स्थलगत रिपोर्ट – ‘खानेपानी आपूर्ति असहज तर सम्भव’

आदर्श अनलाइन, बागलुङ
बागलुङ बजारमा खानेपानी पटक–पटक अवरुद्ध हुन थालेको छ । बर्खायामको शुरुवातसँगै पटक पटक खानेपानी अवरुद्ध हुन थालेपछि खानेपानीको आपूर्तिको जिम्मा पाएको बागलुङ नगर खानेपानी उपभोक्ता संस्थाका बारेमा तिव्र गुनासो र आक्रोश व्यक्त भइरहेको छ ।

गत असार ६ गते परेको वर्षाका कारण पहिरोले ठाउँ ठाउँमा पाइप बगाउदा दुइ साता सम्म बागलुङ बजारमा खानेपानीको हाहाकार भएको थियो । अवरुद्ध खानेपानी दुई साता पछि शुरु भएको एक साता सेरोफेरोमै आइतवार पुनः खानेपानी अवरुद्ध भएको छ । बागलुङ नगरपालिका वडा नम्बर ३ बोक्से गैरा काठेखोला गाउँपालिकाको वडा नम्बर ६ बिहुँ दोबिल्लामा रेश र भुदी खोला मुहानबाट ल्याइएको पानीको पाइप पहिरोले बगाएपछि खानेपानीको नियमित आपूर्तिमा समस्या भइरहको बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्थाका प्रबन्धक हिमाल शर्माले बताउनुभयो । ‘अहिले दोविल्लामा काम भइरहेको छ, पुनः समस्या नदेखिए भुदीखोला तर्फको पानी नियमित आउनेछ’ प्रवन्धक शर्माले भन्नुभयो ‘बोक्से नजिकैको खेतमा ठूलो पहिरोका कारण पाइप बगाएपछि रेश मुहानको पानीमा भने समस्या आएको छ ।’

भुदीखोलाको खानेपानी संस्थाका प्राविधिक कर्मचारीको टोलीले अप्ठ्यारो पहिरोमा पनि जोखिमका बीच मर्मत गरे पछि सूचारु भएको छ । तर, रेश खोलाको पानी तत्काल सूचारु हुने सम्भावना कम देखिन्छ । उक्त खोलाको पानी ल्याइएको पाइप भएको स्थानमा अहिले पहिरो गएको छ । जहाँ अझै पनि पहिरोको जोखिम उस्तै भएको बानपा ३ बोक्सेका स्थानीय अनिस गौतम बताउनुहुन्छ ।

‘यहाँ त्यसै कमजोर भूभाग थियो, त्यसमा अघिल्लो वर्ष माथिबाट पहिरो पनि आएको थियो’ गौतमले धौलागिरी जागरण दैनिकसँग भन्नुभयो ‘अहिले पहिले राखेको ६ वटा जाली पनि कहाँ पुग्यो देखिन्न, एकातिर आकाशको पानी, अर्को तर खोला जत्रो नगर खानेपानीको पाइप फुटेर जलमग्न हुँदा यहाँ घर खेत सबै जाने अवस्था भएको छ । यहाँ बलियो र बिश्वस्त हुने पहिरो रोकथाम र पाइप लाइनको उपर्युक्त निकास नखोजे सम्म नियमित पानीको आपुर्तिमा समस्या भइरहने देखिएको छ ।’

रेश खोलादेखि पाइप लाइन ल्याइएको भूभाग भौगोलिक हिसावले कमजोरी देखिन्छ । जसका कारण बर्षेनी उपभोक्ता र नगर खानेपानी संस्थाले सास्ती खेप्नुपर्ने बाध्यता छ । यो पुरानो आयोजना अन्र्तगत निर्माण गरिएको हो । भुदीखोलाको पानी मध्यपहाडी लोकमार्ग हुँदै पाइप लाइन राखेर ल्याइएको छ । यो तुलनात्मक रुपमा सहज र सुरक्षित देखिन्छ । यद्यपी, यसमा पनि लोकमार्ग विस्तार र स्तरोन्नतिमा समस्या र अवरोध भइरहेको भन्दै हटाउने र वैकल्पिक उपाय अपनाउन आग्रह गरिदै आइएको छ । तर, अहिले सम्म यसको पनि ठोस निकास निस्केको छैन ।

आयोजना निर्माण गर्दाको डिजाइन कमजोरी र वर्षासँगैको विपत्तिका कारण लामो समय बजारवासीले सास्ती खेप्नु पर्ने अवस्था दोहोरिरहेको बागलुङ नगर खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष हरिप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । ‘हामीले पटक–पटक खानेपानी आयोजनाको गलत डिजाइनका कारण यस्तो समस्या भोग्दै आएका छौं’ श्रेष्ठले भन्नुभयो ‘यो आयोजनामा प्रयोग भएको पाइप र वितरण भएको पाइप लाइन भौगोलिक हिसावमा मिल्दोजुल्दो छैन । यसलाई दीर्घकालिन हिसावले समाधार खोज्नुपर्छ ।’

तर तत्कालको खानेपानी समस्या समाधानका लागि दिन राता कर्मचारी खटाउदा समेत पहिरो जाने र पाइप बगाउन, फुट्ने समस्या हुँदा सहज रुपमा खानेपानी आपुर्ति गर्न सकिरहेका छैनौ, यद्यपी हामी उपभोक्ताको हकहितमा निरन्तर समर्पित र प्रयासरत छौ ।’

बागलुङ बजार क्षेत्र भित्र रिठेखोला मुहान, रेश खोला मुहान र भुदी खोला मुहानबाट पिउनको लागि पानी ल्याइएको छ । अहिले रिठेखोलाबाट ३.५ लिटर प्रति सेकेन्ड, रेशबाट १७ लिटर प्रति सेकेन्ड र भुदीबाट २० लिटर प्रति सेकेन्ड पानी दैनिक आउने गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *