम्रा समस्या कसले बुझदिने ? अब हाम्रो समस्या थोरै भए पनि बुझि दिन भनेको हामीलाई जसले ऋण दिन्छन् उनीहरुले हो । तर,अहिले उहाँहरु पनि समस्यामा हुनुहुन्छ होला । असार मसान्त लागेको छ किस्ता नतिरे पनि व्याज त तिरिदिनुस् न भन्नु हुन्छ । हाम्रो भनाई के छ भने यति धेरै वर्ष हामीले बैंकमा कारोबार गरेका छौ । हामीले दुःख गरेर कमाएर तिरेका थियौ र तिर्नु पनि पर्दछ । त्यहीबाट मुनाफा खानु भएको थियो उहाँहरुले । तर, आज हामीहरु समस्यामा छौ । यो अवस्थामा उहाँहरुले हामीलाई अडाउनु पर्दछ भन्ने मेरो र समग्र बस व्यवसायीको माग हो । हामीले ऋण लिए पछि तिर्नु पर्दछ । हामीलाई कमाएर तिर्ने बातावरण नमिले सम्म समय अवधि बढाई दिए पुग्छ भन्नेको मात्र हो हामीले ।
मैले बागलुङ–काठमाण्डौ, बुटवल–बागलुङ र माइक्रो बागलुङ–काठमाण्डौ सेवा दिनका लागि ५ वटा बस मेरो आफ्नै छन् । लकडाउन भन्दा पहिले महिनाको ८ लाख ९५ हजार आम्दानी हुने गर्दथ्यो । सवै खर्च कटाउदा मैले ६ लाख बचाउने गर्दथे । मेरोमा काम गर्ने १० जना अहिले बेरोजगार भएका छन् । काम छैन,काम नभए पछि तलब दिने अवस्था नै भएन । उनीहरुमा पनि समस्या बढेको छ । मेरा कर्मचारीले दुःख पाए । खानै पाइन भनेर फोन आएपछि थोरै धेरै पठाएको छु । तर अब मेरो अवस्था उनीहरुलाई सहयोग गर्ने जस्तो छैन । लामो समय भयो लकडाउन भएको हुनाले म संग भए पो उनीहरुलाई दिने हो । म सँगनै छैन, मैले कहाँबाट उनीहरुलाई दिऊ ?
बस व्यवसायीलाई सरकारले अन्य मुलुकबाट आएका मानिसहरुलाई जस्तै सौतेनी व्यवहार गरेको छ । आज सम्म यातायात व्यवसायीले के गरेर खाएका छन् भनेर सोधनी पुछनी सरकारले गरेका छैन । हामीले कस्तो पेसा गरिएको रहेछ भन्ने लाग्दछ । अव कुनै अर्को पेशा गर्ने भनम् भने पनि के गर्ने त भन्ने हुन्छ । यो व्यवसाय गरेर यहाँ सम्म आइसकियो, अब ठिकै छ जुन आगोले पोल्छ, त्यही आगोले सेक्छ भनेर बसेका छौ ।
म धौलागिरी यातायात व्यवसायीको सदस्य पनि हो । हामीहरु निरन्तर छलफलमा छौ । हामीहरुले यातायात व्यवसायीको समस्याको विकल्प के छ भनेर खोजी राखेका छौ । हामीहरुले बैंकसँग के भन्न चाहन्छौ भने हिजो लकडाउन अवधि भन्दा पहिले बैंकमा निरन्तर व्याज, किस्ता तिरेका यातायात व्यवसायीलाई यो अवस्थामा मानसिक यातना नदियोस् भन्ने मात्र हो । यो लकडाउनले मानिसहरु त्यसै चिन्तित छन् । झन् मानसिक यातना दिदाँ उनीहरुले अर्को बाटो अपनाउला, भोली बिहान केही नराम्रो आइ पर्न सक्दछ भनेर अब बैंकले हामी यातायात व्यवसायीलाई भोली हामीले कमाएर तिर्ने समय सम्म वातावरण मिलाई दिए हुन्छ । भोली लकडाउन पूर्ण रुपमा खोलियो र बस चल्न सुरु गरेको समयमा हामीले व्याज तिर्न वातवरण मिल्दछ ६ महिना सम्म । त्यस पछि हामीले किस्ता व्याज सवै तिर्ने बातावरण बन्नेछ । अब हामीलाई बंैकले तनाव दिने हो भने हामीले बस र त्यसको चाबी बुझाउन तयार छौ ।
तुलक अधिकारी
बस व्यवसायी, पर्वत
मसँग ५ वटा बस र एक माइक्रो छ । बागलुङ–काठमाण्डौ, जोमसोम–काठमाण्डौ, बेनी–काठमाण्डौका लागि सेवा दिदै आएको छु । मैले यो व्यवसायी गरेर १४ जनालाई रोजगार दिएको छु । तर, यो अवस्थामा उनीहरु बेरोजगार जस्तै भएका छन् । काम छैन, काम नभए पछि तलब पनि आउने कुरा भएन । त्यस कारण बस व्यवसायी र बस चालकको अवस्था अहिले दयनिय छ ।
धौलागिरीको सबै भन्दा धेरै लगानी यातायात व्यवसायमा गरेको म हुँ । मैले लगभग साढे ४ करोडको लगानीमा यो व्यवसाय गरेको छु । बैंकको ५० प्रतिशत ऋण र ५० प्रतिशत आफ्नो लगानीमा व्यवसाय गरेको हुँ । तर, अहिले व्यवसाय डुब्न थालेको छ । यो लकडाउनको अवधिमा घरमा बसेर मुखमा माक्स लगाउने काम बाहेक केहि भएको छैन । असार मसान्त शुरु भयो ।
बैंकबाट पटक–पटक फोन आएर मन आत्तिएको छ । अब विकल्प भनेको घर बेचेर किस्ता तिर्ने होला भनेर सोचेर बसेको छु । व्यवसाय गर्न लागेको समय धेरै भयो । तर, यस्तो अवस्था आउला भनेर सपनामा पनि सोचिएको थिएन । लकडाउनले गर्दा आर्थिक तनाब त छदैछ, मानसिक तनाब पनि धेरै बढेको छ । म मात्रको यो अवस्था होइन, हाम्रो यातायात व्यवसायीमा लाग्नु भएको धेरैजसो साथीहरुको अवस्था यस्तै छ । त्यस कारणले यातायात व्यवसायीको समस्याको बारेमा कसैले सोचेको पाइएको छैन । नेपाल सरकारको यस विषयमा ध्यान जान जरुरी छ ।
यो अवस्था एकदम कठिन छ । परिवारका सदस्यहरु पनि हामीलाई सम्झाउनु हुन्छ । तर, मानसिक तनावले गर्दा मानिसले कतै केही नराम्रो कदम त उठाउने हो की भन्ने उनीहरुमा पनि यस्ता खालका सोचाइ आउँदो रहेछ । यो समयमा आर्थिकले भन्दा पनि धेरै सोचेर मानिसको स्वास्थ्यमा समस्या आउँला जस्ता लागेको छ मलाई । भोली कोरोनाले भन्दा डिप्रेसनको शिकारले मानिसहरु धेरै मर्ने अवस्था नआउला भन्न सकिदैन अझै यही अवस्था हुने हो भने ।
अबको विकल्प भनेको यातायात व्यवसायीको विषयमा गम्भीर ध्यान जान जरुरी छ । यातायात व्यवसायीले आँफुले आफ्नो घर, जग्गा, सुन राखेर, बैंकबाट ऋण लिएर केही आम्दानी गर्ने आफ्नो बाल बच्चा पाल्ने भनेर गरेका हुन्छन् । त्यसकारण सबैको विषयमा सरकारको ध्यान जान जरुरी छ । अब यातायात व्यवसायीलाई कसरी बचाउने भन्ने कुरामा सरकारको चासो हुनु पर्दछ भन्ने मेरो भनाई हो । तपाईहरुले यो मेरो आवाजलाई सरकार सम्म पु¥याइ दिनुहुन्छ भन्ने आशा गरेको छु ।
नारायण खड्का
बस व्यवसायी, बागलुङ
म एक यातायात व्यवसायी हो । मैले मेरो व्यवसायमा ४ जनालाई रोजगार दिएको छु । २ वटा वस छन् । काठमाण्डौ–बागलुङ यात्रु लैजाने ल्याउने काम गर्दछन् । तर, अहिले लकडाउनका कारण गाडीहरु ग्यारेजमा थन्किएका छन् । कर्मचारीहरु आफ्नो घरमा जानु भएको छ । काम छैन, अनि काम नभए पछि तलब कमाई पनि छैन । अब असार मसान्त आएको छ । किस्ता तिर्नु पर्ने होला, व्याज दिनु पर्ने होला । किस्ता खप्टिएको खप्टिएकै छ । बैंकबाट फोन आउँछ, व्याज भए पनि तिर्नुहोस् न भनेर । तर कमाउने भाडा नै ग्यारेजमा थन्किएर बसेको छ । कसरी तिर्ने सोचाइमा परेको छु । अब कसरी समस्याको समाधान गर्ने भनेर अन्यौलमा छौ । यस विषयमा सरकारको तर्फबाट केही कदम चालेको छैन । सरकारको विशेष ध्यान जान आवश्यक छ । अव हामीहरुले गाडी, गाडीको चाबी बैंकलाई बुझाउने भनिएको छ ।
यो समयमा हामी पो मारमा परेका छौ । रातो पिलेट वाला सवारीले सवै मानिसहरु ओसार पोसार गरिरहनु भएको छ । हामीले गर्ने काम जम्मै रातो पिलेट वाला गाडीले गरेका छन् । उनीहरुलाई कोरोना नलाग्ने रहेछ । अनि कालो पिलेटवालाई कोरोना लाग्ने रहेछ ? त्यही भएर तनाब भएको छ हामीलाई । आज हामीहरुले काम नगरी बसेको १ सय ७ दिन भयो । हाम्रो सवै भन्दा ठुलो समस्या भनेको अबको किस्ता कसरी तिर्ने भन्ने हो ।
अब सरकारले लकडाउन अवधिभर हामीले काम गर्न सकेका छैनौ भनेर केहि महिनाको लागि बैंकलाई किस्ता, व्याज रोक्न लगाएमा हामीलाई राहत महुशुस हुने थियो । हामीले ऋण लिए पछि व्याज किस्ता तिर्नु पर्दछ । तर, अहिले हामीले तिर्ने अवस्था छैन । हामीले काम सुरु गरेपछी व्याज तिर्ने वातावरण मिलाई दिए पनि हुन्छ भन्ने हो । हाम्रो समस्यामा आवाज उठाउने र साथ दिने कोही पनि पाएका छैनौ । अहिले यातायात व्यवसायी मानसिक तनावमा छौ । के गर्ने, कसरी तिर्ने किस्ता,व्याज भन्ने मात्र चिन्तामा छौ । हामीहरु त्यसकारणले बैंकले पनि हाम्रो विषयमा केही सोची दिए राहत महुशुस हुने थियो की ?